पोखरा। नेपाली लेखक संघ, कास्कीले हरेक वर्ष प्रदान गर्ने ‘लेखक कृति पुरस्कार–२०७९’ प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’ लाई प्रदान गरिएको छ।
शुक्रबार पोखरामा आयोजित एक समारोहमा नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले सो पुरस्कार अर्पण गरे।सोही अवसरमा साहित्य क्षेत्रमा विशिष्ट योगदान गरेकामा स्याङ्जाका सर्जक विश्वप्रेम अधिकारीलाई ‘स्रष्टा सम्मान’ अर्पण गरिएको थियो।
पुरस्कार एवम् सम्मान अर्पण गरेपछि प्रमुख अतिथिका रूपमा बोल्दै नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले मन्दिरको जगजस्तै नदेखिएरै गजुरलाई उभ्याइरहने व्यक्तित्वलाई सम्मान गर्न पाउनु आफ्नो सौभाग्य भएको बताए।
गजल लेख्नुलाई हास्यास्पद ठानिने समय सम्झँदै उनले प्रदीप रोदनको गजलकारिताले गजललाई एउटा उचाइमा पुर्याउन विशिष्ट योगदान दिएको बताए।
अरूले प्रशंसा गरिरहेका बेला आफ्नै कमजोरी त्यसले मात्रै खोतल्न सक्छ जसँग विशिष्ट क्षमता छ भन्दै विश्वप्रेम अधिकारीको दीर्घ साधनाको प्रशंसा गरे। साहित्यिक संगठनहरूले साहित्यकारलाई लिलिपुट देख्ने प्रवृत्ति बढ्दै गएकामा उनले गुनासो गरे। लेखक संघलाई त्यो प्रवृत्तिबाट मुक्त गर्ने प्रयासमा आफूहरू लागेको उनले बताए।
सम्मानित स्रष्टा विश्वप्रेम अधिकारीले पोखराले साहित्य, शिक्षा एवम् विविध क्षेत्रमा धेरै महत्त्वपूर्ण स्थान ओगटेको सम्झिए। यो सम्मान सिङ्गो पोखराले लामो समयको साधना सम्मानित भएको पनि बताए।
पुरस्कृत कृति ‘मफलर’ का स्रष्टा गजलकार प्रदीप रोदनले लेखिरहँदा अचानक आउने यश प्रकारका स्याबासीले लेखनमा विशेष ऊर्जा मिल्ने र यो पुरस्कारले आफूलाई ठूलो हौसला प्राप्त भएको उनले सुनाए।
कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक डा.भूमिराज बस्ताकोटीले पुरस्कृत एवम् सम्मानित स्रष्टाद्वयको परिचय प्रस्तुत गरेका थिए। सो क्रममा उनले प्रदीप रोदनका गजलहरूमा मानवीय संवेदनाको गहिरो अभिव्यक्ति पाइने बताए। स्याङ्जामा बसेर साहित्य, साहित्यिक पत्रकारिता एवम् समाजसेवामा ६ दशक अथक साधना गरेका स्रष्टाका रूपमा विश्वप्रेम अधिकारी सम्मानयोग्य व्यक्तित्व भएको बताए। सर्जकको सिर्जना र साधना देशदेशावरसम्म पुग्ने बताउँदै उनले आज पुरस्कृत र सम्मानित स्रष्टाहरूको साहित्यिक उचाइ निकै उँचो रहेको बताए।
वर्षभरिमा प्रकाशित कृतिमध्येबाट कार्यसमितिले उत्कृष्ट ६ कृति छनोट गरी पुरस्कार छनोट समितिलाई हस्तान्तरण गरिएको थियो। ती कृतिमध्येबाट मफलरलाई सर्वोत्कृष्ट ठहर गरिएको थियो। कार्यक्रममा मन्तव्य राख्दै नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा। ईश्वरमणि अधिकारीले संस्थाको कास्की शाखाले पुरस्कार र सम्मानको यो प्रशंसनीय कार्य गर्दै आएकामा खुसी व्यक्त गरे।
पुरस्कारको राशि रु. २५००० रहेको छ। यसअघि सो पुरस्कारबाट सरोज अर्यालको दिव्याञ्जली, मतीप्रसाद ढकालको महाभारतमा के छरु र दीपक समीपको अक्षर अक्षरमा देश कृति पुरस्कृत भइसकेका छन्। त्यसैगरी स्व. तेजनाथ घिमिरे, केशवराज पराजुली र डा.भूपति ढकाल ‘कमल’ सम्मानित भएका थिए।
सो अवसरमा विद्यावारिधि उपाधी प्राप्त गरेकामा गणेश शर्मा, बोधराज ढकाल र श्रीधर न्यौपानेलाई सम्मान गरिएको थियो।
नेलेस कास्की शाखाका अध्यक्ष रीता अधिकारी ‘ऋतु’ को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्राञ्जलले गरेका थिए भने उपाध्यक्ष कमल पौडेल ‘अथक ले स्वागत मन्तव्य राखेका थिए।