पोखरा
पोखरा नजिकैको सुन्दर हिलस्टेसन हो, क्रपुडाँडा (३,०८५ मिटर)। यहाँबाट अन्नपूर्ण चौंथो, अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको लर्कन देखिन्छ। सूर्योदय र सूर्यास्तको दृश्य पनि चित्ताकर्षक देखिन्छ।
कास्की जिल्लाको मादी गाउँपालिका–२ मा अवस्थित क्रपुडाँडामा वर्षैभरी घुमफिर गर्न सकिन्छ। माघफागुनमा यहाँ हिउँ पर्दछ। शुक्रबारदेखि पश्चिम नेपालमा पानी पर्ने प्रक्षेपण गरिएको छ। त्यसैले यतिबेला क्रपुडाँडाको यात्रा गर्दा हिउँ खेल्ने पाइने सम्भावना हुन्छ।

शुक्रबारदेखि हिमपात हुने प्रक्षेपण गरिएको छ। हिउँ पर्नेवित्तिकै पोखरा नजिकैको क्रपुडाँडामा आन्तरिक पर्यटकको मेलै लाग्छ।
क्रपुबाट हिउँ पहिरो पनि देखिन्छ। अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको बीचबाट प्रायः खसिरहन्छ पहिरो। पहिरो झर्दा गड्याङ्ग आउने आवाजले झसङ्ग बनाउँछ।
ग्रामीण पर्यटनको नमुना गन्तव्यका रुपमा चिनिएको गुरुङ गाउँ ‘ताङतिङ’को शिरमा पर्दछ क्रपुडाँडा। त्यसैले पदयात्रामा चराको चिरबिर, जंगली जनावरको आवाज, वनजंगल, हिउँपहिरोका दृश्य, चिसो हावापानी, हिमालसँगको सामीप्य र सुन्दर गाउँको दृश्यमा रमाउने अवसर मिल्छ।
ताङतिङको शिरमा क्रपुडाँडा
ताङतिङ (१,६६५ मिटर) बाट नौचुडाँडा (२,०४७ मिटर)। नौलाचे (२,२०० मिटर) हुँदै क्रपुडाँडामा पुगिन्छ। खाना र बासका लागि क्रपुडाँडामा ४ ओटा टेन्टेड क्याम्प छन्।
ताङतिङको सामुदायिक होमस्टे, क्रपुडाँडाको टेन्ट र पोखरामा एकएक रात बस्ने गरी यात्रा योजना बनाउनु पर्छ। ग्रामीण पर्यटनको नमुना गन्तव्यका रुपमा चिनिएको ताङतिङका गाउँलेको आत्मीयताले सबैलाई मोहित बनाउँछ।
ताङतिङ सामुदायिक होमस्टेको स्वागत
ताङतिङ गाउँबाट देखिएको हिमसृङ्खला
ताङतिङ आफैंमा सुन्दर गन्तव्य हो। यहाँ सामुदायिक होमस्टे र होटल सुबिधा छ।
काठमाडौंबाट यात्रा गर्दा पहिलो बास ताङतिङमा, दोस्रो बास क्रपुडाँडामा, तेस्रोे बास पोखरामा बस्ने हिसाबले कम्तीमा ४ दिनको योजना बनाउनु बेस हुन्छ। यात्रामा निस्कनु अघि गन्तव्यस्थलका पर्यटनकर्मीलाई सम्पर्क गरेर होमस्टे, टेन्ट र कोठा बुक गरेमा सजिलो हुन्छ।

कसरी पुग्ने?
काठमाडौं–पोखरा २०० कि.मि. बसमा ६ घण्टा अथवा २५ मिनेट हवाई यात्रा। पोखराको काहुँखोला–ताङतिङ २१ कि.मि. सम्म सार्वजनिक बस तथा जिप चल्छन्। ताङतिङ–क्रपुडाँडा ११ की.मी. सडक यात्रा। जिप र मोटरबाइक क्रपुसम्मै पुग्छन्। ताङतिङबाट पदयात्रा गर्न करिब ३ घण्टा लाग्छ ।

ताङतिङमा स्वागतम्

प्रकाश गुरुङ, समाज विकास अभियन्ता
हाम्रो ताङतिङ गाउँमा गुरुङ जीवनशैली, हिमाली सौन्दर्य र आत्मीय वातावरण पाइन्छ। ताङतिङमा दुई रात बसेर सेरोफेरो घुमफिर गर्न सकिन्छ। ताङतिङ र क्रपुडाँडा वर्षैभरी घुमफिर गर्न सकिन्छ।
सम्पर्क–९८५६०२८८२७
सस्तो प्याकेज

आशामाया गुरुङ र गुमानध्वज, सञ्चालक क्रपु टेन्ट हाउस
हामीले क्रपुडाँडामा टेन्ट हाउस चलाएका छौं। प्याकेजको १५ सय रुपैयाँ पर्दछ। प्याकेजमा वेलकम टि, डिनर, क्याम्प फायर, बेड र ब्रेकफास्ट सुबिधा पाइन्छ। पहिल्यै फोन सम्पर्क गरेर आउनुस् है !
सम्पर्क –९८४६५३१८५०÷९८०६७९५९९०