काठमाडौं
चरा देख्दैमा सुन्दर हुन्छन्। तिनको चिरविरले मनलाई आनन्दित बनाउँछ। ध्यानपूर्वक चराका आनीबानी हेर्नुपर्छ। बाँच्नका लागि तिनले गरेका सङ्घर्ष र आफ्ना बचेराप्रति तिनको प्रेमले प्रेरणा दिन्छ। जीवनमा आशाबादी बन्न सिकाउँछ।

व्यस्त जिन्दगीमा समय निकालेर खोलानाला, तालतलैया, गाउँघर वा वनजङ्गलतिर डुल्दा मनमा स्फूर्ति छाउँछ। एक टकले चरा अध्ययन गर्दा मेडिटेसन गरेझैं आनन्द मिल्छ। तनावमुक्त भइन्छ।
प्रायः चरा स्याना र चुलबुले हुन्छन। तिनका तस्बिर खिच्न सजिलो छैन। धैर्य, मिहिनेत र टेक्निक चाहिन्छ। तिनलाई बाधा नपु¥याई खिच्न पर्दछ।

हाम्रा घरआँगनमै किसिम किसिमका चरा देखिन्छन्। बढ्दो आधुनिकीकरण र विकासले तिनको संख्या घट्दै गएको छ। खाना, बासस्थान, र न्वाइज तथा लाइट पोलुसन आदिका कारण चरा मासिँदै गएका हुन्।

चरा अध्ययनको लत नै बस्छ। नयाँनयाँ चराका बारेमा जान्न मन लाग्छ। नेपालमा ९ सय प्रजातिका चरा पाइएका छन्। तीमध्ये ५ सयभन्दा बढी प्रजातिका चरा खिचिसकेका छन्, फोटोग्राफर आयुषमान कायस्थले। पेशाले उनी प्रोफेसनल फोटोग्राफर। उनी विशेषतः इभेन्ट, स्टुडियो, वेडिङ, पोटे«ट र एड (विज्ञापन) फोटोग्राफी गर्छन्। वाइल्ड लाइफ फोटोग्राफी उनको प्यासन हो।

काठमाडौंको क्षेत्रपाटीमा जन्मेहुर्केका आयुष मानले ९ वर्षको उमेरदेखि नै फोटोग्राफी सुरु गरेका थिए। फोटोग्राफी उनको पुख्र्यौली पेशा। अहिले उनी चौंथो पुस्तामा फोटोग्राफी गर्दैछन्।
फोटोग्राफर आयुषमान कायस्थ
उनले सन् २०१२ देखि वाइल्ड लाइफ फोटोग्राफी गरेका। विशेषतः चरा, बाघ, मृग आदिका तस्बिर खिच्छन्। तस्बिर खिच्न उनी चितवन, बर्दिया, पर्सा र काठमाडौं सेरोफेरो डुलिरहन्छन्। भारतमा समेत पुग्छन्।
वाइल्डलाइफ अध्ययनले धेरै संरक्षणविद्सँग उनको सम्पर्क बढाएको छ। उनले चिम्पाजी अध्येता जेन गोडालसँगै बर्दियाको तस्बिर खिच्ने अबसर पनि पाइसके।

वाइल्ड लाइफ संरक्षणका विषयमा विद्यालय तहदेखि नै शिक्षा दिनुपर्ने उनी बताउँछन्।
‘फोटोका माध्यमबाट चरा संरक्षणको सन्देश बाँडिरहेको छुुु’ उनी भन्छन्, ‘पिँजडामा चरा नराखौं। चरालाई बाधा पुुग्ने कुनै काम नगरौं। आजैबाट संरक्षणमा हातेमालो गरौं।’

नेपालमा वाइल्डलाइफ फोटोग्राफीबाट आम्दानी हुने वातावरण बनिसकेको छैन। ‘त्यति दुःख गरेर खिचेको तस्बिर सित्तैंमा माग्छन्’, उनी भन्छन्, ‘यसबाट कमाई भन्दा पनि आत्मसंतुष्टि पाइरहेको छु।’
प्रकृतिप्रेमको सन्देश बाँडिरहेका साहसी फोटोग्राफर आयुुष मान कायस्थलाई धेरैधेरै शुभकामना!

चरा अवलोकन गर्न टाढा जानै पर्दैन। आफ्नै घरआँगनमा देखिन्छन्। भर्खरै फोटोग्राफर कायस्थले ललितपुरको नागदहमा खिचेका केही तस्बिरहरू यहाँ हामीले पस्किएका छौं। यीमध्ये केही रैथाने हुन् भने धेरैजसो बसाइँसराइँ गरेर आएका चरा हुन्।
सम्पर्क ः
आयुषमान कायस्थ –९८४१२८५९२२












