काठमाडौं
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं. ४ साँवामा अवस्थित रमणीय झरना र स्थानीय उत्पादन अलैंचीको प्रवद्र्धन गर्ने उद्देश्यले आगामी मङ्सिर ७ देखि ११ गतेसम्म ‘फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेला’ आयोजना हुने भएको छ।

फङ्फङ्देन झरना पर्यटन विकास समितिको आयोजनामा हुने मेलामा विविध कार्यक्रम सञ्चालन गरिनेछ। ‘फङ्फङ्देन झरना जाऔं, खेलकुद तथा पर्यटन मेलामा रमाऔं भन्ने नाराका साथ आयोजना मेलामा पुुरुष फुटबल, नृत्य प्रतियोगिता, च्याब्रुङ प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रम गर्दैछौं’, समितिका अध्यक्ष विजय साँवाले एभरेस्ट पेडियासँग भने, ‘मेला मार्फत् यहाँ उत्पादन हुने नेपालकै गुणस्तरीय अलैंचीको प्रवद्र्धन गर्नु पनि हाम्रो लक्ष्य हो।’

मेलामा आयोजना गरिने खेलकुुद र सांस्कृतिक प्रतियोगिताका विजेतालाई पनि नगद होइन, अलैंची नै उपहार दिइनेछ।
स्मरणीय छ, विशाल चट्टानी पहराबाट झरेको झरना मनमोहक छ। फुङ्फुङ् आवाज सुनिने भएकाले यसलाई ‘फुङ्फुङ्े’ पनि भनिन्छ। यसको खास नाम भने ‘फङ्फङ्देन’ हो जसको उचाई करिब १८० मिटर छ।
हरिया डाँडाका बिचमा चित्ताकर्षक झरना। हेरिरहुँझैं लाग्ने। फेदमा उभिँदा माथि झरनाबाट उड्दै आएको हावाले मुहार चिसै बनाइदिन्छ। त्यतिबेला बेग्लै स्फूर्ती छाउँछ।

झरनाको फेदमा पोखरी छ। नजिकै देवीको मन्दिर पनि छ। यिनलाई शक्तिको प्रतीक मानेर पूजिन्छ। पर्यटकहरू झरनामा रमाउनुका साथै देवीको दर्शन गरेर मनोकामना पुरा गर्छन्।
यहाँ लिम्बू समुदायको चाड उधौली र उभौलीमा मेला लाग्छ। झरना क्षेत्रमा लिम्बू संस्कृतिको प्रतीक ‘सिलामसाक्मा’ उभ्याइएको छ। यसको पृष्ठभूमिमा झरनाको तस्बिर गजब देखिन्छ।
झरनाको पानी मेवा खोलामा पुगेर मिसिन्छ। त्यहाँबाट बिजुली निकाल्न सुरुङमा पानी लगिएको छ। मध्य मेवा हाइड्रो कम्पनीले ७३ मेगावाट बिजुली निकाल्दैछ।
सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा सार्बजनिक गरेको १०० पर्यटकीय गन्तव्यमा फुङफुङे झरना पनि सूचीकृत छ।
पर्यटकको खाना र बासका लागि झरना नजिकै तेम्वा गाउँमा होटल तथा होमस्टे खुलेका छन्। यहाँ एक रात बसेर झरना र वरपरका गाउँघर डुल्न सकिन्छ । गाउँमा लिम्बू जीवनशैली र संस्कृति अध्ययन गर्न पाइन्छ।
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट ३२ किलोमिटर दुरीमा पर्दछ झरना। कच्ची सडक भएकाले जिपमा ३ घण्टा लाग्छ। झरनाको फेदसम्मै हाइड्रोपावर कम्पनीले सडक खोलेको छ।
आउनुस् है !
विजय साँवा
अध्यक्ष, फङ्फङ्देन झरना पर्यटन विकास समिति
झरना नजिकै हामीले सामुदायिक होमस्टे सञ्चालन गरेका छौं। लिम्बू जातिका ९ घरमा होमस्टे सुबिधा छ। हामी पाहुनालाई लोकल परिकार खुवाउँछौं। ननभेज (बंगुर, कुखुरा, खसी) खानाको ३५० रुपैयाँ, सादा खानाको २५० रुपैयाँ र सुतेको १०० रुपैयाँ लिन्छौं।
सम्पर्क ः ९८६९८५६९१२