इलाम । पर्यटन र स्थानीय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलाम–९ मा रहेको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल तीन महिनादेखि उडानविहीन बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको विमानस्थलमा यस वर्ष जेठयता कुनै पनि उडान भएको छैन ।
विसं २०७५ जेठ २१ गते तारा एयरको ट्विनअटर विमानले पहिलो परीक्षण उडान गरेपछि यहाँका नागरिकले नियमित उडानको आशा गरेका थिए । त्यसपछि २०७८ माघ २६ मा नेपाल एयरलाइन्सले पनि परीक्षण उडान गरेको थियो । तर नियमित सेवा नहुँदा इलाम र आसपासका पूर्वी पहाडी क्षेत्रका बासिन्दा अझै झापा वा विराटनगर हुँदै यात्रा गर्न बाध्य छन् ।
सुरुवाती चरणमा तारा एयरले साप्ताहिक दुई दिन उडान गर्दै आएको थियो । त्यसबेला नगरपालिकाले काठमाडौं फर्कँदा खाली सिटको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो । सम्झौता सकिएपछि २०७९ माघ १ देखि नेपाल एयरलाइन्सले उडान थाले पनि पछिल्ला वर्षमा कुनै नयाँ सम्झौता भएन ।
नेपाल एयरलाइन्सले सम्झौता बिना नै शनिबार एक दिन उडान गर्दै आएको थियो । तर मौसमीय समस्या देखाउँदै २०८२ जेठ १४ पछि उडान रोकिएको स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए ।
इलाम–९ का वडाध्यक्ष गोपाल चौहानका अनुसार नगरपालिकाले पटक–पटक बैठकमा विमानस्थल सञ्चालनबारे पहल गर्दै आएको छ । तर कहिले विमान बिग्रिएको त कहिले मौसमका कारण देखाउँदै नियमित सेवा अवरुद्ध हुने क्रम जारी छ ।
तीन सय २८ रोपनी क्षेत्रफलमा बनेको विमानस्थलको ६७० मिटर लामो धावनमार्ग कालोपत्रे भए पनि स्थायी टर्मिनल भवन, सुरक्षित तारबार, पक्की पहुँचमार्गजस्ता संरचना अझै अधुरै छन् । स्थानीयले करिब रु. ४ करोडसहित हालसम्म रु. २८ करोडभन्दा बढी खर्च भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विसं २०६७ मा शिलान्यास भएको यो विमानस्थल २०७८ फागुन १ मा उद्घाटन गरिएको थियो ।