काठमाडौँ । बडादसैंको अवसरमा मुलुकका हवाई उडानमा चाप बढेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनादेखि आन्तरिक उडानमा विशेष चाप देखिएको छ।
आज आन्तरिक उडानको तालिका अनुसार एकतर्फी १६७ उडान निर्धारित छन्। बुधबार १४१ उडान तय भए पनि प्रतिकूल मौसमका कारण १३५ मात्रै उडान सञ्चालन भएका थिए। शेर्पाका अनुसार आज बिहान मौसम अनुकूल भएकाले उडान सामान्य रूपमा भइरहेको छ।
बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए अनुसार, बुधबार केही उडान स्थगित भएका कारण आज चाप बढेको छ। बुधबार दिउँसो ३ बजेपछि पोखरा र भैरहवाका सबै उडान रद्ध गरिएको थियो। बुधबार १५० उडान भए पनि आज कम्पनीले दुईतर्फी १७० उडान तय गरेको छ।
जोशीले दसैंका लागि यात्रु चाप बढ्ने अपेक्षामा भैरहवा र भरतपुरमा थप दुई–दुई उडान राखिएको जानकारी दिए। श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरका अनुसार सडक आवागमन अवरुद्ध भएका कारण हवाई उडानमा चाप बढेको छ र यस्तो अवस्था आइतबारसम्म रहने देखिन्छ।
काठमाडौँबाट बाहिरिने यात्रु बढी र फर्कने यात्रु कम भएका कारण भाडा केही महँगो भएको मानन्धरले बताए। हाल श्री एयरलाइन्स दैनिक दुईतर्फी करिब ५० उडान सञ्चालन गर्दै आएको छ। समग्रमा आन्तरिक उडान दैनिक ३४० भन्दा बढी छन्।
अन्तर्राष्ट्रिय उडानमा पनि दैनिक दुईतर्फी ११० भन्दा बढी उडान सञ्चालन भइरहेको छ। विदेशबाट नेपाल आउने यात्रुको संख्या पनि बढ्दै गएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दसैं, तिहार र छठजस्ता चाडपर्वमा यात्रुलाई सहज हवाई यातायात उपलब्ध गराउन आवश्यक सहजीकरण गर्ने जनाएको छ। क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हवाई इन्धनको मूल्य बढेको कारण भाडा महँगो भएको छ, र सरकारले सहुलियतका माध्यमबाट नीतिगत व्यवस्थापन गर्नु पर्ने बताएका छन्।
काठमाडौँ बाहिरिने मुख्य सडक मुग्लिङ–नारायणगढमा तुइनखोलामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा पनि हवाई उडानमा चाप बढेको हो। विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन भइरहेको छ। आन्तरिक उडानका लागि २१ वायुसेवा कम्पनी र १२ हेलिकप्टर कम्पनी, अन्तर्राष्ट्रिय उडानका लागि ३० हवाई कम्पनीले सेवा दिइरहेका छन्।