चितवन ।
आन्तरिक पर्यटन र ‘राइड टुरिजम’ प्रवद्र्धन गर्ने उद्देश्यले ‘राइड टु क्याराभान डोल्पा’ आयोजना गरिएको छ। हिमालयन राइडर्स चितवनको आयोजनामा भएको सहासिक यात्राले ६ दिनमा नेपालका ४ प्रदेश र १६ जिल्लालाई जोडेको छ ।

चैत ११ गते भरतपुर उद्योग वाणिज्य संघबाट सुरु भएको यात्रा चैत १६ गते चितवन फर्किएर समापन भएको हो। टोलीले १२५२ किलोमिटरको दूरी तय गरेको छ। राइडरहरू चैत १३ गते डोल्पा पुगेका थिए।
उनीहरू २० ओटा बाइकमा २३ जनाले यात्रा गरेका थिए।
पर्यटन र सडक सुरक्षाको सन्देश
सडकमा अनुशासित ढंगले गुडिरहेका राइडरहरू र उनीहरूको टल्कने ज्याकेटले सर्वसाधारणको ध्यान खिचेको थियो। प्रत्येक बाइकमा फरक फरक झण्डा फरफराउँदै राइडर गन्तव्यतर्फ बढिरहेको दृश्य रोचक देखिन्थ्यो।
‘नेपालका सुन्दर पहाडी र हिमाली क्षेत्रलाई मोटरसाइकल यात्रामार्फत् चिनाउनु नै हाम्रो मुख्य हो’, कार्यक्रमका संयोजक अमृत जोशीले भने।

उनीहरूले डोल्पामा सरोकारवालाहरुबीच ‘राइड टुरिजम’का सम्भावनाबारे छलफल पनि गरेका थिए। ओझेलमा परेका पर्यटकीय स्थलहरूको उजागर गर्न र सडक सुरक्षाको सन्देश फैलाउन यो यात्रा सफल भएको हिमालयन राइडर्सका सहसंयोजक तथा चितवन अटोमोबाइल एसोसिएसनका अध्यक्ष मोहन केसीले बताए।
टोलीले चितवनबाट सुरु गरी तनहुँ, कास्की, पर्वत, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, डोल्पा, जाजरकोट, सुर्खेत, सल्यान, दाङ, कपिलवस्तु, रूपन्देही हुँदै नवलपरासी पूर्व र पश्चिमका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणसमेत गरेको छ।

राइडमा सहभागी हुँदा नयाँ अनुभवका साथै आन्तरिक पर्यटन बुझ्ने अवसर मिलेको नासा बागमतीका अध्यक्ष राजन पियाले बताए।
‘यो यात्राले नेपालमा साहसिक पर्यटन र राइड टुरिजमको राम्रो सम्भावना रहेको पुष्टि भएको छ,’ उनले भने ।