पोखरा। पोखरा नजिकै छ पर्यटकीय गाउँ ताङतिङ। गुरुङ संस्कृति र हिमालय दर्शनका लागि प्रख्यात गाउँ। यहाँ आन्तरिक पर्यटकको घुइँचो हुन्छ। केही वर्ष यता भने गाउँको शिरमा रहेको क्रपुडाँडा (३,०८५ मिटर) पनि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ।
पोखरा नजिकैको क्रपुडाँडा हिउँ खेल्ने गन्तव्यका रुपमा पनि प्रख्यात छ। डाँडामा पर्यटकका लागि ४ ओटा होटल खुलेका छन्।
अहिले हिमाल खुल्ने मौसम। कास्की जिल्ला, मादी गाउँपालिका–२, मा पर्ने क्रपुडाँडाबाट अन्नपूर्ण चौंथो, अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको लर्कन देखिन्छ। हिउँ पहिरो पनि देखिन्छ। अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको बीचबाट प्रायः खसिरहन्छ पहिरो। पहिरो झर्दा गड्याङ्ग आउने आवाजले झसङ्ग बनाउँछ।
पदयात्रामा चराको चिरबिर, जंगली जनावरको आवाज, वनजंगल, हिउँपहिरोका दृश्य, चिसो हावापानी, हिमालसँगको सामीप्य र सुन्दर गाउँको दृश्यमा रमाउने अवसर मिल्छ। ताङतिङ (१,६६५ मिटर) बाट नौचुडाँडा (२,०४७ मिटर)। नौलाचे (२,२०० मिटर) हुँदै क्रपुडाँडामा पुगिन्छ। जाडो याममा डाँडामा हिउँ पर्छ। हिउँ परेका बेला हिउँ खेल्न पनि पाइन्छ।
ताङतिङ सामुदायिक होमस्टे, क्रपुडाँडा र पोखरामा एकएक रात बस्ने गरी यात्रा योजना बनाउनु पर्छ। ग्रामीण पर्यटनको नमुना गन्तव्यका रुपमा चिनिएको ताङतिङका गाउँलेको आत्मीयताले सबैलाई मोहित बनाउँछ। काठमाडौंबाट यात्रा गर्दा पहिलो बास ताङतिङमा, दोस्रो बास क्रपुडाँडामा, तेस्रोे बास पोखरामा बस्नु पर्छ। अर्को कुरा, यात्रामा निस्कनु अघि गन्तव्यस्थलका पर्यटनकर्मीलाई सम्पर्क गरेर होमस्टे, टेन्ट र कोठा बुक गरेमा सजिलो हुन्छ।
कसरी पुग्ने?
काठमाडौं–पोखरा २०० कि.मि. बसमा ६ घण्टा अथवा २५ मिनेट हवाई यात्रा। पोखराको काहुँखोला–ताङतिङ २१ कि.मि. सम्म सार्वजनिक बस तथा जिप चल्छन्। ताङतिङ–क्रपुडाँडा १० कि.मि. पदयात्रा। क्रपुडाँडासम्म मोटरबाइक वा जिपमा पनि जान सकिन्छ।
सम्पर्क:
प्रकाश गुरुङ–९८५६०२८८२७
पर्यटन अभियन्ता, ताङतिङ
गुमानध्वज गुरुङ–९८४६५३१८५०÷९८०६७९५९९०
होटल व्यवसायी, क्रपुडाँडा