काठमाडौं ।
पर्यटकलाई शुलभ मूल्यमा सजिलै काठमाडौं उपत्यका घुमाउन ‘काठमाडौँ साइट सिइङ प्रालि’ ले विभिन्न प्याकेजहरू सञ्चालनमा ल्याएको छ। उसका १२ ओटा पर्यटक बस हरेक बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म काठमाडौं र ललितपुरका सम्पदा क्षेत्रमा घुमिरहन्छन्। यसरी ‘हप अन, हप अफ’ बस सेवाले पर्यटकलाई सजिलो बनाएको छ।
घुमफिर प्याकेज किनेका यात्रुलाई ती बसमा यात्रा गराइन्छ। बसहरू विभिन्न २० ओटा स्टपमा रोकिन्छन्। मोबाइल एपबाट अडियो टुर गर्दै आफ्नै धुनमा घुमघामको आनन्द लिन सकिन्छ। इच्छा लागुञ्जेल घुमेपछि अर्को बस चढेर अर्को स्टपमा झर्न सकिन्छ। यस किसिमले दिनभर घुम्न पाइन्छ।
हेर्नुहोस् भिडियो
विदेशीले यो प्याकेजको ३ हजार रुपैयाँ तिर्नु पर्दछ। यसमा नेपाली पर्यटकले ४५ प्रतिशत छुट पाउँछन्।
प्याकेजमा मानवीय पथ प्रदर्शक हुँदैनन्। प्याकेज किनेपछि एउटा एप डाउनलोड गरेर अडियो सुन्दै घुम्न पाइन्छ। अङ्ग्रेजी भाषामै सुन्नुपर्ने बाध्यता छैन, नेपाली, हिन्दी, जर्मन, जापानी, फ्रेन्च आदि विभिन्न तीस ओटा भाषामा सुन्दै हिँड्न पाइन्छ।

बाटो बिराएमा कता जाने भनेर एपले नै देखाउँछ। बस स्टप कहाँ छ, अर्को बस कति बजे आइपुुग्छ भन्ने सूचना पनि एपले नै दिन्छ। त्यसो त बसमा बस्दैदेखि रुटमा भएको जानकारी पाइन्छ।
सम्पदाहरूको मात्र होइन, रैथाने खानपिन र किनमेलका विषयमा पनि एपबाट जानकारी पाइन्छ। उसले यो पसलमा किन्नुस् भनेर भन्दैन मात्र ती विषयको जानकारी दिन्छ।
पर्यटकलाई केही सोध्न मन लाग्यो भने एआई च्याटसँग सोध्न पाइन्छ।
काठमाडौँ साइट सिइङ प्रा.लि.ले सन् २०२६ फ्रेब्रुअरीदेखि काठमाडौंमा यस्तो सेवा सुरु गरेको हो। यस कम्पनीका सिइओ हुन्, प्रविधिविज्ञ एलेन बैलोचन तुलाधर।
खिचापोखरी, काठमाडौंमा जन्मेहुुर्केका उनले विगतमा २८ वर्ष माइक्रोसफ्ट कम्पनीमा काम गरेका थिए। ७ वर्षसम्म त उनी माइक्रोसफ्ट इनोभेसन सेन्टरका निर्देशक समेत बनेका थिए।
उनका पिता तेजरत्न, खिचापोखरीमा ‘होटल पानोरमा’ चलाउँथे। सन् १९५९ मा चीनले तिब्बत आफ्नो अधिनमा लिएपछि उनका बाजे र पिता ल्हासा व्यापारबाट काठमाडौं फर्के। उनले सन् १९६४ मा होटल खोले जुन सन् २००० सम्म सञ्चालनमा थियो।
यस कम्पनीले मानव पथ प्रदर्शकसहित ‘भक्तपुर–नगरकोट डे टुर’ प्याकेज पनि बेच्छ। दिनभर भक्तपुर घमुेपछि साँझमा नगरकोटबाट सूर्यास्त हेरेर काठमाडौंमा फर्काउने प्याकेज। पर्यटक उतै बास बस्न पनि सक्छन्।
अर्को रमाइलो ‘सनसेट टुर प्याकेज’ पनि बन्दैछ। यसमा सूूर्यास्तपछि ३ प्रकारका रक्सी, ५ प्रकारका छयाङ, २ प्रकारका तोङ्बा बसभित्रै चाख्न पाइन्छ। मदिरा नखानेलाई सिस्नु, भाङ र तितौराको मकटेल ५ किसिमका मकटेल चखाइन्छ। र, साँझ कीर्तिपुरमा पु¥याएर नेवा भोज खुवाइन्छ।
कम्पनीले आफ्ना सबै गाडीलाई इभी बनाउने, गाडीको संख्या बढाउने र विमानस्थलमा ‘मिट एन्ड ग्रिट सर्भिस’ दिने योजना बनाएको छ।
जोखिम मोलेर पर्यटनकर्ममा होमिएका प्रविधिविज्ञ तुलाधरसँग पत्रकार अमृत भादगाउँलेले कुराकानी गरेका छन् ।