काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आगामी असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान सेवा प्रारम्भ गर्ने भएको छ। यससँगै काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं नियमित उडानको नयाँ अध्याय सुरु हुने निगमले जनाएको छ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार ग्वाञ्जाओ उडानका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको छ र आवश्यक अनुमति समेत प्राप्त भइसकेको छ। पहिलो उडान असोज ९ गते हुनेछ भने दोस्रो असोज १२ गते सञ्चालन गरिनेछ। त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान हुनेछ। त्यसपछि हरेक आइतबार, मंगलबार र शनिबार नियमित रूपमा उडान हुने निगमले जनाएको छ।
भाडा दरतर्फ, एकतर्फी टिकट ३० हजार र दोहोरो टिकट ५० हजार रुपैयाँ निर्धारण गरिएको छ। अध्यक्ष अधिकारीले लामो प्रयासपछि चीनको महत्वपूर्ण व्यापारिक सहर ग्वाञ्जाओसम्म उडान विस्तार गर्न सफल भएको भन्दै छिट्टै साउथ कोरिया र अष्ट्रेलियामा पनि सिधा उडान सुरु गर्ने तयारी भइरहेको जानकारी दिए।
हाल ग्वाञ्जाओ रुटमा चाइना साउदर्न एयरलाइन्स र हिमालय एयरलाइन्सले सेवा दिइरहेका छन्। नेपाली समुदाय ठूलो संख्यामा बसोबास गर्ने यो सहरमा उडान विस्तारसँगै नेपाल एयरलाइन्सलाई आर्थिक रूपमा फाइदा हुने अपेक्षा गरिएको छ।
११ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान
ग्वाञ्जाओसहित नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय उडान गन्तव्य ९ देशका ११ पुगेका छन्। हाल निगमसँग रहेका दुई वाइडबडी र दुई न्यारोबडी विमानमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुबई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैङ्गलुरु, थाइल्याण्डको बैङ्कक, साउदी अरबको दमाम र जापानको नारितामा उडान हुँदै आएको छ।
राष्ट्रिय ध्वजावाहकका रूपमा देशको पहिचान बोकेको नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमार्फत कूटनीतिक सम्बन्ध विस्तार र पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। निगमले आगामी दिनमा यस भूमिकालाई अझ प्रभावकारी बनाउने विश्वास लिएको छ।