काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका पर्यटन विकासमा उत्कृष्ट बनेको छ ।
विश्व पर्यटन दिवसका अवसरमा अपिहिमाल गाउँपालिकालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उत्कृष्ट पालिका घोषणा गर्दै सम्मान गरेको हो । मन्त्रालयले हालै गाउँपालिकालाई सम्मानपत्रसहित सम्मान गरेको छ ।
अपिहिमालले आफ्नो पाँच वर्षे योजना तथा वार्षिक नीति तथा कार्यक्रम, १० वर्षे पर्यटन रणनीति योजनालगायत योजना अगाडि सारेर गाउँपालिकाको पर्यटन विकासमा मत्त्वपूर्ण भूमिका खेल्दै आएको थियो ।
सम्मानपछि गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकेरो बोहराले सरकार र सहयोगी निकायहरूलाई धन्यवाद व्यक्त गरे । ‘पर्यटन क्षेत्रको विकासमा सहकार्य गर्ने, सहयोग गर्ने नेपाल पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, यूएनडीपीको पहिला एसटीएलटीआरपी, अहिले एसटीपी प्रोजेक्ट, सुदूरपश्चिम प्रदेश पर्यन इकाई, नाट्टा सुदूरपश्चिम, टान, एनएमए, हानलगायत पर्यटन क्षेत्रमा क्रियाशील संचारकर्मी तथा संचारगृहहरू सबैप्रति हार्दिक आभार प्रकट गर्दछु’, अध्यक्ष बोहराले भने ।
साथै, उनले अपिहिमाल गाउँपालिकाले हालसम्म सुदूरपश्चिमको उच्च हिमाली पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताए । उनले ट्रेडिङ पर्यटनसँगै हिमाल आरोहण पर्यटनको सुरुवातसमेत गरेको जानकारी दिए ।
‘स्थानीय अर्गानिक उत्पादनलाई कृषि पर्यटनको रूपमा उपभोक्ताहरूमा पुर्याई स्थानीयहरूको जीविकोपार्जनमा समेत योगदान पुगेको छ । अगामी दिनमा अपिदेखि सैपाल हिमालसम्मको पर्यटन विकासको सुरुवातसमेत भएको छ । पर्यटनबाटै शिक्षा, स्वास्थ्य तथा स्थानीय युवाहरूलाई रोजगारीको अवसरसमेत सिर्जना गरिएको छ । पुनः सबैलाई हार्दिक धन्यवाद’, उनले भने ।