काठमाडौं। सोमबार दसैंको फूलपाती परेको दिन पनि मौसम खासै खुलेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर भए पनि स्थानीय वायू सक्रिय रहेको छ।
महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको २४ घण्टाको मौसम बुलेटिनअनुसार दिउँसो देशका सबै प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। अन्य प्रदेशका पहाडी भूभागमा पनि थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ। तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुने देखिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको मौसम विभागले जनाएको छ।
रातिको समयमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको सम्भावना छ। गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने देखिएको छ।
यसैबीच, सोमबार बिहान काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा भएको छ।