काठमाडौं। २०८० सालको पहिलो चन्द्रग्रहण आज लाग्दै छ। आज लाग्ने चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष प्रकारको रहेको खगोलविदहरुले जनाएका छन्।
विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन।
यस्तो प्रकारको चन्द्रग्रहणलाई अंग्रेजी भाषामा पेनुमब्रल चन्द्रग्रहण भनिन्छ। चन्द्रग्रहण तीन प्रकारका हुन्छन्– पूर्ण, आंशिक र पेनुमब्रल। आजको चन्द्रग्रहण पेनुमब्रल हो।
पेनुमब्रलमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभइ उपछाया मात्र पर्छ। यसलाई अंग्रेजीमा पेनुमब्रा भनिन्छ। यसमा पृथ्वीको हल्का छाया परेको मात्र देखिन्छ। त्यसैले आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा परिवर्तन आएको नदेखिने खगोलविदहरुले जनाएका छन्। चन्द्रमाको आकार अरु सामान्य दिनमै जस्तो देखिने छ। तर रंग भने हल्का गुलाबीजस्तो हुनेछ।
त्यसैले आजको चन्द्रग्रहणलाई खगोलविदहरुले विशेष मानेका छन्।
पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ र चन्द्रमामा पृथ्वीको छाया पर्छ। यसैलाई नै चन्द्र ग्रहण भनिन्छ। चन्द्रग्रहणलाई नांगो आँखाले पनि हेर्न सकिन्छ।