काठमाडौं
मोनालिसा हस्पिटालिटी प्रा.लि.ले शनिबार काठमाडौंको मोनालिसा रेस्टुराँमा आयोजना गरेको ‘दालभात खाने प्रतियोगिता’मा आयुुष रिसाल विजेता बने। उनले १२३६ ग्राम भात खाएर पहिलो भए भने अशोक न्यौपानेले ७३६ ग्राम भात खाएर दोस्रो र सरोज देसारले ७०४ ग्राम भात खाएर तेस्रो पुुरस्कार प्राप्त गरे।
पन्ध्र मिनेटमा आयुष रिसालले १२३६ ग्राम, अशोक न्यौपानेले ७३६ ग्राम र सरोज देसारले ७०४ ग्राम भात खाएर विजेता बने।
उनीहरूलाई १५ मिनेटको समय दिइएको थियो। प्रतियोगितामा पहिलो हुनेले डेढ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरे।

मोनालिसाकी चिफ अपरेटिङ अफिसर निर्मला वलीका अनुसार जनवरी २० देखि २९ गतेसम्म ‘क्वालिफिकेसन राउन्ड’ बाट छानिएका १० जना फाइनल राउन्डमा पुुगेका हुन्।
प्रतियोगितामा पहिलो हुनेले ट्रफी, नगद १५ हजार रुपैयाँ, काठमाडौं–पोखरा–काठमाडौं दुईतर्फी हवाई टिकट, दुई रात पोखरामा बास सुबिधा पाए। त्यसैगरी मुस्ताङको नाउरीकोटमा अवस्थित ‘लज थासाङ भिलेज’मा दुई रात खाना र बास सुबिधा पाउनेछन्। पोखराबाट आउन र जान डिलक्स बस सुबिधा हुनेछ।

त्यसैगरी दोस्रो हुनेले ट्रफी, ५ हजार नगद, पोखराको होटल म्याजेस्टिक लेक फ्रन्टमा दुुई रात बास, काठमाडौंका मोनालिसा र डल्ले ममबाट खानाको कुपन पाए। र, तेस्रो पुरस्कारस्वरुप ट्रफी, ३ हजार रुपैयाँ नगद र खानाका कुपन पाए। यो रमाइलो प्रतियोगिताले थकाली जाति र थकाली सभ्यताको चिनारी गराउन मद्धत गरेको छ।
स्मरणीय छ, नेपालको पहिलो आधुनिक थकाली रेस्टुराँ ‘मोनालिसा थकाली रेस्टुराँ’ हो। उद्यमी विमल शेरचन र उषा शेरचनले सन् १९८० मा पोखराको ड्यामसाइटमा रेस्टुुराँ खोलेका हुन्। हाल काठमाडौंको भाटभटेनीमा पनि यसको शाखा छ।
-1770024254.jpg)