दाङ, २२ फागुन । तुलसीपुर उपमहानगरपालिका– १५ स्थित धम्कापुरका थारू महिला व्यावसायिकरुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । ती मध्येकी एक हुन् ४२ वर्षीया स्यानी चौधरी । उनले व्यावसायिक रुपमा धनियाँखेती गरेर आत्मनिर्भर बन्नाका साथै आफूलाई सफल महिला किसानको रुपमा चिनाएकी छिन् ।
आफूले उत्पादन गरेको धनियाँ बिक्री गर्न सधैँ एकाबिहानै छिटुवामा बोकेर तुलसीपुरका घरघर पुग्ने स्यानीले धनियाँको पात बिक्री गरेर मात्र वार्षिक रु चार लाखसम्म बचत गर्ने गरेको बताउँछिन् । यसपटक मौसमी धनियाखेतीबाट मात्र रु दुई लाख ५० हजार आम्दानी गर्न सफल भएको उनको भनाइ छ । विसं २०५८ देखि नै यो पेसा अपनाए पनि व्यावसायिकरुपमा भने विगत १३ वर्षदेखि गर्न थालेको बताएकी स्यानीले हाल १० कट्ठा जमिनमा स्थानीय जातको धनियाँखेती गरेकी छिन् । एक वर्षमा दुई पटक मौसमी र बेमौसमी धनियाँखेती गरेर बिक्री गर्दै आएको बताउने उनले प्रतिमुठा धनियाँ रु २० मा बिक्री गर्दै आएकी छिन् ।
धनियाँ बेचेर गरेको आम्दानीबाट स्यानीले गाउँमा १७ कट्ठा चार धुर जमिन खरिद गरेकामा १० कट्ठामा धनियाँखेती र अरुमा अन्य खाद्यान्न उत्पादन गर्दैआएको बताउँछिन् । अहिले बेमौसमको लागि उक्त खेती सुरु गरिसकेको उनको भनाइ छ । यसैगरी सोही ठाउँकी ५० वर्षीया रेखा चौधरी पनि व्यावसायिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बनेकी छिन् । उनले १५ कट्ठा जमिनमा चम्सुर, पालक, गोभी, टमाटरलगायत तरकारीखेती गरेकी छिन् । रेखा पनि दैनिक बिहानै तरकारी छिटुवामा बोकेर पैदलै बिक्रीका लागि तुलसीपुर बजारसम्म आउने गर्छिन् ।
उनी भन्छिन् पहिला हामीले धानखेती गर्दथ्यौँ तर त्यसबाट मात्र राम्रो आम्दानी लिन नसकेपछि धानखेती छाडेर छ वर्षदेखि तरकारीखेती गर्दै आएका छौँ, दुःख त धेरै भए पनि आम्दानी राम्रो हुन्छ । वर्षमा रु चार लाखसम्म आम्दानी गर्न सफल भएको उनी बताउँछिन् । सिँचाइका लागि पानीको समस्या हुने गरेको बताउने रेखाले अहिलेसम्म तरकारी खेतीसम्बन्धी कुनै पनि तालीम लिएकी छैंनन् ।
त्यसैगरी सोही गाउँकी ४० वर्षीया राजपति चौधरी पनि १४ कट्ठा जमिनमा तरकारी खेती गरेर आत्मनिर्भर बन्नेकी छिन् । वार्षिकरुपमा रु साढे तीन लाख तरकारी खेतीबाट आम्दानी लिन सफल भएको उनी बताउँछिन् । तरकारीखेतीबाटै भएको आम्दानीले गर्दा दुई छोराछोरीलाई बाली विज्ञान विषय अर्थात् कृषि प्राविधिक विषय पढाउन सजिलो भएको राजपतिको भनाइ छ । बन्दा, फूलगोभी, गोलभेँडालगायत तरकारी खेती गर्दै आएकी उनी दिनभर तरकारी खेतीमा व्यस्त हुने र बिहानै छिटुवामा तरकारी राखेर पैदलै तुलसीपुर बजारसम्म बिक्रीका लागि आउने गर्छिन् ।
राजपति बन्दागोभीको मूल्य सस्तो भए पनि गोलभेँडा र फूलगोभी भने प्रतिकिलो रु ५० सम्म बिक्री गर्ने गरेको बताउँछिन् । यस पेशामा टिकाइ राख्न सिँचाइका लागि पानी, तरकारीको उचित मूल्य र बजारीकरण तथा उन्नत जातको बीउ र कीटनाशक औषधि र तालिमको व्यवस्था स्थानीय निकायले उपलब्ध गराइदिनुपर्नेमा सामान्य लेखपढसम्म गरेकी उनी जोड दिन्छिन् ।
ती महिला तथा अन्य नगरपालिकाभित्र तरकारी खेती गर्ने सबै किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य प्राप्त गर्न, बजारीकरणका लागि तुलसीपुर बजारमा तरकारी बजार केन्द्र भवन निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य जानकारी दिईन् । भवन निर्माण भएपछि किसानलाई बिहान ५ बजेदेखि ७ बजेसम्म सो भवनमा बसेर तरकारी बिक्री गर्नको लागि शुल्क नलाग्ने व्यवस्था मिलाइएको पनि उनको भनाइ छ ।
तरकारीखेतीबाट आत्मनिर्भर भएका किसानलाई उपमहानगरबाट प्रोत्साहन गर्ने कृषि कार्यक्रम ल्याउन आवश्यक रहेको बताउँदै उपप्रमुख आचार्य अहिले जिल्लामा धेरै गाउँका किसान तरकारीखेतीमा निर्भर भएर आर्थिक रुपमा सफल भएको देख्दा आफ्नै देशमा मेहनत गर्नसके आर्थिक रुपमा टेवा पुग्ने विश्वास व्यक्त गर्छिन् । रासस