१. कर्णालीको कथा
यो देशको मुटुको एउटा कुनामा
मुटुको रोग लागेर छुट्पटाइरहेछ कोही।
यो देशले नयाँ नयाँ सरकार जन्माइरहँदा
नयाँ नयाँ शासक जन्माइरहँदा
प्रसव पीडाले जीवन गुमाइरहेका छन् आमाहरू।
यो यही देशको कथा हो।
हिउँदको बतासजस्तै उराठलाग्दो सुस्केरा हाल्दै बिहानको घामजस्ता कलिला नानीहरू
झोलामा सुनौलो भविष्यका सपना बोकेर
कहिले तुइन चढ्छन्, कहिले खोला तर्छन् ।
कहिले सपना भिज्छन् कहिले भविष्य बग्छन् ।
यो यही देशको कथा हो।
राजमार्गमा कोही साइरन बजाउँदै हुइँकिरहँदा
कोही भिरबाट लडेर उपचार नपाएर
जीवनको भिख माग्न विवश छन्
त्यो आर्तनाद आवाज सकस लाग्छ ।
जीवनभर सत्ता र सरकारले नसुनेको त्यो आवाज
अहिले कसले सुन्छ, यो यही देशको कथा हो।
जीवनको यात्रामा उकालीपछि ओराली आउँछ भन्छन्
तर यो कस्तो यात्रा हो
अजङ्गका पहाडै पहाडको यात्रा
आँसु बगिरहने नुनिला खोला खोल्साको यात्रा।
एकपछि अर्को, एकपछि अर्को, एकपछि अर्को
यो यही देशको यात्रा हो
जस्तो पर्यटक भएर एकदिन क्यामेराले कैद गरेको दृश्य जस्तो हैन ।
सामाजिक सञ्जालमा ब्युटिफुल भनेको जस्तो हैन।
यो यही देशको कथा हो
चिरा परेका घाउहरू देखेर तर्सिन्छन्
मलम र औषधीका खोल,
सरकारले वर्षौंसम्म डसेर नमरेका चेलीहरू
छाउगोठमा सर्पले डस्दा मर्छन् एकैपटक ।
सधैँझैँ मेरा पसिनाको गन्ध सुँघेर तर्किन्छ
निकास नपाउने विकासको बाटो ...
यो यही देशको कथा हो।
बेला बेला म नपुगेको होइन
तिम्रो कर्कशलाग्दो संसद् भवनभित्र,
जहाँ मेरो भोको पेटको कुरा उठ्दा
तिमी लगाइदिन्छौ काउकुती
र हाँस्दै पिटिदिन्छौ गड्गड् ताली
सायद यो तपाईंको कथा हुन सक्छ नहुनु सक्छ
यो मेरो कथा हो यो कर्णालीको कथा हो।
२. सडकको चित्कार
म सडक
सडक अर्थात् बाटो
बाटो – मार्ग, मार्ग – बाटो
यहाँ टेक्ने पाइलाहरू उदाउने मात्र होइन,
अस्ताउने पनि गर्छन्।
म सडक—
मौन छु
मेरो आफ्नै पिरव्यथा ताज बनेको छ
तर पनि मैले आफ्नो शिरमाथि
पृथ्वी जत्तिकै गरुङ्गो देश बोकेको छु
शासकहरूका काँडेतार पाइलाको
अस्त्र छातीमा रोपेर।
म सडक
पल्टिएको छु यो देशको व्यवस्थाजस्तै
उठ्नै नसक्ने गरी
गाडीका टायरहरूले थिचेका छन्
मैमाथि तिम्रै विरुद्धका जुलुसहरू लामबद्ध भएर
जलाउँछन् तिम्रो पुत्ला, जसको कर्रो गन्धले
मेरो औनारीलाई पिरो बनाउँछ
तिम्रो इतिहासदेखि अहिलेसम्मकै
सबै बयानहरू बोल्न नसक्ने म लाटो साक्षी हुँ।
म सडक
धुलाम्मे माटोको बर्कोले जिउभरिको घाउ ढाकेर
मेरो बिहानको सुरुवात हुन्छ
चर्को हर्नको आवाज, तीव्र ब्रेकको ठक्कर
र सपनाहरूको चिहान बनेर
रगताम्मे भएर पोतिन्छु
मानव सभ्यताकै कारुणिक दुखाइहरू छातीमा टाँसेर
बारम्बारको मेरो चीत्कार र त्रासका साथमा।
म सडक
ठ्याक्कै यतिबेला तिम्रो हातको न्युज पेपर बनेर
हेडलाइनमा लेखिएको छु
‘राप्ती राजमार्गमा बस दुर्घटना’
दुर्घटनामा परी चालकसहित बिस जना यात्रु......
हेलो ! ल, म हिँडिहाले मन्त्रीज्यू,
तिमी देखेको नदेख्यै गरी झोला बोकी दौडिन्छौ।
पार्टी कार्यालय...।
कल्पना पलक
३. खुट्किला
हरिबहादुर हरेक रात
यो गाउँ निदाइसकेपछि
खोल्छ
आफ्ना उदासीन आँखा,
निस्पट्ट अध्यारोमा सल्काउँछ आरन
रातो, तातो दन्किएको
जो आफ्नै छातीभित्र सल्किएको छ,
उ तताउँछ आरनमा बेस्सरी आफूलाई
पिट्छ दिनभरको थकान सम्झेर
चढाउँछ आफ्नै जिउभरि पाइन्,
जो वर्षातको खोलाजस्तै धमिलो छ।
उसलाई थाहा छ !
आरनमा पिटिँदा
खिइनुपर्छ,
टुव्रिmनुपर्छ,
चोइटिनुपर्छ ,
बाङ्गिनुपर्छ
तर पनि आफै“लाई ठोकिरहेछ हतौडाले,
बलियो फलामको छातीमा सुताएर,
जहाँनेर निकाल्नु छ धारिलो धार ... ।
हरि बहादुर भर्खरै पच्चिसको खुट्किलामा उक्लिएको छ,
सकिँदैन भन्छ रहरै रहरमा उक्लिएका खुट्किला छुन,
पाइलाहरू लड्बडाइरहेका छन्,
बाँकी खुट्किला भेट्न,
पुस्तौनी खानदानको बिँडो थाम्नै पर्ने बाध्यताले,
नामेट भएका छन्, बचपनका रसिला, हँसिला खुट्किलाहरू,
बाँकी छन् त केवल लावा बनेका भयानक वर्तमानहरू।
भर्खरै बिस्फोट भएको ज्वालामुखीको
ज्वारभाटामा टेकेर उसले
दन्काइरहेछ मुडोजस्तो ,
पृथ्वीभन्दा गरुङ्गो जिन्दगीलाई
धुवाँ बनाएर बादल छिचोल्ने आशमा,
टाउकोमाथि जाँतो राखेर
घुमाइरहेको छ पैतलामा हतासो ...
जाँतोमा पिसिरहेछ उसको जिन्दगीलाई
पोखिरहेछ नुनिलो र रगताम्मे मसी
जसले कोर्दैछ जीवनको नक्सा,
आफ्नै जीवनको अन्तिम विन्दु सिँगार्न ।