काठमाडौं 
नेपाल पर्यटन बोर्डको प्राङ्गणमा आइतबारदेखि इटालियन फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्तेले खिचेका नेपाल र इटालीको जीवनशैली, संस्कृति र प्रकृति झल्काउने तस्बिरहरूको प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीमा २५ ओटा तस्बिर छन्। 
नेपाल पर्यटन बोर्डको नियमित दृश्य–संवाद अभियान फोटो नेपाल अन्तर्गत ‘ए टेल अफ टु ल्यान्डस्ः नेपाल मिट्स सिस्ली’ प्रदर्शनी मङ्गलबारसम्म सञ्चालन हुनेछ। त्यसैले बिहान १० बजेदेखि दिउँसो ३ः३० बजेसम्म तस्बिर अवलोकन गर्न सकिनेछ। 

‘नेपाल त भूस्वर्ग नै हो’, फोटोग्राफर ब्रान्काफोर्तेले सोमबार एभरेस्ट पेडियासँग भनिन्, ‘नेपालको सांस्कृतिक विविधता देखेर म त छक्कै परें। विशेषतः काठमाडौं उपत्यकाको नेवारी सभ्याताले मलाई मोहित बनायो।’ 
घुमफिर र फोटोग्राफीमा रुची राख्ने उनले यात्रामा लाखौं तस्बिर खिचिसकेकी छिन्। ‘फोटोग्राफीका हिसाबले पनि नेपाल बेस्ट गन्तव्य हो।’ 

यस प्रदर्शनीले नेपाल र सिसिलीका धार्मिक तथा सांस्कृतिक उत्सवबीचको समानतालाई फोटोग्राफीका माध्यमबाट जोड्ने प्रयास गरेको छ। आस्थाको शक्ति, सांस्कृतिक जीवन्तता र सामूहिक उत्सवको सौन्दर्यलाई दृश्य–कथामार्फत प्रस्तुत गर्दै, यसले दुई भू–भागबीचको साझा मानवीय सम्बन्धलाई उजागर गरेको छ। 

प्रदर्शनीको उद्घाटन फोटो पत्रकार गोपाल चित्रकारले गरेका थिए। कार्यक्रममा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐयर, फोटो पत्रकार क्लबका अध्यक्ष द्वारिका काफ्ले, फोटो नेपाल अभियानका संयोजक सुधन सुवेदी लगायतले सम्बोधन गरेका थिए। 
स्मरणीय छ,, पर्यटन बोर्डले यो अभियान सन् २०१६ मा सुरु गरेको थियो। 