काठमाडौं ।
‘किसानका साथी’ लाटोकोसेरो चराको संरक्षणमा जोड दिँदै पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी वैशाख १८ र १९ गते दाङ जिल्लाको लमहीस्थित जैविक विविधता पार्कमा ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ मनाइँदैछ। ‘अजम्बरी सामुदायिक वन’ र ‘प्रकृतिका साथीहरू’ नामक संस्थाको आयोजनामा हुने महोत्सव संस्कृति, संरक्षण र मनोरञ्जनको सङ्गम बन्ने आयोजकको विश्वास छ।
राजु आचार्य, निर्देशक, प्रकृतिका साथीहरू
‘महोत्सवले चराको महत्व सम्बन्धी जनचेतना जगाउन मद्दत गर्नेछ’, आयोजक संस्था ‘प्रकृतिका साथीहरू’का निर्देशक राजु आचार्य भन्छन्, ‘यसले चोरी निकासी रोकथाममा पनि मद्धत पु¥याउँछ। साथै महोत्सवस्थलको पर्यापर्यटनको विकासमा समेत टेवा पुुग्दछ।’
‘प्रकृतिका साथीहरू’ को अगुवाइमा विगत १३ वर्षदेखि देशका विभिन्न ठाउँमा यस्तो महोत्सव हुँदै आएको छ। विगतमा हरेक वर्ष फेब्रुअरी महिनाको पहिलो शुक्रबार र शनिबार हुने गरेकामा यसपाला आम निर्वाचनका कारण पछि धकेलिएको हो। स्मरणीय छ, संसारमा नेपाल, भारत, अमेरिका र इटालीमा यस्तो महोत्सव मनाइन्छ।
भिडियो :
को हुन् संरक्षणकर्मी राजु आचार्य ?
‘प्रकृतिका साथीहरू’ नामक संस्थाका निर्देशक राजु आचार्य विगत तीन दशकदेखि वन्यजन्तु अध्ययन र संरक्षणमा सक्रिय छन्। पछिल्लो समय उनी लाटोकोसेरो संरक्षणमा केन्द्रीत छन्।
उनी ‘एसियन साइन्टिस्ट’ पत्रिकाले प्रकाशित गरेको एसियाका उत्कृष्ट सय वैज्ञानिक सूचीमा पनि सफल भइसकेका छन्। सन् २०१६ देखि हरेक वर्ष, एसियाली वैज्ञानिक पत्रिकाले एसियाका उत्कृष्ट अनुसन्धानकर्ताको सूची सार्बजनिक गर्दछ।

यसैगरी आचार्यले सन् २०२४ मा गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षण परियोजनाका लागि बेलायतको ह्ट्ली अवार्ड फन्ड फर नेचरबाट ‘ह्ट्ली अवार्ड’ प्राप्त गरेका थिए। लन्डनमा आयोजित कार्यक्रममा बेलायती राजकुमारीले उनलाई उक्त अवार्ड प्रदान गरेकी थिइन् । पुरस्कार स्वरुप प्राप्त ५० हजार पाउन्ड लाटोकोसेरो संरक्षणमा खर्च गरिएको छ।