काठमाडौं। होटल व्यवसायलाई उद्योगको मान्यता दिन नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको छ।
महासंघ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलासँग भेट्दै समितिले यस्तो माग गरेको हो।
मुलुकमा विदेशी मुद्रा भित्राउन उल्लेख भूमिका निर्वाह गर्दै आएको होटल व्यवसाय समस्या नै समस्यामा रहेको भन्दै समितिले यो क्षेत्र राज्यको प्राथमिकतामा समेत नपरेको गुनासो गरेको छ।
महासंघका उपाध्यक्ष हेमराज ढकाल र उक्त समितिका सभापति देशबन्धु वस्नेत (अजित)को नेतृत्वमा गएको उक्त समितिले होटल व्यवसायलाई उद्योग सरहको सुविधा प्रदान गर्न माग गरेको हो।
समितिले उद्योग सचिव निरौलालाई ज्ञापनपत्र बुझाउँदै होटल क्षेत्रमा निजीक्षेत्रले ठूलो पूँजी लगानी गरी लाखौंलाई रोजगारीको अवसर प्रदान गरेको बताएको छ।
पर्यटकीय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै समितिले दीगो पर्यटन र हरित पर्यटन सम्बन्धमा विशेष योगदान पु¥याएको बताएको छ।
पर्यटनलाई विद्युतको सहुलियत दर रेट, करमा विशेष छुट, विद्युत खपत नियमावलीमा समेत होटल उद्योगलाई विशेष विद्युत महसुल कायम गराई यस क्षेत्रलाई उद्योग सरहको सुविधा उपलब्ध गराउन समेत भनिएको छ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा व्यवस्था भए अनुसार कूल बिक्रीको ५ प्रतिशत भन्दा बढी रोयल्टी शुल्क बढी नहुने गरी पठाउन मात्र पाउने प्रावधानले मुलुकमा अन्तर्राष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन रहने समेत समितिको भनाइ छ।