छठ पर्वको झिसमिसेमा काठमाडौं निद्रामै थियो, तर त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवन भने दह्रो हाँसो, उत्साह र हिँड्ने बुटहरूको खटखटाहटले गुन्जिएको थियो। हामी १० जना (७ महिला र ३ पुरुष) साथीहरू थियौं। सबैको अनुहारमा एउटै चमक, एउटै प्रश्न थियो, ‘के हामी साँच्चै हिमालको आँगनमा पुग्नेछौं ?’
विमानले काठमाडौंको आकाश छिचोल्दै पोखरातर्फ उड्न थालेपछि, धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण सबै हिमाल सफा आकाशमा टल्किँदै थिए। तर पोखराको विमानस्थलमा हुस्स (कुहिरो) का कारण विमानले दमौलीमाथि चार फन्का मार्नुप¥यो। त्यो दृश्यले यात्राको पहिलो अध्याय नै लेखिसकेको थियो।
एक घण्टाको उडानपछि पोखराको शीतल हावाले स्वागत ग¥यो। फेवातालको सतहमा सूर्यका किरणहरू नाचिरहेका थिए। त्यहाँबाट झिनु डाँडासम्मको जिप यात्रा भने अर्कै कथा थियो। पक्की बाटो सकिएपछि जिप धुलामे बाटोमा हिचकिचाउँदै अघि बढ्थ्यो। कहिलेकाहीँ त खोला–बगरमाथि हिँडेजस्तो लाग्थ्यो। ड्राइभर भाइले हाँस्दै भने, ‘यी बाटोमा हिँड्नेहरू स्वर्ग पुग्न डराउँदैनन्।’ हामी पनि हाँस्यौं। आखिर, स्वर्गभन्दा सुन्दर यात्रामा त थियौं।
झिनुबाट ३ घण्टा उकालोमा शरीरको रगतले कपालसम्म धड्किरहेको अनुभव गरेका थियौं। वरिपरि हरिया वन, रुखका पातबाट तपतप पानीका थोपा चुहिँदै; टाढाबाट खसेको झरनाको आवाजले सबैलाई मोहित पारिरहेको थियो। छोम्रोङ पुग्दा साँझ परिसकेको थियो।

होटलका छानाबाट धुवाँ उडिरहेको थियो, तातो सूपको सुगन्ध आउँथ्यो। हामी हिमाल नजिकिएको महशुस गर्दै निदायौं।
बिहान, आकाश फेरि उदास, पानीले बाटो ढाक्यो, कुहिरोले दृश्य लुकायो। प्रकृतिले हाम्रो धैर्यको परीक्षा लिइरहेको अनुभूति भयो। त्यो दिन र रात दुवै छोम्रोङमै वित्यौं।
उज्यालो भयो। बोटलमा पानी, काँधमा झोला र मनमा हिम्मत बोकेर हामी फेरि बाटो लाग्यौं। छोम्रोङबाट तल सिँढीको लहर झर्दै, लौरी समात्दै, कहिले बिसाउँदै, कहिले अर्काको हात थाम्दै ओह्रालो यात्रा ग¥यौं। करिब १२ घण्टाको कठोर यात्रापछि दोभान पुग्दा हामी मौन थियौं। केवल खोला र झरनाको आवाज, कहिलेकाहीँ नजिकको पहिरोको गर्जन।
त्यो मौनतामा पनि सन्तोष थियो। कसैले फुसफुसायो, ‘हामी आइपुग्यौं।’ त्यो वाक्यमा विजयको मिठो अनुभूति थियो।
दोभानबाट अर्को बिहान माछापुच्छे« आधार शिविरतर्फ उकालो लाग्यौं। आधा बाटो पुग्दा आकाश खुल्ने अपेक्षा थियो, तर विपरित भयो। मुसलधारे वर्षाले यात्रा कठिन बनायो। शिरदेखि पैतालासम्म भिज्यौं। जुत्ता भारी भयो, शरीर निथ्रुक भिज्यो। कहिले हल्का झरी, कहिले मुसलधारे पानीले शरीर मात्र होइन, मुटुसम्म भिजायो। तर पनि हरेक मोडमा माछापुच्छे«को टुप्पो कुहिरोबाट झुल्किँदै भन्थ्यो ‘आऊ, म पर्खिरहेको छु।’
माछापुच्छे« आधार शिविर पुग्दा हिउँको हावा चलिरहेको थियो। होटलभित्र ग्याँस हिटर वरिपरि सबै न्यानोपन खोज्दै पसे। तर पाइएन। कसैले हाँस्दै भन्यो ‘लुगालाई मात्र होइन, आत्मालाई पनि सुकाऔं ।’
भिजेका जुत्ता र लुगाहरूले कोठा चिसो बनाइरहेका थिए। टेबललाई कम्बलले छोपेर मुनि हिटर बाल्यौं। एक घण्टाको रु. एक हजार रुपैयाँ, हरेकले सय रुपैयाँका दरले ति¥यौं, तर समाधान मिल्यो। त्यो न्यानोपन कपडाको मात्र होइन; त्यो हाँसो र मित्रताको ताप थियो, जसले हरेक सासमा भन्यो, ‘जीवन यही हो।’
अन्नपूर्ण आधार शिविरमा चिसोले गाला रातो बनाइसकेको थियो। होटलवालालाई ३ प्याकेट चाउचाउ पकाइदिन भन्यौं। पछि बिल आयो रु. ८००। कसैले हाँस्दै भन्यो, ‘यो त सुनको नुडल्स हो।’
हामी सबै हाँस्यौं। तर त्यो तातो नुनिलो झोलले भोक, चिसो र थकान सबै विर्सायो। त्यो चाउचाउ नै त्यस क्षणमा संसारकै स्वादिलो भोजन बन्यो।
बिहान आकाश खुलेको थियो। ताराहरू झिलमिल, माछापुच्छे«को टुप्पोमा चन्द्रमाको उज्यालो। हामी ५ बजे नै टर्च बाल्दै, जमेको ताल भएतिरको बाटो हुँदै अन्नपूर्ण आधार शिविरतर्फ हिँड्यौ। ४१३० मिटर उचाइमा पुग्दा, अन्नपूर्णको विशाल काय हाम्रा सामु उभिएको थियो। हामी ससाना धुलिका कणझैँ देखिन्थ्यौं। तर भित्रदेखि प्रफुल्लित भयौं। हिउँमा दौड्यौं, हाँस्यौं, उफ्र्यौं, बालकझैँ खेल्यौं।
हिउँसँग खेल्दा थकान हरायो; केवल आनन्द बाँकी रह्यो। करिब २ घण्टा आधार शिविरमा रमाई बिस्तारै तलतर्फ झर्ने क्रम सुरु गर्यौ। हामी ओरालो लाग्यौं, १९ किलोमिटर तल बेम्बो पुग्दा शरीर थकित थियो। तर बारीको कुनामा देखिएको सेतो मुलाले सबैको ध्यान खिच्यो। पौने किलोको मुला रु. ३००! सबै हाँस्यौं, यो त हिमालको अर्गानिक चाँदी रहेछ।’
त्यो मुला सलाद मात्रै होइन, यात्राको हाँसोको साधन बन्यो।
हिमालको बाटोमा खच्चरले दुईवटा ग्यास सिलिन्डर ढाडमा बोकेर ल्याउँदै थियो। त्यो जोखिमपूर्ण सिँढी र उकालो पार गर्दा एक सिलिन्डर पु¥याउनै एक हजार रुपैयाँ पर्छ रे!
हामी अचम्ममा प¥यौं। हामी हिँडेरै थाक्यौं, खच्चरले त भारी बोक्दै स्वर्ग र पृथ्वी जोडिदिएको। हिमालमा ऊर्जा, श्रम दुबै श्रद्धाको रूपमै पाइँदोरहेछ।
बास बस्दा रातको वर्षा र पहिरोको डरले मनमा अनिश्चितता थियो। भोलिपल्ट बिहान थप १३ किलोमिटर झर्दै झिनु डाँडा आइपुग्यौं। तातोपानीमा नुहाउने चाहना त थियो, तर यात्रा निरन्तर रह्यो। दुई दिनमा ३२ किलोमिटर हिँडेर साम्रोंग पुग्यौं। त्यहाँबाट गाडी चढेर पोखरा फर्कँदा सबैको अनुहारमा थकानसँगै सन्तुष्टि झल्किएको थियो।
राती १५ सिटे इभी गाडीमा फर्किँदा झ्यालबाहिर फेरि ताराहरू चम्किरहेका थिए। बिहान ५ बजे काठमाडौं पुग्दा आकाश उज्यालो हुँदै थियो।
यो यात्रा केवल १० जना (अञ्जु, उर्मिला, कल्पना, कोपिला, बिमला, बिजया, शोभाकर, प्रजापती, खेमराज) को पदयात्रा थिएन—यो सम्बन्ध, सहनशीलता, आत्मीयता, मित्रताको न्यानोपन तथा प्रकृति सान्निध्यको एउटा अनुभव थियो।
हिउँले सिकायो–नरम भएर पनि कठोर हिँडाइ सम्भव हुन्छ।
पानीले सम्झायो—जीवन हरेक मोडमा अनिश्चित हुन्छ।
मित्रहरूले देखाए—रमाइलोपन कठिनाइभित्र पनि फुल्न सक्छ।
हामी फर्किर्यौ तर लाग्छ हाम्रो कुनै अंश आज पनि त्यो हिमालमै बाँकी छ।