काठमाडौं
पर्यटकीय नगरी पोखरा नजिकैको सुन्दर हिलस्टेसन ‘पन्चासे’ (२,५१७ मिटर)मा ललितपुरको प्रकृतिप्रेमी समूहका सदस्यहरूले स्वास्थ्यवद्र्धक पदयात्रा गरेका छन्। उनीहरूले शाकाहारी भोजन गरेर पदयात्रा मार्फत् उचित आहार, विहार र विचारको सन्देश प्रवाह गरेका हुन्।
जैविक विविधताको फूलबारीका रुपमा प्रख्यात पन्चासेमा प्रकृतिप्रेमी समूहका सदस्यहरूले पदयात्रा गरेर सकारात्मक सन्देश दिएका छन्।

समूहकी सचिव एवम् ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक राम देवी महर्जनको नेतृत्वमा काठमाडौंबाट गएको २३ जनाको समूह तीन दिने पदयात्रा सफलतापूर्वक पुरा गरेर आइतबार फर्केको छ।
तालिबराङस्थित होमस्टेमा गुरुङ पहिरनमा हाइकिङविज्ञ राम देवी महर्जन
चैत १३ गते उनीहरू ललितपुरको सातदोबाटोस्थित समूहको कार्यालय ‘निरोगधाम’बाट गाडीमा पोखरा, नौडाँडा हुँदै भदौरे देउराली नजिकको तालिबराङ गाउँमा पुगेर बास बसेका थिए। गाउँमा पुग्ने बित्तिकै स्थानीय तमुह्युला सामुदायिक होमस्टेले स्वागत गरेको थियो।


साँझको खानाअघि उनीहरू सांस्कृतिक कार्यक्रममा सहभागि भएका थिए। कार्यक्रममा पर्यटन अभियन्ता नवराज पौडेलले पदयात्रीको स्वागत गर्दै पन्चासेको जैविक विविधताका विषयमा जानकारी गराए। त्यसैगरी पदयात्रा संयोजक महर्जनले पनि प्रकृतिप्रेमी समूहको बारेमा बताएकी थिइन्।

त्यहाँ पुुग्दा पानी बिर्बिराएको थियो। राती ठुलो पानी प¥यो। बिहान तिनै पर्यटन अभियन्ता पौडेलको सहयोगमा पदयात्रीहरू पन्चासेको उकालो उकालिएका थिए। उनीहरूले ठाउँठाउँमा ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने स्वास्थ्यको मूल मन्त्रोच्चारण गरेका थिए।


भदौरे देउरालीबाट उकालो लागेपछि शान्त घना जङ्गलमा उनीहरूले पदयात्रा गरे। यस पदमार्गलाई ‘सुनाखरी पदमार्ग’का रुपमा ब्रान्डिङ गरिएको छ। हरेक रुखमा सुनाखरीका लहरा जेलिएका छन्। कतैकतै सुनाखरी फूलेका पनि छन्। विशेषतः बर्खामा धेरै फूल फुल्छन्।
सुनाखरी
पदमार्गमा ठाउँठाउँमा गुराँस फुलेका देखियो। चराको चिरबिर सुुन्दै चिसो हावामा हिँड्न पाउँदा पदयात्री रोमाञ्चित बने। मौसम सफा नभएकाले उनीहरूले हिमालको दर्शन गर्न भने पाएनन्।

उनीहरू करिब ५ घण्टा उकालो चढेर पन्चासेको टाकुरामा पुुगे। त्यहाँका सिद्ध बाबा, र देवी मन्दिर दर्शन गरे। टाकुरामा बौद्ध चैत्य, ऋषिमुनिले ध्यान बसेका गुफा आदि धार्मिक सम्पदा पनि अवलोकन गरे।

त्यसपछि उनीहरू भन्ज्याङ झरेर सिधाने गाउँ हुँदै मकानपुर गाउँसम्म पदयात्रा गरे। यसरी शनिबार उनीहरूले करिब १७ किलोमिटर पदयात्रा गरे। अपरान्ह मकानपुरको होमस्टेमा पुुगेर बास बसे।
भोलिपल्ट अर्थात् आइतबार बिहान उनीहरू दुुई घण्टा ओरालो झरेर घाँटीछिना पुुगे। घाँटीछिनामा फेवातालको पानीको स्रोत हर्पन खोलाको मुहान छ।
घाँटीछिनाबाट पदयात्रीहरू पोखरा हुँदै काठमाडौं फर्के। पन्चासे पदयात्राबाट नवीन ऊर्जा बोकेर फर्किएका हुन्।

स्मरणीय छ, प्रकृतिप्रेमी समूह नेपालमा प्राकृतिक स्वास्थ्यका पक्षमा पैरवी गर्दै आएको संस्था हो। यसले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँछ भने बेलाबेलामा लामो दुरीको टे«किङ पनि गराउँछ।
समूहको पदयात्रामा मासु, मदिरा, जङ्कफुड र फास्टफुड निषेध हुन्छ। स्वास्थ्यवद्र्धक खाना मात्र खुवाइन्छ।

जैविक विविधताको फूलबारी
तीन जिल्ला कास्की, पर्वत र स्याङ्जाको सङ्गम हो, पन्चासे। यहाँ पाँच पवित्र टाकुरा छन्। सिद्ध वराह, पञ्चशील बुद्ध, कुटी, पञ्चकोसी ताललगायत सम्पदा यहाँका आकर्षण हुन्।
-1774866892.jpeg)
पन्चासे क्षेत्र प्राकृतिक, सांस्कृतिक र धार्मिक हिसाबले महत्वपूर्ण छ। यहाँबाट हिमालको लामो लर्कन देखिन्छ। धौलागिरि, अन्नपूर्ण, माछापुच्छे«देखि लमजुङ हुँदै मनास्लु हिमालसम्म। सूर्योदय र सूर्यास्तको दृश्य पनि आकर्षक देखिन्छ।
माछापुच्छे« हिमाल (फाइल तस्बिर)
जैविक विविधताको बगैंचा हो पन्चासे। यहाँ ६ सयभन्दा बढी प्रजातिका वनस्पति र ३६ प्रजातिका जडीबुटी पाइन्छन्। यसलाई सुनाखरीको राजधानी भनिन्छ। यहाँ १४३ थरी भन्दा बढी प्रजातिका सुनाखरी पाइन्छन्। यहाँको जङ्गलमा थरीथरीका चरा र जनावर पाइन्छन्।
अन्नपूर्ण र माछापुच्छे« हिमसृङ्खला
पन्चासे ५,७७५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यस क्षेत्रको उचाइ ७८४ देखि २,५१७ मिटरसम्म छ।
पन्चासेबाट थुप्रै खोला बगेका छन्। फेवातालको मुहान हर्पन खोलाको मूल पन्चासे नै हो। आँधिखोला, रतीखोला, जरेखेला र सेतीखोलाको मुहान पन्चासे नै हो। यहाँ एउटा पञ्चकोसी ताल छ, जङ्गल बिचमा ताल। किनारमा बाराही मन्दिर।
पञ्चकोसी ताल ।
यस क्षेत्रमा बाला चतुर्दशी, शिवरात्री, फागु पूर्णिमा र बुद्ध पूर्णिमामा मेला लाग्छ।
पन्चासेलाई ध्यान र योग केन्द्रका रूपमा विकास गर्न सकिन्छ। यहाँको शान्त र शीतल वातावरणले तन र मनमा ऊर्जा बढाउँछ।
सुनाखरी
पन्चासेका काखमा सुन्दर गाउँहरू छन्। यी गाउँमा गुरुङ, बाहुन, क्षेत्री, विश्वकर्मा, परियार, नेपाली, मगर र नेवार लगायत जातजातिको बसोबास छ। सबैतिर होमस्टे सुविधा पाइन्छ। पन्चासे टाकुरामुनिको भन्ज्याङमा होटलहरू पनि छन्।
घुमन्तेहरूले दुई रात बिताउने गरी यात्रा योजना बनाउनु पर्दछ।


तमुह्युला सामुदायिक होमस्टे
पन्चासेको काखमा रहेको तालिबराङ गाउँमा ‘तमुह्युला सामुदायिक होमस्टे’ सञ्चालित छ। यो गाउँ अन्नपूर्ण गाउँपालिका वडा नं. ४ मा पर्दछ। यहाँ मिठो खाना र आतिथ्य पाइन्छ। गुरुङ बस्ती तालिबराङका १४ घरमा होमस्टे सुविधा छ। यहाँ एक रात बसेको प्याकेज १३ सय रुपैयाँ पर्दछ। यसमा वेलकम स्न्याक्स, डिनर, बेड र ब्रेकफास्ट सुविधा पाइन्छ। साँस्कृतिक कार्यक्रमको भने छुुट्टै रकम पर्छ।
तारादेवी गुरुङ, अध्यक्ष, तमुह्युला सामुदायिक होमस्टे
होमस्टेकी अध्यक्ष तारादेवी गुुरुङ भन्छिन्, ‘हामीले अर्गानिक खानामा जोड दिएका छौंं। त्यसैले गाउँकै उत्पादन खुवाउँछौं।’

तालिबराङबाट करिब ४ घण्टा पदयात्रामा पन्चासेको टाकुरामा पुुगिन्छ।
सम्पर्क ; ९८४६८५७९८३
माउन्टेन रेन्ज होमस्टे
पन्चासेको काखमा अर्को सुन्दर गाउँ छ, मकानपुर। यो गाउँ पोखरा महानगरपालिका–२३ नम्बर वडामा पर्दछ। यहाँबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छे« हिमालको लामो लर्कन देखिन्छ।
परम्परागत शैलीको पुरानो घरमा चलाइएको होमस्टेमा २० जना पाहुना आरामले बास बस्न सक्छन्। स्थानीय युवा सुमन घलेले ‘माउन्टेन रेन्ज होमस्टे एन्ड क्याम्पिङ’ सुुरु गरेका हुन्।
सुमन घले, होमस्टे सञ्चालक
पोखरा नजिकैको गाउँ भएकाले हाइकिङका लागि मकानपुर उपयुक्त छ। साथै पन्चासे पदयात्रा गर्नेहरूका लागि पनि सुन्दर गन्तव्य हो। पोखराको घाँटीछिनाबाट अढाई घण्टा पदयात्रामा होमस्टेमा पुगिन्छ। त्यहाँबाट करिब ४ घण्टामा पन्चासे पुुग्न सकिन्छ।
होमस्टेमा प्रकृतिप्रेमी समूह
‘गाउँमै इलम गरौं भनेर होमस्टे खोलेको हुँ’, ३४ वर्षे घले भन्छन्, ‘तपाईं पनि आउनुस्, हामी पारिवारिक वातावरणमा खाना र बास सुविधा दिन्छौं।’
सम्पर्क : ९८१८२९७८८९
पन्चासेका ‘इन्साइक्लोपेडिया’
पन्चासे पदयात्रा गर्न वा पन्चासेको जैविक विविधताबारे जानकारी लिन उनलाई सम्पर्क गर्दा उनी खुसी हुन्छन्। उनी हुन्, २८ वर्षे तन्नेरी नवराज पौडेल। कास्कीको अन्नपूर्ण गाउँपालिका–४ निवासी पौडेल दिगो पर्यटनमा समर्पित छन्।
नवराज पौडेल, संरक्षणविज्ञ
उनी पन्चासे क्षेत्रको जैविक विविधता संरक्षण अभियानमा क्रियाशील छन्। पन्चासेका बारेमा मनग्गे जानकारी भएकाले उनलाई ‘पन्चासेका इन्साइक्लोपेडिया’ भने फरक पर्दैन। उनले वन्यजन्तु चोरीसिकारी नियन्त्रण र पर्यापर्यटन प्रवद्र्धनमा पैरवी गर्दै आएका छन्। इको पर्यटन प्रवद्र्धनका विषयमा पनि उनी सचेत छन्। जोस र होस दुवै भएका युवा हुन्।
उनले अन्नपूर्ण गाउँपालिकामा पर्यापर्यटन शाखा र जैविक विविधता अध्ययन अनुसन्धान शाखा स्थापना गर्न आवाज उठाउँदै आएका छन्। भन्छन्, ‘पर्यटन मार्फत् रोजगारी सिर्जना गर्दै युवालाई गाउँमै अवसर जुटाउन म सङ्घर्षशील छु।’
संरक्षणविज्ञ नवराज पौडेल, हाइकिङविज्ञ राम देवी महर्जन र होमस्टे सञ्चालक सुमन घले
उनी राम्रो कथावाचक पनि हुन्। पन्चासेको जैविक विविधता, धार्मिक तथा सांस्कृतिक अवस्था आदिका विषयमा रोचक ढङ्गले वर्णन गर्छन्। त्यसैले उनलाई अघि लगाएर पन्चासे पदयात्रा गर्दा धेरै रमाइलो हुन्छ।
सम्पर्क : ९७६५६४५०६५
पन्चासे कसरी पुग्ने ?
काठमाडौंबाट पोखरासम्म बसमा ६ घण्टा। त्यसपछि हल्लनचोकबाट पन्चासे भन्ज्याङसम्म २९ किलोमिटर सडक यात्रा। बसमा करिब डेढ घण्टा लाग्छ। पोखराको हल्लनचोकबाट घाँटीछिनासम्म नियमित बस छुट्छन्। निजी सवारी साधन र मोटर बाइक भन्ज्याङसम्मै पुग्छन्। भन्ज्याङबाट डेढ घण्टा उकालो चढेमा पन्चासेको टाकुरामै पुगिन्छ।

पदयात्रा भने धेरैतिरबाट गर्न सकिन्छ। कास्कीको भदौरे तामागी, तालिबराङ र कालाबाङबाट, स्याङ्जाको आर्थरडाँडाखर्क र पर्वतको चित्रे गाउँबाट पन्चासेमा पदमार्ग जोडिएका छन्।
पदयात्राका थप तस्बिरहरू
कृष्ण सुदन महर्जन, ८१ वर्षे पदयात्री
रत्नमाया महर्जन



शिवदास श्रेष्ठ र बिन्दिरा प्रधानाङ्ग
उषा सुवेदी र रमेश
सुनिता र अमिता अवाले
राजु पुडासैनी र रमेश सुवेदी


सुदर्शन बिष्ट
