अमेरिका ।
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्म जयन्तीका अवसरमा अमेरिकाको हवाइमा अनेसास हवाइ र स्नेहको संयक्त आयोजनामा एक कार्यक्रम गरिएको छ।
तीन ओटा शृङ्खलामा रामायण वाचन, कविता तथा साङ्गीतिक प्रस्तुति र सञ्चारकर्मी अच्युत घिमिरेसँग बहस गरिएको थियो। साथै नेपाली भाषा कक्षाका नानीहरूले आफ्नो प्रतिभा पस्केका थिए। उनीहरूले रामायण, घाँसी कविता, अन्य गीत र नृत्य प्रस्तुत गरेका थिए।

दोस्रो चरणमा कवि अमृता स्मृति र वाचक अच्युत घिमिरेका बिचमा बहस गरियो। बहसमा घिमिरेले अग्रजको सम्मान र नयाँको प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
‘उच्चारण गर्नु र शब्दमा प्राण भर्नुका बिचमा प्राविधिक र भावनात्मक भिन्नता के छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘उच्चारण सबैले गर्छन्, प्राण कसैकसैले मात्र भर्छन्।’

अर्को प्रश्नको जवाफमा उनले भने, ‘भानुभक्तको कर्म समग्र नेपाली भाषीका लागि प्रेरणा स्रोत हो।’
कार्यक्रममा उनले केही स्रष्टाका रचना पनि वाचन गरेका थिए।

कार्यक्रममा ‘स्नेह’का अध्यक्ष दिनेश तिमल्सेनाले सबैको स्वागत गरेका थिए। केदार श्रेष्ठ टेक्निसियन रहेको कार्यक्रममा कविता र गजल वाचन पनि गरिएको थियो। रोचक ढङ्गले कार्यक्रमको सञ्चालन अनेसास हवाइकी वरिष्ठ उपाध्यक्ष वेदिका उपाध्यायले गरेकी थिइन्।

नेपाली भाषाको अन्तर्राष्ट्रियकरण, नेपाली साहित्यको विस्तार, भाइरल र भ्युजको जमानामा ओझेलमा परेका उत्कृष्ट साहित्यको विषयमा अनेसासकी अध्यक्ष स्मृतिले आफ्नो धारणा राखेकी थिइन्।