काठमाडौं । म्याग्दी जिल्लामा अवस्थित धवलागिरि हिमाल (८,१६७ मिटर)को आधारशिविरसम्म पदयात्रा गर्न साहस, समय र पैसा चाहिन्छ। त्यहाँसम्म पुग्न विभिन्न पदमार्ग छन्। पछिल्लो समय विकास भइरहेको पदमार्ग हो, धवलागिरि आइसफल ट्रेक’।
पदयात्रा पुरा गर्न म्याग्दीको बेनी बजारबाट ८ दिन लाग्छ। बेनीबाट दुई दिनमै धवलागिरि आधारशिविर पुग्ने विकल्प पनि छ। हालका लागि यहाँ ‘क्याम्पिङट्रेक’ गर्नुुपर्ने बाध्यता छ। धवलागिरिआधारशिविर(४०५५ मिटर)बाट हिउँ झरिरहेको दृश्य देखिने भएकाले ‘आइसफलट्रेक’का रुपमा यसको ब्रान्डिङ गरिएको छ।

यो पदमार्ग म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा नं. ३, गायत्री मन्दिरबाट सुरु भएर राखु भगवती, रुइसेडाँडा, भेडीओढार, सोवाङधुरी हुँदै आधारशिविर पुगेर सुङ्गुरथलासम्म जोडिन्छ। पदयात्रा पुरा गर्न एक हप्ता हिँड्नु पर्दछ।
समय थोरै हुनेहरू भने म्याग्दीको सदरमुकाम बेनीबजारबाट दुई दिनमा पनि आधारशिविर पुग्न सक्छन्। त्यसका लागि सुङ्गुरथलासम्म गाडीमा गएर त्यही दिन माथि बास बसेर भोलिपल्ट आधारशिविर घुमेर फर्कन भ्याइन्छ।
वि.सं. २०६८/०६९ देखि पर्यटन विभागले बर्सेनि पदमार्ग बनाउन बजेट व्यवस्था गर्दै आएको छ।

‘धवलागिरि आइसफल पुग्ने ठाउँको भिर फोडेर पदमार्ग बनाउन बाँकी छ’, यस पदमार्गकी अभियन्ता संविधान सभा सदस्य एवम् पूर्वमन्त्री थममाया थापा भन्छिन्, ‘यही वर्ष पदमार्ग पूरा गरेर त्यसको प्रचारप्रसारका लागि महोत्सव गर्ने योजना छ।’
यसैबीच नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र रघुगंगा गाउँपालिकाको समन्वय तथा लगानीमा पदमार्गको बिस्तृत अनुुसन्धान गर्नुका साथै पर्यटकीय नक्सा प्रकाशन भइसकेको छ। नक्सा प्रकाशन भने काठमाडौंको चर्चित प्रकाशन गृह ‘म्याप हाउस’ले गरेको हो।

धवलागिरि आधारशिविर मनमोहक छ। आधारशिविरमा सुन छहरा पनि छ। हिउँदमा छहराको पानी जमेर बरफ बन्छ। सुनछहरा नजिकै रघुुगंगा नदीको मुहान छ। रघुुगङ्गा नदी गलेश्वरधाममा आएर कालीगण्डकीमा मिसिन्छ।
रघुगंगा मुहानको नजिकै निलीभारा ताल छ। एउटा टाकुरामा ताल। यसको न मुहान देखिन्छ, न निकास। अचम्मलाग्दो ताल ।
आधारशिविरमा सधैं रमाइलो हुन्छ। बर्खामा आधारशिविरको फराकिलो ठाउँमा भेडा चरेको दृश्य पनि देखिन्छ। यस क्षेत्रमा वैशाखदेखि जेठसम्म हिमाली जडीबुटी यार्सागुम्बा टिप्नेको मेला लाग्छ। पदयात्रामा सबैभन्दा अग्लो ठाउँ देउराली भन्ज्याङ (५,२६३ मिटर) हो। भन्ज्याङबाट छ्याङ्गै हिमाल देखिन्छन्। हिउँ जमेका बेला भन्ज्याङ पार गर्न करिब दुई घण्टा लाग्छ। अरू समयमा एक घण्टामै पार गर्न सकिन्छ। भन्ज्याङबाट ओरालो झरेर धवलागिरि आधारशिविर पुगिन्छ।
यात्रामा प्रख्यात तीर्थस्थलहरू दर्शन गर्न पनि पाइन्छ। बेनी नगरपालिकामा गलेश्वरधाम, जगन्नाथ मन्दिर, महारानी थान, बेनी चैत्य, नवदुर्गा मन्दिर, भद्रिवम शिवालय, पुलत्स्य पुलाश्रम र लक्ष्मीनारायण मन्दिरलगायत सम्पदा छन्। त्यस्तै राखुमा भगवती मन्दिर छ।

रुइसेसम्म सडक जोडिएको छ। अचेल रुइसेबाट पदयात्रा सुरु गर्न सकिन्छ। रुइसे (२,२०८ मिटर)को शिरमा भेँडीओढार (२,५०० मिटर) छ। भेडीओढारबाट चुरेन, गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, र माछापुच्छ्रे हिमाल दर्शन गर्न सकिन्छ। सूर्योदय र सूर्यास्तको दृश्य पनि मिठो देखिन्छ।
जैविक विविधताले भरिपूर्ण यस पदमार्गमा रोचक कथा बोकेका ठाउँहरू पनि छन्, धरमढुङ्गा, पानी डाक्ने डाँडा, खोलाखर्क, सोवाङ धुरी, देउराली, कछुवा ओढार, ससलधारा, सुङ्गुरथला आदि। यहाँ झरना, तालतलैया (कालीभारा, सेतीभारा र पहेंलीभारा ताल), नागढुङ्गा, भिर माहुरी आदि छन्।
सडक सञ्जालले मुलुकभित्रका अन्य पदमार्ग मासिँदै गएका बेला ‘धवलागिरि आइसफल ट्रेक’ मासिने सम्भावना देखिँदैन। पदमार्गका सबैतिर होटल, लज र होमस्टे सुविधा नभएकाले यहाँ ‘क्याम्पिङ ट्रेक’ गर्नु पर्ने बाध्यता छ।

सोवाङ धुरी
धवलागिरि आइसफल पदमार्गमा पर्ने सोवाङ धुरी (३,८४० मिटर) एउटा हिलस्टेसन हो। यहाँबाट हिमाल, सूर्योदय र सूर्यास्तको मनोरम दृश्य देखिन्छ। धवलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खला अवलोकन गर्न पाइन्छ। यहाँबाट पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका गाउँघर देख्न सकिन्छ। जैविक विविधताका हिसाबले पनि सोवाङ धुरी धनी छ। यस क्षेत्रमा थरीथरीका जडीबुटी, राष्ट्रिय चरा डाँफे, कस्तुरी, रेडपान्डा आदि पाइन्छ।

चिमखोला
चिमखोला सुन्दर पहाडी गाउँ हो। करिब तीन सय घर धुरी रहेको गाउँमा मगर र दलित समुदायको बसोबास छ। पहाडले घेरिएको भिरालो बस्तीका घरहरू गुचुमुच्च छन्। गाउँको पुछारबाट माथि हेर्दा शिरानसम्मका घरहरू आपसमा खप्टेकाझैं देखिन्छन्। ढुङ्गा र माटोबाट बनेका घरहरू अत्यन्तै आकर्षक छन्। गाउँमा मण्डली मन्दिर र भूूमेथान छन्। मण्डलीमा मंसिर र चैतमा ठूलो मेला हुन्छ। भूमेथानमा पूजा गरिन्छ। चोयाको डोकोका लागि पनि चिमखोला प्रख्यात छ।

थाली नाच चिमखोलाबाटै सुरु भएको इतिहास छ। गीतको लय र शब्दसँगै हातमा थाल राखेर हत्केलाले घुमाइ घुमाइ नाचिन्छ। थाली नाच सुुरु गर्ने संस्कृतिकर्मी हुन्, हिरामाया पुन। गाउँमा पुर्ख्यौली पनि नाचिन्छ। पुर्ख्यौली (सोरठी) नाचले जीवनशैली, संस्कार र संस्कृति झल्काउँछ। यस लोकनाचमा मादल र झ्याली बाजा बजाइन्छ। पुर्ख्यौली नाचमा गाइने गीतले सभ्यताको अलिखित इतिहास बोकेको हुन्छ। यसमा राजारानी, करबाकेली बाबा, पुर्खाहरू, जीवनशैली, प्राचीन गाउँ, वनजङ्गल, खोलानाला, पशुपन्छी, वन्यजन्तु आदिको वर्णन गरिन्छ। विवाह, व्रतबन्ध, भोजभतेर, भुमे पूजा आदिमा पुर्ख्यौली नाच्ने चलन छ।





