काठमाडौं
नेपाल मुक्तक प्रतिष्ठानले आफ्नो तेह्रौं वार्षिकोत्सवका अबसरमा विभिन्न कार्यक्रम गरी ‘मुक्तक दिवस’ मनाएको छ। उसले आइतबार पुरस्कार वितरण र पुुस्तक लोकापर्ण गरी मनाएको हो।
वरिष्ठ मुक्तककार उषा शेरचनलाई एकाउन्न हजार राशिसहित ‘भीमदर्शन मुक्तक पुरस्कार’ र मुक्तककार डा. रूपक श्रेष्ठ (बेलायत) लाई एकतीस हजार राशिसहित ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ प्रदान गरेको हो।
विसं २०१२ भदौ ६ गते जन्मिएकी उषा शेरचनका ‘अक्षरहरूका शिविरबाट’ र ‘त्रासदीका हिमनदी’ मुक्तकसङ्ग्रह लगायत विभिन्न विधाका एक दर्जन कृति प्रकाशित छन्।
कार्यक्रममा सम्बोधन गर्दै डा. रुपक श्रेष्ठ
शेरचन २०३५ सालमा पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पोखरामा नेपालमै पहिलो पटक सशुल्क सम्पन्न ‘टिकटमा मुक्तक’ कार्यक्रमकी प्रणेता तथा अत्यन्त सक्रिय आयोजकमध्ये एक हुन्।
यसैगरी २०२२ माघ ६ गते जन्मिएका डा. रूपक श्रेष्ठका ‘पोख्तक’, ‘चौशूल’ र पोख्तकको अङग्रेजी अनुवाद मुक्तक कृतिलगायत विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित छन्।
डा. रुपक श्रेष्ठको कृति पोस्तकमाथि टिप्पणी गर्दै कवि केशव सिग्देल
लामो समयदेखि बेलायतमा बस्दै आएका श्रेष्ठले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली मुक्तकको विकास र विस्तारका निम्ति महत्वपूर्ण योगदान गर्दै आएका छन्।
दुवै स्रष्टाले मुक्तकको उन्नयनमा गरेको योगदानका आधारमा पुरस्कार अर्पिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ। यसअघि ‘भीमदर्शन मुक्तक पुरस्कार’ यादव खरेल, सरुभक्त र नन्द हाङ्खिम तथा ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ रुद्र ज्ञवाली, अनुराधा ढकाल र खगेन्द्र गिरी कोपिलालाई अर्पिएको थियो।
कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतमको ‘नेपाली मुक्तकको रचनाविधान’, ‘ईलिंग’ स्मारिका र डा. रूपक श्रेष्ठका ‘चौशुल’ र ‘पोख्तक’ पनि लोकापर्ण गरिएको थियो।
नेपाली आधुनिक मुक्तकका प्रथम प्रयोक्ता भीमदर्शन रोका एवम् नेपाली मुक्तकका विशिष्ट साधकत्रय कृष्णप्रसाद पराजुली, रत्नशम्शेर थापा र चेतन कार्कीका सम्मानमा स्थापित उक्त पुरस्कार प्रतिष्ठानको वार्षिकोत्सव तथा मुक्तक दिवसका अवसरमा अर्पिएको हो।

प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा आयोजित कार्यक्रममा दुवै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र अध्यक्ष कोनेले अर्पिएका हुन्।
कार्यक्रममा प्रतिष्ठानले प्रकाशित गरेको प्राडा लक्ष्मणप्रसाद गौतमको ‘नेपाली मुक्तकको रचनाविधान’, नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले प्रकाशन गरेको ‘ईलिंग’ स्मारिका र डा. रूपक श्रेष्ठका ‘चौशुल’ र ‘पोख्तक’ (अंग्रेजी संस्करण) को लोकार्पण गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुक्तक विधालाई समाजको संवेदनशील र अति सूक्ष्म साहित्यिक अभिव्यक्तिको प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्दै ‘मुक्तक समाजलाई थोरै शब्दमा धेरै कुरा भन्न सक्ने शक्तिशाली विधा भएको र आजको तीव्र गतिको समाजमा मुक्तकले विचार, पीडा, आशा र दर्शन सटिक रूपमा व्यक्त गर्ने बताए।
कार्यक्रममा सम्बोधन गर्दै प्राडा लक्ष्मणप्रसाद गौतम
यसैगरी अध्यक्ष कोनेले मुक्तक दिवसको विशेष शुभकामना व्यक्त गर्दै मुक्तक विधाको सौन्दर्य र गहिराइ सरल रुपमा व्याख्या गर्दै “थोरैमा धेरै र बिन्दुमा सिन्धु अटाउने साहित्यिक विधा नै मुक्तक भएको र यसले सीमित शब्दभित्र असीमित भाव अटाउने बताए।
कार्यक्रममा सम्मानित मुक्तककार शेरचनले यस सम्मानले मुक्तक विधाप्रतिको आफ्नो जिम्मेवारी बढाएको उल्लेख गर्दै मुक्तकलाई जीवनको अनुभूति र अनुभवको सूक्ष्म अभिव्यक्ति बताउँदै मुक्तकले जीवनको गहिरो अनुभूति, पीडा र प्रेमलाई सानो आकारमा पनि गम्भीर रूपमा बोकेको बताइन्।
अर्का सम्मानित डा. श्रेष्ठले मुक्तकलाई आत्मअनुशासन र चेतनाको अभ्यासका रूपमा वर्णन गर्दै मुक्तक लेखन शब्दको खेल मात्र होइन, चेतनाको अनुशासन हो। यसले लेखकलाई जिम्मेवार र पाठकलाई संवेदनशील बनाउने बताए।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार गौतम, समालोचक केशव सिग्देल, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्रतिष्ठानका पूर्व महासचिव रमेश पौडेलले आआफ्नो मन्तव्य राखेका थिए। वक्ताहरूले नेपाली मुक्तकको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचानबारे विचार व्यक्त गरेका थिए।
प्रतिष्ठान विस. २०७० मा स्थापना भएको हो।
कार्यक्रममा सम्बोधन गर्दै साहित्यकार रमेश पौडेल