काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको ग्वाञ्जाओमा नियमित उडान सुरु गरेको छ। निगमले शनिबारदेखि काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ मार्गमा सिधा उडान सञ्चालन गरेको हो।
निगमले असोज ९ गते उद्घाटन उडान गर्ने योजना बनाएको भए पनि प्राविधिक कारणले उडान ढिलो भई शनिबार दिउँसो मात्र प्रारम्भ भयो। उद्घाटन उडानमा सहभागी केही व्यक्तिहरू र यात्रु त्रिभुवन विमानस्थलमा पुगे पनि उडान स्थगित भएपछि निगमले उनीहरूको व्यवस्थापन गरेको थियो।
निगमका प्रवक्ता मनोजकुमार साहका अनुसार शनिबार काठमाडौँबाट उडेको विमान आइतबार ग्वाञ्जाओबाट १०७ यात्रु लिएर फर्किएको छ। तय भएको तालिकाअनुसार ग्वाञ्जाओतर्फ नियमित उडान सञ्चालन हुनेछ।
निगमले हप्तामा तीनवटा नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ। पहिलो उडान असोज १२ गतेपछि असोज ३०, कात्तिक २ र ६ गते उडान हुने र त्यसपश्चात् प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुने जनाएको छ। भाडादर काठमाडौँ–ग्वाञ्जाओ एकतर्फी रु ३० हजार र दोहोरो टिकट रु ५० हजार निर्धारण गरिएको छ।
उक्त गन्तव्यमा हाल चाइना साउदर्न एयरलाइन्स र नेपालबाट हिमालय एयरलाइन्सले पनि नियमित उडान गर्दै आएका छन्। नेपाली समुदायको उपस्थिति बढी रहेको ग्वाञ्जाओमा उडानले निगमलाई आर्थिक लाभ हुने अपेक्षा गरिएको छ।
ग्वाञ्जाओ उडान सुरु भएपछि नेपाल एयरलाइन्सले नौ देशका ११ अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गरेको छ। हाल निगमसँग दुई न्यारोबडी र दुई वाइडबडी जहाजमार्फत दोहा, क्वालालम्पुर, दुवई, हङकङ, दिल्ली, मुम्बई, बैङ्गलोर, बैंकक, दमाम र नारिता (जापान) मा नियमित उडान भइरहेको छ।