काठमाडौं। बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण भएको केबलकार सञ्चालनको तयारीमा रहेको छ।
बन्दीपुर केबलकार एण्ड टुरिजमद्वारा निमार्ण गरिएको केबलकार असोज महिना देखि सञ्चालनमा आउन लागेको हो।
सञ्चालनको यकिन मिति नतोकिए पनि दसैँ अगाडिदेखि केबलकार सञ्चालनमा ल्याउने योजना भइरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।
केबलकारमा अबको करिब डेढ महिना सुरक्षाको हिसाबले पटकपटक परीक्षणका काम भइरहेको र अब असोजदेखि व्यावसायिकरुपमा सञ्चालनमा ल्याइने उनले बताए।
एशियाकै ठूलो भनिएको यहाँको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलोकन गर्दै उक्त केबलकारबाट यात्रा गर्न सकिनेछ। केबलकारको अहिले पुनःपरीक्षणको काम भइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजमका निर्देशक तथा इञ्जिनियर हरिदत्त पौडेलले जानकारी दिए।
केबलकारमा एक्काइस डिब्बा यात्रु बोक्ने, छ डिब्बा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ वटा डिब्बा हुनेछन्। एक डिब्बामा आठ जनासम्म यात्रु बस्नसक्ने क्षमताको छ।
एड्भेञ्चर डिब्बा भने अन्य डिब्बाको तुलनामा फरक किसिमको (सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको) हुने उनले बताए। ‘केबलकार भित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको छ’, निर्देशक पौडेलले भने।
पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाट माथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थीलाई ५०, पत्रकारलाई तीन सय ५०, अन्य यात्रुका लागि पाँच सय रूपैयाँ, रेष्ट्रो क्याबिनको २५ हजार पर्नेछ भने ६५ वर्ष माथिका नागरिकलाई भने टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ।