काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो टौदह । टौदह काठमाठौंबाट ७ किलोमिटरको दूरीमा दक्षिणकाली जाने बाटोमा पर्दछ । ५ सय मिटर लम्बाई र ४ सय मिटर चौडाई क्षेत्रफलमा फैलिएको यो पोखरीको गहिराई ६ मिटर रहेको छ ।
कर्कट नागको बास रहेको जनविश्वास रहेको दहमा नागपञ्चमीका दिन मेला लाग्छ । टौदहलाई ललितपुरको जात्रा आख्यान, किर्तिपुरको सभ्यतास्थल र काठमाडौंको सिमाना सम्पदा पनि मान्ने गरिन्छ ।
परापूर्व कालमा मन्जुश्रीले बस्ती बसाउन काठमाडौँ उपत्यकामा जमेको पानी चोभारमा काटेर निकास निकाले पश्चात उपत्यकाभन्दा बाहिर केहि तालहरु बाकी रहे र हाल अस्तित्वमा रहेको एउटै ताल टौदह हो । नेवारी भाषामा टौ को अर्थ सर्प र दहको अर्थ ताल हो ।
मन्जुश्रीले काठमाण्डौको पानी बाहिर पठाउँदा आधा शरीर मान्छेको जस्तो र आधा सर्पको जस्तो भएको असंख्य नागहरु बेवारिसे भए र ति नागहरुलाई टौदहमा लगेर राखिएको र राखिएपश्चात नाग राजाले स्थानीयको संरक्षण गर्ने गरेको किम्वदन्ती रहेको छ । सोहीकारण यो तालमा कोही पनि पौडी खेल्न तथा माछा मार्न नजाने गरेको भनाई छ ।
कीर्तिपुरमा अवस्थित टौदहमा दैनिक सयैंको संख्यामा आन्तरीक तथा बाह्य पर्यटक आउने गरेका छन् । रमणीय ऐतिहासिक, धार्मिक र पर्यटकीय उक्त क्षेत्रमा पर्यटकको दिनहुँ घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय प्रेमिल जोडीको घुम्न जाने मुख्य आर्कषक गन्तब्यको रुपमा पनि यो ठाउँ परिचित हुँदै गएको छ । तालको वर पर बनाइएका आकर्षक बेन्चमा बसेर ताल र तालको बिचमा रहेको सदाबहार रुख, बिभिद प्रजातिका रंगी बिरंगी माछाहरु हेर्दाको आनन्दनै बेग्लै छ ।


