काठमाडौं। कुवेतको जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरू गरेको छ।
गत पुस ६ गतेदेखि मौसमको खरावीको कारण देखाउँदै बन्द गरेको उडान बिहीबार आजबाट पुनः सुरु भएको हो ।
विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएसँगै कुवेतमा नियमित उडान गर्दै आएको जजिराले करिब साढे दुई महिनापछि कुवेत–भैरहवा पुनः उडान सुरू गरेको विमानस्थले जनाएको छ ।
जजिराको विमान कुवेतबाट ६६ जना यात्रु लिएर बिहीबार बिहान ७ बजेर १५ मिनेटमा विमानस्थलमा अवतरण गरेको थियो। उक्त जहाज ८ बजेर ५ मिनेटमा ९३ जना यात्रु लिएर कुवेत उडेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए।
जजिराले कुवेत–भैरहवा मंगलबार, बिहीबार र शनिबार गरी सातामा तीन उडान गर्नेछ। हाललाई भैरहवादेखि कुवेतसम्म २८ हजार आठ सय ३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ।