काठमाडौं ।
तराईमा देखिएको अशान्तिबाट दुःखी बनेका नेपाली कविहरूले आफ्ना सिर्जना मार्फत् धार्मिक सहिष्णुतामा जोड दिएका छन्। उनीहरूले सामाजिक एकता, मानवीय मूल्य र समकालीन यथार्थलाई केन्द्रमा राखेर सिर्जना वाचन गरेका हुन्।
वर्तमान कविता समूह र नेपाली लोक बाजा सङ्ग्रहालयको संयुक्त आयोजनामा आइतबार ‘धार्मिक सहिष्णुता र वर्तमान कविता’ विषयक कार्यक्रम गरिएको हो।
काठमाडौंको लक्ष्मेश्वर मन्दिर परिसरस्थित सङ्ग्रहालयमा कविता वाचनसँगै सामाजिक सद्भाव र समकालीन कविताको भूमिकामाथि विमर्श पनि गरियो।

सो अवसरमा अभय श्रेष्ठले ‘भिक्षुणी र रोगी युवक’, हरिहर तिमिल्सिनाले ‘मलाई थाहा भएको कुरा’, विश्व सिग्देलले ‘म एक थोक बनिनँ’, रजनी मिलाले ‘आफूभित्रको ईश्वरलाई जगाऊ’, रामगोपाल आशुतोषले ‘आगोलाई आगो हुन कसैको जरुरी हुँदैन’, राधिका कल्पितले ‘मार्ग अनेक, गन्तव्य एक’, रमी प्रियाले ‘मानिस र धर्म’, प्रज्वल अधिकारीले ‘खेलौना’, ईश्वरा शिवाले ‘ईश्वरको हिसाब’, चाचुले ‘नारा’, वीणा नेम्कुलले ‘सुन्दर बस्ती’, चन्द्रबहादुर लामाले ‘सहिष्णुताको शाश्वत नियम’, तीर्थराज भट्टले ‘के हामी पुनः बुद्ध बन्न सक्छौँ?’, प्रमोद स्नेहीले ‘धर्मयुद्ध’ र दीपक चौलागाईंले ‘मानिसको खोजी’ शीर्षक कविता वाचन गरेका थिए।
कार्यक्रममा गायक तथा संगीतकार शिशिर योगीले महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘दमाई दाइ’ लगायतका गीत प्रस्तुत गरेर सबैको मन जितेका थिए।
गायक शिशिर योगी
कार्यक्रमपछि उनीहरूले सङ्ग्रहालय अवलोकन गरेका थिए। उनीहरूसँग सङ्ग्रहालयका संस्थापक एवम् बाजा विशेषज्ञ रामप्रसाद कँडेलले नेपाली लोकबाजा, सङ्गीत, कला र साहित्यको महत्वबारे प्रकाश पार्दै भने, “कवि भनेका ऋषिकै अंश हुन्, जसले सत्य बोल्न कहिल्यै छोड्नु हुँदैन।”
बाजा विशेषज्ञ रामप्रसाद कँडेल
कार्यक्रमको उद्देश्य विविध आस्था र विश्वासबीच आपसी सम्मान, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको संस्कृतिलाई प्रवद्र्धन गर्दै साहित्य मार्फत् शान्ति, सहअस्तित्व र मानवताको सन्देश प्रवाह गर्नु रहेको समूहका संयोजक विश्व सिग्देलले बताए।
साहित्यकार हरिहर तिमिल्सिना
स्मरणीय छ, यस समूहले गत भदौमा देशको राजनैतिक परिवर्तनपछिको विषम परिस्थितिमा ‘विस्फोटपछिको शून्यतामा आवाज’ विषयक विशेष कवि गोष्ठी गरेको थियो।