काठमाडौं ।
उत्तरी गोरखामा पर्ने मनास्लु पदमार्गमा अवस्थित पुरातात्विक महत्वको एउटा गुम्बालाई युनेस्को विश्व सम्पदामा सूचीकृत गर्न स्थानीयले माग गरेका छन्। सामागाउँमा रहेको पाँच सयभन्दा पुरानो ‘पेमा छोलिङ गुम्बा’ मा संसारको ध्यान खिचेर सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ।
पेमा छोलिङ गुम्बा । तस्बिर : अमृत भादगाउँले
गुम्बामा माटो र तामाका मूर्ति छन्। यसमा गुरु रिम्पोछे (पद्यसंभवका) का तीन ओटा मूर्ति छन्। साथै दोर्जे फाक्मो (बज्रवाराही), थाउजेन्ड आम्र्स अवलोकितेश्वर (नाम्खी ग्याल्पोका मूर्ति पनि।
गुम्बाभित्र काठमा लेखिएका पुराना चित्र (थाङ्का) छन्। त्यस्तै तिब्बतको ल्हासाबाट ल्याइएका काठमा हस्तलिखित धार्मिक ग्रन्थ, हातैले लेखिएका सिक्स परमिता (दान, शील, शान्ति, वीर्य, ध्यान, प्रज्ञा) आदी बहुुमूल्य सामान पनि छन्।
मनास्लु हिमाल । तस्बिर : अमृत भादगाउँले
‘हामीले आफ्नो तर्फबाट यसको संरक्षण गर्दै आएका छौं’, सामागाउँका धर्म गुरु जिग्मे लामा भन्छन्, ‘हाम्रो प्रयासले मात्र पुगेन। यसलाई विश्व सम्पदा सूचीमा राखेर संरक्षण गर्न सरकारले पहल गर्नु पर्दछ।’
पेमा छोलिङ गुम्बा र यसका शाखाहरूलाई संरक्षण गर्न ढिलाई गर्नु नहुने उनी बताउँछन्। यसका शाखाहरूमा पुङ्गेन गुम्बा, माने खाङ, नाल्जोर फुक आदि पर्दछन्।
गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१, सामागाउँमा रहेको यो गुम्बा लामा टासी नाम्ग्यालले स्थापना गरेका हुन्। उनकै सन्तान यहाँ लामा हुने परम्परा छ।
पद्यसंभव
यस गुम्बामा लामाहरू ध्यानमा बस्छन्। ज्येष्ठ नागरिकहरू गुम्बा परिसरमै बसेर ध्यान तथा पूजापाठ गर्छन्।
धर्मगुरु जिग्मेका अनुसार मनास्लु हिमाल आफैंमा पवित्र छ। गुरु रिम्पोछेले यसमा बहुमूल्य चिज थुपारेको धार्मिक विश्वास छ। तिब्बतमा अवस्थित कैलाश पर्वतको जत्तिकै यसको ठुलो महत्व छ। त्यसैले स्थानीयहरू मनास्लु तिर्थ गरेर पुण्य लाभ गर्दछन्।
मनास्लु हिमालको बेस क्याम्प पुङ्गेनमा चार सय वर्ष पुरानो गुम्बा, चैत्य र माने छन्। साथै सामागाउँको प्रवेशद्वारमा ‘माने खाङ’ छ। यो पुरानो चैत्य हो। यसभित्र गुरु रिम्पोछेको कपाल राखिएको विश्वास गरिन्छ। यहाँ पनि माने र मन्त्र लेखिएका सयौं वर्ष पुराना ढुङ्गा छन्।
पुङ्गेन
सामागाउँको अर्को महत्पूर्ण सम्पदा हो, नाल्जोर फुक। ‘नाल्जोर’ भनेको योगी, ‘फुुक’ भनेको गुफा। महायोगी मिलारेपाले ध्यान गरेको गुफा। ढुङ्गाको गुफालाई गुम्बाको रुप दिइएको छ।
मनास्लु आफैंमा टे«जरको थुप्रो हो, यिनलाई रक्षा गर्ने देवतालाई ‘पुङ्गेन’ भनिन्छ। उनको नाम दोर्जे ढाक्के हो। उनले मिलारेपासँग ज्ञान लिएको मानिन्छ।

बौद्ध सम्पदा संरक्षणमा राज्य किन उदासिन ?
उनी सामागाउँका प्रमुख लामा कर्मा लामाका जेठा छोरा हुन्। कर्मा ७९ वर्षका भए। गाउँमा जेठो छोरा प्रमुख लामा हुने चलन छ। उनी अर्थात् जिग्मे लामा मनास्लुका धर्म गुरु हुन्। उनी आफ्ना पितालाई धर्मकर्ममा सघाउँदै आएका छन्।
जिग्मे लामा, धर्म गुरु, सामागाउँ
हिमाली भेगका धार्मिक सम्पदा संरक्षणको पर्खाइमा जीर्ण हुँदैछन्। यस्ता महत्वपूर्ण बौद्ध सम्पदा संरक्षणमा राज्य किन उदासिन छ ? लामा जिग्मेको नेतृत्वमा पेमा छोलिङ गुम्बा संरक्षण गरेर खुला साँस्कृतिक सङ्ग्रहालयमा रुपान्तरण गरिएको छ। हिमाली भेकका बौद्ध सम्पदा, संस्कार र संस्कृति संरक्षण गर्नु आवश्यक देखिन्छ। यसलाई विश्व सम्पदामा सूचीकृत गर्न सके संसारको ध्यान खिचिन्छ। उनी भन्छन्, ‘हामीले संरक्षणका लागि सक्दो प्रयास गरेका छौं। अब राज्यले यसको जिम्मेवारी लिनुपर्दछ।’
सामागाउँमा पर्यटक दुई रात विताउँछन्। उनीहरू प्रायः मनास्लु बेस क्याम्प र पुुङ्गेन मात्र घुम्छन्। सामागाउँलाई नै केन्द्र मानेर धेरैतिर घुम्न सकिन्छ। यिनै लामाको परिकल्पनामा ‘सामागाउँ सर्किट’ बनाइएको छ। यसमा स्याला–पुङ्गेन, मिमिखर्क–सामागाउँ–बेस क्याम्प–मिलारेपा केभ–साम्दो–ग्याला पास–वासाङ–धर्मशाला–लार्केपास पर्दछन्।