दोलखा। दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ मा आयोजित तेस्रो संस्करणको ‘सोक्ला–चम्पा रक क्लाइम्बिङ महोत्सव’ सम्पन्न भएको छ।
सोक्ला भ्यालीलाई ‘एड्भेन्चर क्लाइम्बिङ हब’ बनाउने उद्देश्यसहित शनिबारदेखि सुरु भएको महोत्सव आइतबार सम्पन्न भएको हो।

सोक्ला र चक्पा क्षेत्रमा पर्ने गुमडाँडाको भीर ४२० मिटरको पहाड हो। यही प्राकृतिक चटानमा रक क्लाइम्बिङ गन्तव्यको विकास गर्न महोत्सव आयोजना गरिएको सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए।
रक क्लाइम्बिङको लागि सोक्ला र चक्पाको भीरमा २५/२५ मिटरको तीन वटा सिंगल पिचको रकरुट निर्माण गरिएको छ।
सदरमुकाम चरिकोटबाट ८ किलोमिटर दूरीमा रहेको सोक्ला गाउँ धार्मिक एवम् सांस्कृतिकरूपमा समेत महत्वपूर्ण मानिन्छ। सोक्ला गाउँ विशेषगरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन, गौरिशंकर हिमश्रृंखलाको दृश्य हेर्ने गन्तव्य र धार्मिक अध्ययन अनुसन्धानका लागि यो क्षेत्र प्रसिद्ध छ।

यही प्रसिद्ध ठाउँमा सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजना, नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग तथा विभिन्न स्थानीय तहको सहकार्य र माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगान)को प्राविधिक संयोजनमा आयोजना गरिएको हो।
महोत्सवमा स्थानीय, क्लाइम्बर र पर्यटनकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। महोत्सव अवधिमा प्रस्तुत गरिएको स्थनीय झाँकी, ताम्बा, झाँक्री, मारुनीसँगै पञ्चै बाजाले सोक्ला भ्यालीको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।

महोत्सवमा रक क्लाइम्बिङ प्रतियोगितामा हिमाल आरोही, स्काउट, नेपाल आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरीसँगै पर्यटक प्रहरी गरी १०३ जनाको सहभागीता रहेको थियो।
प्रतियोगितामा सक्सेस लामा पहिलो, रोशन रसाइली दोस्रो, पुजना श्रेष्ठ तेस्रो र भरत कार्की चौथो भए। २५ मिटर दूरीको रक क्लाम्बिङ लामाले १ मिनेट १५ सेकेन्ड, रसाइलीले १ मिनेट ३० सेकेन्ड, श्रेष्ठले १ मिनेट ३७ सेकेन्ड र कार्कीले १ मिनेट ५५ मिनेटमा पुरा गरेका थिए। विजेताहरुलाई पुरस्कार र सम्मान प्रदान गरिएको छ।
कार्यक्रमको समापन सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष पाख्रिनले गरे। कार्यक्रम समापनको क्रममा उनले महोत्सव भव्यरुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरे।

उनले विगतमा भन्दा यो वर्षको महोत्सव धेरै फरक भएको बताए। ‘गत सालको भन्दा यो वर्षमा धेरै फरक र राम्रो भएको छ’, अध्यक्ष पाख्रिनले भने, ‘अहिले सहभागिता धेरै राम्रो भयो। मुख्य त यहाँका स्थानीय, स्थानीय तह, प्रदेश र केन्द्र सरकारमा रक क्लाइम्बिङबारे बुझाइ पनि राम्रो भएको पाइयो।’
उनले सोक्ला भ्यालीको पर्यटन विकास र स्थानीयको आर्थिक रुपान्तरणका लागि महोत्सव गरिएको जनाउँदै भने, ‘अब हरेक महिनाको अन्तिम शनिबार व्यवसायिक रुपमा रक क्लाइम्बिङ गर्ने योजना छ।’
अध्यक्ष पाख्रिनले सोक्ला भ्यालीमा प्याराग्याइडिङ, क्यानोनिङ र र्याफ्टिङको पनि तयारी रहेको जानकारी दिए।

त्यस्तै प्राविधि टोलीका संयोजक सञ्जीव गुरुङले महोत्सव विगतको तुलनामा अझ बढी राम्रो भएको बताए। स्थानीयको सहभागीता र सहयोग प्रशंसायोग्य रहेको उनको भनाइ छ।
सोक्ला भ्याली प्राकृतिक, सांस्कृतिक र धार्मिक हिसाब उत्कृष्ट रहेको र अब एड्भेञ्चर हबको रुपमा विकास हुँदा यो नेपालको पर्यटन हब भन्नेमा कुनै शंका नरहेको गुरुङले बताए।
‘यो ठाउँ प्राकृति, सांस्कृति र धार्मिक हिसाबले धेरै राम्रो छ। सबै हिसाबले सोक्ला भ्याली पूर्ण छ। यहाँ बेसिकदेखि एड्भान्स तहको रक क्लाइम्बिङ गर्न सकिने हुँदा यो ठाउँ नेपालको महत्वपूर्ण पर्यटन हब भन्नेमा कुनै शंका छैन’, गुरुङले एभरेष्ट पेडियासँग भने।
यो ठाउँ माउन्टेन र उद्दारसम्बन्धी तालिमका लागि पनि उत्कृष्ट रहेको गुरुङले बताए।




तस्बिरहरू: सञ्जीव गुरूङ