हृदयको किनारा भन्ने हुँदैन त्यस्तै कविता अवसान हुँदैन। आचार्य रजनिशको यो वाक्यांश कविताको पूर्ण व्याख्या हो जस्तो लाग्छ। कविता आत्मिक यात्रा हो। यसको ओज र महकता नगण्य छ। समयको तस्वीरमा हृदयको आलाप पोतिएपछि अर्थहरु अनेकार्थक हुन्छन जस्तो मौनतामा मुस्कान पोखिएपछि लाग्छन।
फैलनु कविको गुण हो। ‘सानु साथी’ कवितासङ्ग्रह कविको फैलावटको सुन्दर सृष्टि हो। कविताको मर्म त्यतिबेला सार्थक हुन्छ जब कविको दृष्टि फैलिँदै जान्छ। समयको नूतन प्रवाहमा उक्लेर कविले ‘सानु साथी’ कवितासङ्ग्रहको जग बसालेका छन। त्यसैले पनि कवितासङ्ग्रह स्पर्शी भएको छ। हृदयका आवाजहरु जब शब्दमार्फत् नवीन विम्बमा खेल्न रुचाउँछन तब ‘सानु साथी’ जस्तो कवितासङ्ग्रहको निर्माण हुन्छ। प्रथमतः ‘सानु साथी’ कवितासङ्ग्रहका लागि कवि ईश्वरमणि अधिकारीलाई बधाई साथै शुभकामना।
काव्य साधनाको निकै लामो दूरी हिँड्दै जाँदा ‘सानु साथी’ कवितासङ्ग्रह बजारमा आएको छ। जीवन अनुभव र अनुभूतिको शृङ्खलाले माझिँदै जान्छ। माझिँदै आएको जीवनको सार्थकता काव्य सिर्जनामा देखिनु सर्जकका लागि अर्थपूर्ण र पाठकका लागि सुन्दर उपहार भैजान्छ।
खारिँदै गएको जीवन भोगाइ काव्यमार्फत् आउनु सुखद कुरा हो। ‘सानु साथी’ कवितासङ्ग्रहको पहिलो कविता घर जीवन भोगाइ र बुझाइको सुन्दर विम्ब हो।
कवि कविता चिन्तनमा निकै सजग छन। कवि भन्छन्– मौनताबीच कविता र कविताबीच मौनता जन्मन्छ। शब्दहरु फारु गर्दै अत्यन्त कम बोलेर धेरै थोक बोल्न सक्नु कविताको सामर्थ्य हो।
भिडमा एक्लै उभिनु
आफूलाई चिन्नु हो
नहराउनु पनि हो। (१६)
मनुष्य त केवल एउटा पिण्ड हो। मनुष्य पिण्डमा विचरण गरिरहने मन र विचारले ऊ जिउँदो छ। विचारका अनेकन प्रवाहहरुको सार्थक रुप व्यक्ति र क्षमताका आधारमा अनेक हुनसक्छन। अनेक भेदहरुको वृत्तमा शब्दको रसपान गर्ने काव्यिक भेद सुन्दर र महत्वपूर्ण पाटो हो। यही पाटोमा उभिएर आएको ‘सानु साथी’ कविता सङ्ग्रहको उपस्थिति लोभलाग्दो छ।
सिद्धान्तका बोझहरुलाई परै थन्काएर हृदयको मौनता कविले कवितामा लेखिरहेछन। कविता सिर्जनाको यो नै सुन्दर र महत्वपूर्ण कुरा हो। हृदयको मौनतामा निस्कने चुपचाप ध्वनिहरुलाई जतनले टिपेर कविले सुन्दर कविताहरुको माला उनेका छन। यही मालाको सुललित नाम ‘सानु साथी’ रहेको छ। भावको क्लाइमेक्समा पुगेपछि लेखिएको ‘सानु साथी’ कवितालाई नै कवितासङ्ग्रहको सम्पूर्ण भार कविले थमाइदिएका छन।
अक्सर म एक कवितालाई बारम्बार पढ्छु र पढिरहन्छु। जति पढ्यो उति अनेक अर्थ र दृष्टि बदलिएको पाउछु । ठ्याक्कै यहि हो भन्ने हुदैन । त्यसैले यो समयमा बारम्बार ‘सानु साथी’ कवितासङ्ग्रह पढेपछि लेखिएको तत्कालिन समयको निजी टिप्पणी मात्रै पाठकले बुझिदिनुहोला।
गहिराइको मापन गर्न सकिएन भने गहिराइको रङ निलो देखिन्छ। जस्तो आकाश। गहिराइको मापन खोज्दै उड्ने बादलहरु कविता हुन। गहिराइको गहिराइ बुझ्न जसरी बादलहरु अनेक आकारमा आकाशभरि देखिन्छन त्यसरी नै शब्दको सामर्थ्य खोज्न सिर्जनाहरु शब्दको आकाशभरि कोरिइरहन्छन। शब्दको आकाशमा उड्ने कविता बहुआयाम बोकेको सिर्जना हो। कविताको निलो आकाश बनेर उदाएको ‘सानु साथी’ कवितासङ्ग्रह बहुआयामको एक रुप हो। पाठकले निलो आकाशजस्तो कवितालाई आफ्नो बौद्धिकता अनुसार बुझ्ने छुट भने हुने नै भयो। त्यसैले पाठक अनुसार एउटै कविता अनेक स्वादमा हुन्छ भन्ने कुरा स्वभाविक हो।
‘सानु साथी’ कवितासङ्ग्रहका कविताहरु जीवनबोधका बाछिटाहरुले जीवनलाई खियाउन थालेपछि सिर्जना गरिएका जीवन दर्शन कविता हुन। जीवनबोधका लागि ठुलै प्रलय आउनुपर्छ भन्नु छैन। जस्तो गौथलीले मसिना छेस्काहरुको जोरजाम गरी सुन्दर गुँडको निर्माण गर्छ त्यस्तै आम जीवनबोधका लागि स-साना घटनाक्रमले अर्थ राख्दछ। समाज, देश र प्रकृतिको काखमा खेलिरहेको आममान्छेले चिहाएको शब्दको ध्वनि ‘सानु साथी’ कवितासङ्ग्रहमा देखिन्छ। कुनै अलौकिक र आश्चर्यको घटना कवितासङ्ग्रहमा छैन तर आम जीवनलाई एक कवि हृदयले कसरी देखेको छ भन्ने कुरा ‘सानु साथी’ कवितासङ्ग्रहमा भेट्न सकिन्छ।
कविले आफ्नो सिर्जनालाई लिपपोत गर्न जान्नुपर्छ। शब्दको लिपपोत कही बाक्लो र कही पातलो हुनुले कविताको सौन्दर्यमा विविधता थप्छ। यो कुरामा कवि निकै सजग छन। शब्दलाई मसाइलो र मधुर लिपपोत गर्न सिपालु कवि ईश्वरमणि अधिकारी ‘सानु साथी’ कवितासङ्ग्रहमा अब्बल भेटिन्छन। यो कविको गुण हो र कविताप्रतिको लगाव र चिन्तनको प्रतिफल हो।
मनको जडबाट मुक्त भएपछि मुक्त आकाशमा छिरलिएका शब्दहरुलाई संगालेर गति दिनु सर्जकको दायित्व हो। शब्दहरुलाई प्राण दिएर जीवन्त बनाउने बाटोमा यो कवितासङ्ग्रह उभिएको छ। सर्जकको बहुआयाम र चातुर्यको अनुभवले पोतिएपछि शब्दहरुले जीवन पाएका छन। काव्य लेखनमा शब्द जीवन्त बन्नु नै सर्जकको ठूलो उपलब्धि र पाठकका लागि उचित खुराक र प्रेरणा हो।
मुटु ईश्वर हो
ईश्वरको त मुटु मै तिमी छ्यौ
हुन्जेल तिमी मुटुमा
कसरी मुटुरोगी हुन सक्छ ईश्वर? (४९)
मानव स्वभावको छिँडीबाट हेर्दा मानवले सत्यलाई शंका मान्नसक्छ। अरु प्राणीको नजरबाट सत्य भनिएका कतिपय चिजहरु बेकार पनि हुनसक्छन। कविको यो प्रकारको चेतले गर्दा पनि कविताहरुमा खोट लगाउने ठाउँ भेटिंदैन।
सत्य जस्तो देखिने जीवनको रहस्यमय पाटोलाई कविले नदीझैं बगाएका छन। जीवनलाई नझुक्याइ छुटहरुको समीपमा ओत बसेर कविले शब्दहरुको जीवनलाई कुदिरहेछन। शब्द ठिक ठाउँमा ठिक तरिकाले कुदिएपछि उचित ठाउँमा जग बसाल्नु कविको अर्को चलाखी र क्षमता हो। शब्दहरुको जग यसरी निर्माण गरिएको छ जो हेर्दा सुन्दर र शब्दको सिँढी उक्लदा उत्तिकै रोमान्चक र आकर्षक लाग्छ।
आफ्नो समयको कालखण्डमा हरकोहि सर्जकले नयाँपन दिने कोसिस गर्छ। नयाँपनमा बोधको आँचल ओढेर आएका सिर्जनाहरु पृथक र स्तुत्य हुन्छन। आफ्नो समयको चेतसँगै प्रतिनिधिमूलक सर्जक बनेर कवि यस कविताकृतिमा उपस्थित भएको पाइन्छ। कविले सरल शब्दको प्रवाह गरेर कवितामा बहुआयाम बोल्न खोजेका छन।
सरसर्ती कविताहरु पढ्दै जाँदा कवि कौतूहल लाग्छन। अधिकांश कविताहरु प्रश्नहरुले घेरिएका छन। अध्ययनको मैदान जब फराकिलो बन्छ तब सिक्ने उत्कण्ठा स्वतहः फैलिँदै जानेरहेछ जस्तो भान कविता पढ्दै गर्दा पाठकलाई लाग्न सक्छ। कविको सिक्ने इच्छा र उत्सुकता कविताका बुनोटले देखाउँछ। सिकाइको भाषा निरन्तर प्रवाह हुन्छ भन्ने सन्देश कविले कवितामार्फत् सुक्ष्मरुपमा व्यक्त गरेका छन।
कविताको विविधतामा कवि निकै चलाख देखिएका छन। आमाको नाममा होस् या सन्ततिको नाममा, मित्रको नाममा होस् या प्रेमिकाको नाममा, ईश्वरको नाममा होस् या सन्देहमा, दर्शनमा होस् या बोधमा कवि निकै सजगका साथ प्रस्तुत भएका छन। यो विविधतालाई सुन्दर शब्दले बाँधेर कविले आफूलाई भीडबाट अलग देखाउन सफल भएका छन्।
कवि सम्बन्धलाई कविता जस्तो काव्यिक र मृदुल होस् भन्ने अपेक्षा गर्दछन। कवि जीवनलाई रहरहरुको उकालो चढाएर आफूलाई गहिराइमा खोज्छन। कवि भावको अतिमाथि पुग्छन र कतै अस्वभाविक जस्तो देखिन्छन। भावको चरम अवस्था सिर्जनाका लागि कति हानिकार हुन्छ भन्ने धेय कविलाई हुँदाहुँदै पनि कवि हृदय पग्लिगएको कविले मेसो पाउदैनन्।
सम्बन्ध र साथहरुको धूर्तताबाट विक्षिप्त समाजको निराशा देखेर कवि थकित देखिन्छन। प्रेमको रङले पोतिएपछि चुलिएको प्रेमको शिखरमा कवि उज्यालो देखिन्छन। प्रेमको रङ बदलिएपछि भासिएको विचारले कवि मोहयात्राबाट मुक्ततर्फ डोरिन्छन। र कविले यात्राका लागि नवीन यात्राको सुरुवात गर्दछन् जो फर्कनुको पिडासँग नजोडियोस् भन्ने चाहाना राख्छन।
मानिसले आफ्नो स्वार्थका लागि निर्माण गरेका कतिपय चिजहरुले नै मानिसलाई दास बनाइराखेका छन। उपयोग र उपभोगको भारमा आफ्नै कारण थला परेको मनुष्यमाथि कविले व्यङ्ग्य प्रहार गरेका छन्।
बाँध्न त म पनि
घडी नै बाँध्छु नाडीमा
तर त्यही घडीले यसरी बाँध्छ मलाई
कि घडीको टिकटिक आवाजसँगै
समयले मेरो साससित
बाँच्नुको दस्तुर असुल गरिरहन्छ। (५)
जीवन भोगाइ र जीवनको आफ्नै घेरोले थिलो परेपछि कवि स्वतन्त्र हुन चाहन्छन। भनिन्छ, मनको संग्रह जीवन हो। जीवनको रेखामा भोगाइका यातनाले सिकाइका शृङ्खलाहरु पार गर्दैगर्दा मनको चन्चलताले दुविधा ल्याउनु स्वभाविक हो। त्यसैले यही मनको आकाशले निर्माण गरेको स्वतन्त्रतामा कवि फकिरी चाहन्छन।
जिन्दगीको यो मोडमा
यतिखेर यस्तो लागिरहेछ,
खुला आकाशमा कावा खाइरहेको होस्
आफ्नो जिन्दगी
जो बिल्कुलै हल्का र वजनरहित होस्
जहाँ आफ्नो चेत कपास होस्
आफ्नै विचारहरुको पनि भार नहोस्
घरि घरि खिल गाड्न आइरहने
आफ्ना स्वप्नहरुको आतङ्क त झन हुँदै नहोस्। (६)
कवि खेतका आलीहरुमा बस्छन र गाउँ मुस्कुराउछन। कवि सहर पस्छन र बाध्यता बाँच्छन। कविले समयलाई डोर्याएर क्यानभाषमा स्वप्न स्केचका कविताहरु कोर्छन। आफू मुस्कुराएकोमा हाँस्न बिर्सेका मित्रहरुको नाममा, आफू अनुपस्थित हुँदा उपस्थित हुने यादहरुमा, आफूले सोच्दा उदाउने प्रेमिकाको समर्पणमा, आकाशको अलिकति किनारा सापट लिएर आफ्नो जून उमार्ने समयमा लगायत अनेक अनेक तिर कवि देखापर्छन र सुन्दर कविताहरु सिर्जना गर्छन्।
भ्रम मानेको चराचरमा कवि स्वतन्त्र उड्न चाहन्छन तर अन्योल देखिन्छन। सापेक्ष हुँदै गर्दा कवि सिर्जनाको उडानमा आफ्नो पन खोज्छन र बिरोधाभास जनाउँछन। यात्राको उडान चुनौतीहरुको पहाड हो। पहाड उक्लेर पुगिने मैदान आनन्दको आँखीझ्याल हो।
कविलाई आगामी काव्ययात्राको सतत् शुभकामना!