काठमाडौं। गत माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका विषयमा जाँच गर्न सरकारले गठन गरेको जाँच आयोग म्याद थप गरिएको छ।
गत फागुन ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको हो।
नेपालर सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले सरकारले ४५ दिन म्याद थप गरेको जानकारी दिईन्।
सरकारले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो। आयोगलाई ४५ दिनको समयावधि तोकिएको थियो।
दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो।
आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन्। आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्।