काठमाडौं । नेपालको पर्वतीय पर्यटनलाई थप सुरक्षित, व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यसहित सञ्चालन हुँदै आएको पेशागत पर्वतीय पथप्रदर्शक तालिम कार्यक्रमअन्तर्गतको आधारभूत सीपको छैटौँ संस्करण आजदेखि काठमाडौंमा औपचारिक रूपमा सुरु भएको छ ।
तालिम नेपाल पर्वतारोहण संघ (एनएमए) र दीगो पर्यटन परियोजनाको संयुक्त आयोजनामा नागपोखरी नक्सालस्थित संघको सचिवालयमा सुरुवात भएको हो । दीगो पर्यटन परियोजना नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संयुक्त पहलमा सञ्चालित परियोजना हो ।
२१ दिनसम्म काठमाडौं र ककनी, नुवाकोटमा सञ्चालन हुने यस तालिममा सहभागीहरूलाई पर्वतारोहण क्षेत्रका आधारभूत सैद्धान्तिक ज्ञान तथा व्यावहारिक सीप प्रदान गरिनेछ । तालिममा पर्वतारोहणका आधारभूत पक्ष, नक्सा अध्ययन तथा नेभिगेसन, प्राथमिक उपचार, उच्च हिमाली क्षेत्रमा उद्धारका विधि, रक क्लाइम्बिङलगायत पर्वतीय गतिविधिमा आवश्यक पर्ने महत्वपूर्ण विषयहरू समेटिएका छन् ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पा तथा दिगो पर्यटन परियोजनाका राष्ट्रिय संयोजक केबी शाहले सहभागीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै तालिमको सुरुवात गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष शेर्पाले सुरक्षित पर्वतीय पर्यटनको विकासका लागि दक्ष जनशक्ति, प्राविधिक ज्ञान र व्यावहारिक सीपको विकास अपरिहार्य रहेको उल्लेख गरे । उनले यसप्रकारको आधारभूत तालिमले पर्वतारोहण तथा पर्वतीय पर्यटन क्षेत्रमा आवश्यक पर्ने दक्षता र सुरक्षासम्बन्धी ज्ञानको जग बलियो बनाउने विश्वास व्यक्त गर्दै सहभागीहरूलाई तालिमबाट अधिकतम ज्ञान र सीप हासिल गर्न आग्रह गरे ।
त्यसैगरी, दिगो पर्यटन परियोजनाका राष्ट्रिय संयोजक शाहले नेपाल पर्वतारोहण संघसँगको सहकार्यमा यस्तो महत्त्वपूर्ण क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न पाउँदा सन्तुष्टि व्यक्त गरे । उनले नेपालको पर्वतीय पर्यटन क्षेत्रलाई थप सुरक्षित, सक्षम र दिगो बनाउन यस्ता तालिम तथा सीप विकासका कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघका महासचिव राजेन्द्रबहादुर लामा, सचिव चन्दन थापा, कोषाध्यक्ष सुमी लामा, संघको सचिवालय सदस्य तथा तालिम समितिका संयोजक फुरीगेल्जेन शेर्पा, केन्द्रीय कार्यसमिति सदस्यहरू देवेन्द्र डंगोल र माधवकुमार धमला तथा संघको बागमती प्रदेश समितिका अध्यक्ष ठाकुरप्रसाद धरेललगायतको उपस्थिति रहेको थियो ।
संघको तालिम समितिका संयोजक फुरी गेल्जेन शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त शुभारम्भ कार्यक्रमले नेपालको पर्वतीय पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन, व्यावसायिक क्षमता अभिवृद्धि तथा सुरक्षित पर्वतीय अभ्यासको प्रवर्द्धन गर्ने दिशामा नेपाल पर्वतारोहण संघ र उसका साझेदार संस्थाहरूको प्रतिबद्धतालाई पुनः उजागर गरेको छ ।