काठमाडौं। नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको रिक्त दुई सदस्यमध्ये एकमा पोखराका व्यवसायीलाई नियुक्त गर्न माग गर्दै पर्यटनकर्मीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई ज्ञापनपत्र बुझाएका छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीको नेतृत्वमा काठमाडौं आएको पाँच सदस्यीय टोलीले मंगलबार ज्ञापनपत्र बुझाएको हो।
‘पोखराको पर्यटनमा प्रत्यक्ष लगानी गरेका एक जनालाई बोर्डमा नियुक्त गर्न हामीले मन्त्रीज्यू समक्ष माग गर्यौं’, परिषद्का अध्यक्ष पहारीले भने, ‘उहाँ सकारात्मक हुनुहुन्छ।’
पहारीसहित होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी, रेबानका अध्यक्ष विश्वराज पौडेल, नाटाका अध्यक्ष किशोर दाहाल र एगाका अध्यक्ष गोकर्ण लम्सालले मन्त्रीलाई भेटेका हुन्।

पोखराका युवा पर्यटनकर्मी ऋषिराम भण्डारी हाल बोर्डमा सदस्य छन्। उनले बोर्डको आर्थिक वर्ष २०८२/२०८३को बजेट संयोजकको जिम्मेवारीसमेत सम्हालेर काम गर्दै आएका छन्।
पर्यटनमन्त्री पाण्डेको रोजाइमा सुदूरपश्चिमका पुराना पर्यटनकर्मी नरेन्द्र भट्ट र नाटाका वर्तमान अध्यक्ष एवम् युवा पर्यटनकर्मी कुमारमणि थपलिया परेको चर्चा चलेसँगै दबाब बढाउन पोखरेलीले मन्त्रीलाई भेटेका हुन्।
बोर्डको कार्यकारी समितिमा पोखरेली पर्यटनकर्मीको प्रतिनिधित्व भइसकेको अवस्थामा बाँकी दुई सदस्यमा निजी क्षेत्रका महिलाको सहभागिता सुनिश्चित हुनुपर्ने आवाज पनि उठ्न थालेको छ।
यसैबीच मन्त्रालयले पदपूर्ति गर्न सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा मनोनयन सिफारिस समिति गठन गरेको छ। समितिमा बासु ढुङ्गाना र विभूतिचन्द ठाकुर सदस्य छन्।
बोर्डमा पर्यटन सचिवको संयोजकत्वमा ११ सदस्यीय कार्य समिति हुन्छ। सदस्य सचिव चाहिँ बोर्डका सिइओ हुन्छन्। समितिमा निजी क्षेत्रका पाँच जना पर्यटन व्यवसायी सदस्य रहने व्यवस्था छ। उनीहरूको कार्यकाल तीन वर्षको हुन्छ।
पोखराका तीन आकांक्षी
नेकपा (एमाले) र नेपाली काँग्रेससहितको संयुक्त सरकारमा काँग्रेसका युवा नेता बद्रीप्रसाद पाण्डे पर्यटनमन्त्री छन्। विगतको अभ्यास हेर्दा जुन दलको मन्त्री छन्, त्यही दलका सदस्य बोर्डमा नियुक्त हुने परम्परा देखिन्छ। त्यसैले काँग्रेसमा सक्रिय व्यवसायी सदस्य बन्ने दौडमा लागेका छन्।
पोखराबाट गणेश थापा, पोमनारायण श्रेष्ठ र धर्मराज पन्थीको नाम चर्चामा छ। तीनै जना जागरुक पर्यटनकर्मी हुन्।
अधिवक्तासमेत रहेका थापा सिर्जनशील युवा हुन्। उनले पोखराको लेकसाइडमा होटल, रेस्टुराँ र ट्राभल एन्ड ट्रेक्स कम्पनी सम्हाल्दै आएका छन्। उनी नेपाली काँग्रेस पोखरा महानगरपालिका कार्यसमितिका सचिव पनि हुन्।
त्यस्तै श्रेष्ठ पोखरा पर्यटन परिषद्का निर्वतमान अध्यक्ष हुनुका साथै नाटा पोखराका पूर्वअध्यक्ष समेत हुन्। उनी पोखरा अल्ट्रालाइटका सञ्चालक पनि हुन्।
अर्का आकांक्षी पन्थी टान पोखराका निर्वतमान अध्यक्ष हुन्। उनी पोखरामा ट्रेकिङ कम्पनी र होटल चलाउँछन्।
यसअघि माओवादीका पर्यटनमन्त्री हितबहादुर तामाङका पालामा माओवादीका तीनजना पर्यटनकर्मीहरू रामप्रसाद सापकोटा, राजेन्द्र लामा र ऋषि भण्डारी बोर्डमा नियुक्त भएका थिए। अब रिक्त दुई सदस्यमा काँग्रेसबाट नियुक्त भएमा बोर्डमा एमाले प्रतिनिधित्वविहीन बन्ने छ।
संयुक्त सरकार भएकाले एक सदस्य एमालेले पाउनुपर्ने भन्दै केही पर्यटनकर्मीले लबिङ गरिरहेको चर्चा पनि चलेको छ।
पर्यटन बोर्डको पुर्नसंरचना कहिले?
स्वदेश तथा विदेशमा पर्यटन प्रवर्द्धनको मुख्य लक्ष्य लिएर स्थापना भएको नेपाल पर्यटन बोर्डको भूमिका प्रभावकारी देखिँदैन। डिजिटल युगअनुसार बोर्ड चल्न सकेको छैन। बोर्डसँग नेपालभरका सम्पदाको सामग्री छैन। ऊसँग डिजिटल मार्केटिङको ज्ञान भएको व्यवहारले देखाउँदैन। यतिसम्म कि नेपाल चिनाउने एउटा गतिलो भिडियोसमेत छैन। यसमा उसको ध्यानै छैन।
अर्को समस्या, विज्ञहरूसँग निरन्तर अन्तरक्रिया गरेर तथा मुलुकभित्र घुमघाम गरेर ज्ञान बटुल्नुपर्नेमा बोर्डका कर्मचारी केवल जागिर खाइरहेका छन्। बोर्डले अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी मार्केटिङ गरेको एउटा गतिलो उदाहरण पनि भेटिँदैन। बोर्ड त सेतोहात्ती पाले सरह भएको छ। त्यसैले यसको पुर्नसंरचना गर्नुपर्ने आवाज उठिसकेको छ।
बोर्डलाई बदल्न कार्यकारी समितिका सदस्यहरूमा पनि भिजन, इच्छाशक्ति र आँट चाहिन्छ।