इक्कु इक्कु ! भन्छन् मलाई
इक्कु ! इक्कु ! भन्छन् मलाई
किन इक्कु इक्कु भन्छन् मलाई ?
फिलिमको इक्कु नभए पनि
कामको इक्कु भनेर
सबैले चिन्छन् मलाई
इक्कु ! इक्कु !
मान्छे दगुराउने भिरको ओरालीमा
तपतप पसिना चुहाउँदै
बालुवाको गह्रुँगो भारी बोकेर उकालीमा
गिट्टीको गहुँँगो भारी बोकेर उकालीमा
एकछिन बिसाएर बिसौनीमा
थकित–थकित मुद्रामा
आश्चर्य चकित मुद्रामा
मनमा कुरा खेलाउन थाल्छु
बालुवा नभए
गिट्टी, ढुङ्गा नभए
घर कसरी महल भएर ठडिन सक्छ ?
ठेकेदार ठगदारमा परिणत भए पनि
पैसा हातको मैलाझैं हराए पनि
श्रमजीवी मजदुरको मुहारमा
जब पसिना मोतीझैं टल्किन थाल्छ
तपतप थोपाथोपमा मिहिनेत झल्किन थाल्छ ।
जति दुःख गरे पनि नपुग्ने
दुःख लुकाएर नलुक्ने
सुख फुकाएर नफुक्ने
जिन्दगी
कहिले रोगसँग लड्नु पर्दो रहेछ
कहिले भोकसँग भिड्नु पर्दो रहेछ
दुःख, सुख, भोक, शोक, र रोग रहेछ जिन्दगी
म, म भए पनि, म अरु कोही भए पनि
बालुवा, गिट्टी, ढुङ्गा नबोकी पैसै बोके पनि
बेलाबेलामा रक्सी धोके पनि
के गर्ने, पिउन मन लाग्छ, पिउँछु
यसैगरी मलाई जिउन मन लाग्छ, जिउँछु
इक्कु ः मेरो नाम होइन,
कसैले राखिदिएको उपनाम हो ।
भारी बोकी खाने मेरो काम हो ।
.

अनाम सत्य
धरोधर्म
अनाम सत्य
तिमी भर्खर जन्मेको बालक
मोहनीमय छ
तिम्रो रुप लावण्ययुक्त छ
बान्की परेका अङ्गहरू
म कल्पना गर्छु
मन–मस्तिष्कको बैठक कोठामा
गहिरो बहस हुन्छ
गहिरो छलफल हुन्छ
ख्यालख्याल हुँदैन
हेलचेक्र्याइँ हुँदैन
ख्यालठट्टा मन पर्दैन
नाम–नाम हुन सक्छ
नाम उपनाम हुन सक्छ
नाम सुनाम हुन सक्छ
नाम नभएको नाम अनाम हुन सक्छ
तर कसरी नाम अनाम हुन सक्छ ?
नाम जुराउँदैछु मनमा
नाम फुराउँदैछु मनमा
तिम्रो बालवय सम्झेर
किशोरवय सम्झेर
युवावय सम्झेर
बृद्धवय सम्झेर
दुःख, दर्द, पीडाको प्रसव पोखरी सम्झेर
कतै ओत लागेको छ मन ।
बिहानको लालीमा
मध्यान्हको दिनमा
साँझपछिको रातमा
बितेर गैजाने भूतको
अब हुने वर्तमानको
पछि हुने भविश्यको
धरोधर्म
अनाम सत्य
तिम्रो नाम यै भयो
अनाम सत्य, नाम सत्य
तिमी भर्खर जन्मेको बालक
तिमी ठूलो–ठूलो हुनू
ज्ञानी, ध्यानी बन्नू
वैभवशाली÷प्रभावशाली बन्नू
बेगवान घोडा जस्तै
बलियो हात्ती जस्तै
शक्तिशाली हुनू
तर बिन्ती !
भ्रष्ट ब्वाँसाहरूको हुलमा उभिएर
हिँस्रक बाघ नहुनू
हिँस्रक सिंह नहुनू
भाव्यवान् ! तिमी भाग्यमानी हुनू
परनिर्भर नहुनू
आत्मनिर्भर हुनू
दुई ढुङ्गा बिचको तरुल होइन, हिरा बनेर
उडेर जून छुनू
उडेर घाम छुनू
धरोधर्म
अनाम सत्य, नाम सत्य
तिमी भर्खर जन्मेको बालक
.
सिकारी जुकाहरू
थाहै नपाई सिकारी जुकाहरू
भोकाएका लोभी र निडर जुकाहरू
आउँछन् पैतालाको बाटो भएर
जुके बित्ता नाप्दै उक्लेर तनतनी रगत पिउन
अनि डम्म अघाउन
र मातेको मानिस झैँ पुर्लुङ्ङ पल्टिन
सतर्क एवम् होसियार भएर हिँड्यो
शरीरको कुन अङ्गमा के भइरहेछ ?
थाहा पाउने कोशिस ग¥यो
तर के गर्ने, जति ख्याल गरे पनि नहुने
हामीलाई झुक्याएर खाइहाल्ने, टन्न अघाइहाल्ने
यी भए रगत चुस्ने जुकाहरू
अर्काथरि जुकाहरू, पसिना चुस्ने जुकाहरू
धूर्त, शोषक–सामन्ती जुकाहरू
उफ् ! कति धेरै जुकैजुकाहरू
रगत–पसिना चुस्ने जुकैजुकाहरू
आऊ बकुल्लाहरू !
माछाहरू, भ्यागुताहरू समाएझैँ, नचपाइकन खाएझैं
खाऊ राक्षस जुकाहरू, शैतान जुकाहरू
अनि टन्न अघाऊ बकुल्लाहरू
बाक्लो, चिल्लो, संयोगी मांसपेशी नभए
रक्तनली धमनीबाट शुद्ध रगत नआए
कोषकोषमा थुतुनो गाडेर
कसरी तनतनी रगत पिउने थिए जुकाहरूले
रक्त पिपासु जुकाहरूले
रक्तबीजका सन्तानहरूले
थाहै नपाई ट्याप्पै टाँसिएर
एकाएक तनतनी रगत पिउँछन्
रगत नभए, रगत नआए÷पसिना नभए, पसिना नआए
विना रगत, विना पसिना यिनीहरू कसरी जिउँछन् ?
झुक्काएर, खाएर–पिएर, डम्म अघाएर
अझ व्यर्थैमा रगत बहाएर, पसिना बहाएर
इतिहास दोहो¥याउन चाहन्छन् जुकाहरू
रक्ताहारी खतरनाक जुकाहरू
पसिनाहारी खतरनाक जुकाहरू
डम्म अघाएका हुन्छन्
केही जुकाहरू थाहै नपाई खसिसकेका हुन्छन्
अघाउन्जेल रगत चुसिसकेका हुन्छन्
अघाउन्जेल पसिना सोसिसकेका हुन्छन्
ह्वाल्लह्वाल्ती आलो रगत बगिरहेको हुन्छ
खल्खल्ती पसिना बगिरहेको हुन्छ
म किंकर्तव्यविमूढ भएर हेरिरहेको हुन्छु
रगतको खोलो बगेको हेरिरहेको हुन्छु
पसिनाको नदी बगेको हेरिरहेको हुन्छु ।
मजदुर कवि
श्रमजीवीका आवाज घन्काउने कवि हुन्, इन्द्र राना ‘प्रतीक’। तीन दशकभन्दा लामो समयदेखि भुइँमान्छेका पक्षमा कथा, कविता, गीत र गजल लेख्दै आएका ‘प्रतीक’ पोखराका चम्किला तारा हुन्।
पर्यटकीय नगरी पोखरामा घुम्नुपर्ने प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्पदा धेरै छन्। साथमा प्रेरणादायी व्यक्तित्व पनि। तीमध्ये एक हुन्, इन्द्र राना ‘प्रतीक’।
मजदुर जिन्दगी बाँचिरहेका एवम् मजदुरकै सुख, दुुःखका कथा साहित्यमार्फत् शङ्खघोष गर्ने भएकाले जनस्तरबाट उनले ‘मजदुर कवि’ को उपमा पाएका हुन्।
उनी ६२ वर्षका भए। दिनभर मजदुरी गर्छन् । साँझ डेरामा फर्केपछि आफ्ना भोगाइ तथा अनुभूतिहरू कथा, कविता, गीत र गजलमा ढाल्छन्। अचेल बिहानैदेखि साँझसम्म विन्ध्यवासिनी मन्दिरमा तिर्थालुका नरिवल फुटाउने र प्रसाद बनाउने काम गर्छन्।
‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा
विगतमा उनले कहिले चाइना कम्पनीमा वेल्डिङको काम गरे। कहिले ठेलामा सामान बेच्दै हिँडे। कहिले सेती नदी किनारका बालुवा चाले भने कहिले घर बनाउने काम गरे। वि.सं. २०७९ पुसदेखि भने विन्ध्यवासिनी मन्दिरमा मजदुरी गरिरहेका छन्।
पुख्र्यौली थलो स्याङ्जाको क्याक्मी गाउँ भएका कविको आफ्नो घर छैन। जग्गा पनि छैन। त्यसैले उनी पोखरामा डेराको जिन्दगी बाँचिरहेका छन्। छोराछोरीसँगै डेरामा बस्छन्।
पिता कमाउन भनेर भारतको मेघालय गएका बेला उतै बिहे गरे। त्यहीं इन्द्रको जन्म भयो। उनी उतै हुर्के, बढे। बाइस वर्षको उमेरमा बल्ल नेपाल फर्के। मेघालयमा हुँदैदेखि उनको मजदुरी सुरु भएको थियो। आज ६२ वर्षको उमेरमा समेत उनी उत्तिकै सङ्घर्षशील छन्।
उनले वि.सं. २०३८ सालदेखि नै कविता लेख्दै आएका हुन्। गरिबीले गर्दा पुस्तक निकाल्ने रहर पूरा भएको थिएन।
उनले ६० वर्षको उमेरमा एक साथ धेरै खुसी प्राप्त गरे। पहिलो पटक काठमाडौँ आउने अवसर मिल्यो। उनको पहिलो कृति काठमाडौँमै लोकार्पण भयो। यति मात्र होइन, उनलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरियो। र उनको एकल कविता वाचन पनि भयो।
‘भुइँमान्छेका कविता’ सङ्ग्रह लोकार्पण गर्दै प्रकाशक पवन शाक्य, साहित्यकार तीर्थ श्रेष्ठ, मजदुर कवि र कथाकार माया ठकुरी ।
त्यो दिन थियो, १८ वैशाख २०८०। सन्दर्भ थियो, विश्व मजदुर दिवसको। पत्रकार अमृत भादगाउँलेको अगुवाइमा ‘कन्सेप्ट नेपाल’ ले ‘काठमाडौँमा भुइँमान्छेका कविता’ कार्यक्रम आयोजना गरेको थियो। ‘बुक्स हिमालय’ले छापेको ‘भुइँमान्छेका कविता’ कृतिमा ३३ ओटा कविता सङ्ग्रहित छन्। शप्रतिशत लेखकस्व स्रष्टाले नै पाउने व्यवस्था मिलाइएको छ।

शक्तिशाली कविता लेखन र मिठो वाचनशैलीले उनी मोहित बनाउँछन्। काठमाडौँको कार्यक्रमपछि उनले जनस्तरबाट पुरस्कार पाउन थालेका छन्। तर तीनै तहका सरकार के गर्दैछन्? तिनले यी मजदुर कविकोे मूल्याङ्कन कहिले गर्लान्?

छोराछोरीको चिन्ता
मेरा छोराछोरी दुवै बेरोजगार छन्। कुक काम जानेको छोरालाई विदेश पठाउन पाए हुन्थ्यो! मसँग कथा र कविताका पाण्डुलिपि तयार छन्। तिनलाई छाप्न पनि पैसा छैन। म सकुुन्जेल मजदुरी गर्नेछु। जिन्दगीमा अरु सपना बाँकी छैनन्।
छोरी र छोराका साथमा