काठमाडौं
जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ७ दल्लीलाई ग्रामीण पर्यटन गन्तव्य बनाउने अभियान सुरु भएको छ। डोल्पा, जुम्ला र रुकुम जाने नाकामा अवस्थित गाउँमा सामुुदायिक होमस्टे मार्फत् आय आर्जन बढाउन नेपाल एकीकृत महिला सेवा केन्द्र (नियोक)को आयोजनामा सोमबारदेखि होमस्टे तालिम सुरु भएको छ। तालिमको आर्थिक सहयोगीमा नेपाल पर्यटन बोर्ड र युुएनडिपी नेपालको संयुुक्त आयोजना ‘दीगो पर्यटन परियोजना’ कार्यक्रम रहेको छ।
तालिममा होमस्टेको अवधारणा, महत्व, व्यवस्थापन, अतिथि सत्कार लगायत विषयमा जानकारी गराइँदैछ। तालिममा २५ जनाको सहभागिता छ।
नेपालकै पहिलो नमुना पर्यटन गाउँ स्याङ्जाको ‘सिरुबारी’बाट प्रमुख प्रशिक्षकमा निम्त्याइएकी पर्यटन अभियन्ता उर्मिला गुुरुङले उनीहरूलाई व्याबहारिक ज्ञान बाँडिरहेकी छिन्। तालिम ५ दिनसम्म सञ्चालन हुनेछ।
स्मरणीय छ, २ वर्ष पहिला नलगाड नगरपालिका वडा नं ४ र ५ को सिमानामा पर्ने ‘खान्टाकुरा’मा होमस्टे सुरु गरिएको थियो। तर, त्यसले गति लिन सकेको थिएन। यस तालिमले स्थानीयको मनोबल बढाएको छ।
नलगाड नगरपालिकाका निवर्तमान प्रमुख टेकबहादुर रावल, वर्तमान उपप्रमुख देवका लामिछाने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख विजय मण्डल लगायत ८ जना वडाध्यक्षको उपस्थितिमा तालिम उद्घाटन गरिएको थियो।

नलगाडमा पर्यटनको प्रशस्तै सम्भावना छ। यहाँ राष्ट्रिय गौरवको योजना ‘नलगाड हाइड्रोपावर’ बनाइएको छ। साथै जैविक विविधताका हिसाबले समेत नलगाड क्षेत्र समृद्ध छ।
होमस्टेमा स्थानीय उत्पादन कोदो, धान, गहुँ, मकै, फापर, सुन्तला, कागती, किवी र सिमी खुवाइन्छ। साँस्कृतिक हिसाबले ख्याली, पैसेरु र सिंगारु नाच यहाँको पहिचान हो। गाउँमा दलित, जनजाति, बाहुन, क्षेत्री, ठकुरी र बादी जातिको बसोबास छ।