काठमाडौं। हवाई यातायात सुविधा सुरु हुनुअघि यात्रीहरु जिरी भएर सगरमाथा जान्थे। त्यही सगरमाथाको प्रवेशद्धार मानिने जिरीको पेरिफेरिमा हुर्किएका मानबहादुर तामाङ (४३ वर्ष) पर्यटकीय गतिविधिबाट प्रभावित भए। ‘पर्यटन क्षेत्रमा काम गरे पैसा कमाउन सकिन्छ’ भन्ने थाहा पाएका मानबहादुर सात कक्षामा पढ्दा पढ्दै ट्रेकिङमा काम गर्ने हुटहुटी बोकेर काठमाडौं हिँडे।
काठमाडाैंमा सुरुवाती दिनमा उनले साेचेकाे जस्ताे भएन। फुच्चे मानबहादुरलाई ट्रेकिङमा काम दिन कोही तयार भएनन्। सुरुवातीमा नै तितो अनुभव चाख्नु पर्यो।
केही उपाय नलागेपछि ढलानको काममा लागे।
काँचो उमेरका मानबहादुरलाई ढलानको काम पनि सहज हुने कुरै थिएन। गिट्टी बालुवाले भरिएको भाँडो बोक्दा टाउको नै कर्याक्क गर्थ्याे। तर, बाँच्नका लागि पनि काम गर्नु पर्थ्याे।
मानबहादुरले लामो समय ढलान र मजदूरको काम गरे। यही कामका लागि डोल्पासम्म पनि पुगे। दु:खकाे कुरा काम गरेको पैसा पाउन मुस्किल हुन्थ्यो। दिनको ८०–१२० रुपैयाँसम्म ज्यालामा काम गरिरहेका उनको एउटा ठेकेदारले २१ सय रुपैयाँ र अर्काे २३ सय रुपैयाँ दिएनन्। त्यसबखत यो रकम धेरै ठुलो थियो, मानबहादुरको लागि।
ठेकेदारबाट आजित मानबहादुरले कसम खाए,–‘बरु ऋण खोजेर खान्छु तर अबदेखि मजदुरी गर्दिनँ।’

पछि एकजना दाइबाट ‘स्टोफ’ बोकेर सगरमाथा आधार शिविर जाने अवसर आयो। त्यसपछि भारियाको रुपमा भारी बोकेर पोखरातिर जाने मौका पनि पाए। मानबहादुरको लागि यो ठुलो अवसर थियो। मौकालाई उनी खेर जान दिने अवस्थामा थिएनन्। त्यसैले आफ्नो जिम्मेवारी बडो मेहनतका साथ पुरा गर्थे।
त्यो मेहनतले ‘कुक हेल्पर’को ठाउँमा पुर्याइदियो।
कुक हेल्परको जिम्मेवारी बहनका लागि पनि बडो मेहनत गरे। उनमा डर थियो,– यदि अहिले राम्राेसँग काम गरिएन भने अर्कोपटक काममा लैजाँदैनन् कि भन्ने।
खाना खाएका भाँडा टिलिक्क टल्काएर माझथे। चट्ट चिया कफी बनाएर पाहुनालाई खुवाउँथे।
ट्रेकिङमा भाँडा टल्काउँदा टल्काउँदै सगरमाथा आरोहण टाेलीसँग क्याम्प कुकको रुपमा जाने अवसर पाए।
सन् २०१५मा सगरमाथा जाने अवसर मिल्यो।
सन् २०१४मा आरोही टोलीसँग तीब्बत पुगेपछि यो अवसर मिलेको हो।
उनी पहिलोपटक सगरमाथा जाँदा भूकम्प गएको थियो, जसलाई वैशाख १२को विनाशकारी भूकम्प भनिन्छ। त्यस विनाशकारी भूकम्पले सगरमाथा आधार शिविरमा विपद् निम्त्याउँदा यात्रा असफल भयो।
भूकम्पबाट सगरमाथा आरोहणका लागि विभिन्न देशबाट आधार शिविर पुगेका टोलीहरु प्रभावित भएका थिए। गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प जाँदा सगरमाथा आधार शिविरमा भीषण हिउँपहिरो गएको थियो। त्यस विपद्मा परेर २२ जनाको मृत्यु भएको थियो।
मानबहादुर त्यो विपद्को समयमा आफ्नो टोलीसँग क्याम्प– २ मा पुगेको दुई दिन भएको थियो। भीषण हिमपहिरोपछि आरोहण रोकियो। उनीहरू हेलीमा आधार शिविर फर्किए।
सन २०१६मा उनी क्याम्प– ३ सम्म पुगे।
अनि, २०१७ र २०१८मा भने व्यक्तिगत कारणले सगरमाथातिर लम्किएनन्।
सन् २०१९मा उनी फेरि सगरमाथातिर लम्किए, उही कुक हेल्परको जिम्मेवारी बोकेर। तर, त्यो वर्ष जीवनकाे एउटा खास समय बन्याे।
उनी उसैगरी आफ्नो जिम्मेवारी बहनमा तल्लीन थिए।
इन्टरनेसनल माउन्टेन गाइड पेम छिरिङले अगाडि उभिएर भने, ‘तिमी जान सक्छौं?’
मानबहादुरले हौसिएर जवाफ फर्काए, ‘चान्स दिइयो भने जान्छु दाइ।’
त्यसपछि मानबहादुर पनि अरु आरोहीसँग सगरमाथा चुचुरोतर्फ उक्लिए। र, सन् २०१९ मे २२को बिहान ७ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको शीरमा पाइला टेके।
सन् २०२०को सुरुवातीदेखि संसार कोरोना महामारीका कारण ठप्प भयो।
पछि, सन् २०२३मा पनि अरु आरोहीसहित उनी सगरमाथा चुचुरोमा पुगे।
२०२४मा साउथ समिटमा पुग्दा बेस्सी हावा चल्यो। यात्रा असफल भयाे। र, लोत्से हिमाल आरोहण गरी फिर्ता भए।
यस वर्ष (२०२५) पनि मौसमले साथ नदिँदा उनकाे टाेली क्याम्प– ४बाट फर्किनु पर्यो।
मानबहादुरले हालसम्म सगरमाथा र लोत्से दुई–दुई पटकबाहेक आमादाब्लम, पाकिस्तानको जी– २, मनास्लु ८ हजार मिटरसम्म आरोहण गरेका छन्।

पहिलोपटक सगरमाथा चुचुरोमा पुग्दा बेस्सरी आँसु आयो
‘करियर’को सुरुवाती समयमा भरियामा समेत अयोग्य ठहरिएका मानबहादुरका लागि सगरमाथा आरोहण कल्पनाभन्दा पनि परको कुरा थियो। तर, कर्मको नतिजाले पोटर, कुक हेल्पर हुँदै आरोही, अरु आरोहीका भरपर्दो सारथीसम्म बनाइदियो।
पहिलोपटक सगरमाथा चुचुरोमा पुग्दा रनभुल्लमा परेको अनुभव सुनाउँछन्। ‘ट्याक्क टुप्पो देखेँ। बेस्सरी आँसु आयो’, उनी सुनाउँछन्।
विश्वको सर्वोच्च शिखरमा पाइला थिए। मुख मास्कले र आँखा चस्मालो ढाकेको थियो। उनका आँखाबाट आँसु झरिरहेका थिए। आँखाबाट झरेका आँसु छातीको अगाडि डाउन ज्याकेटमा डल्ला-डल्ला भएर अडिएका थिए। वरिपरि नियाल्दा सबै सम्मै देखिन्थ्यो। घाम उदाउँदै थिए कि अस्ताउँदै पत्ता लगाउन सक्ने वातावरण थिएन। मानबहादुरको मनमा कुरा खेलिरहेका थिए, ‘साला, त्यो ठाउँको मान्छे, कहाँबाट यहाँ आइपुगेँ। सपनामा पनि नभएको कुरा कसरी भयो।’
उनले चुचुरोबाट आमा र दाजु–भाइलाई कृतज्ञता व्यक्त गरे। भगवानलाई ढोगे। र, फोटो खिचेर फर्किए।
उनी आधार शिविर फर्किंदासम्म बधाईका धेरै म्यासेज र फोनहरु आएका थिए। जिरी क्षेत्रबाट सगरमाथा चढ्ने तामाङ समुदायको पहिलो व्यक्ति मानिएका उनलाई गाडीमा राखेर घुमाउने योजनामा सिंगो गाउँ थियो। तर, उनी समयमा घर फर्किन पाएनन्।
डरको अघि खुसी
सगरमाथा आरोहण कठिन र चुनौतीपूर्ण हुन्छ, जहाँ प्रत्येक मोडमा डरका बादल मडारिरहन्छन्। प्राकृतिक विपद्सँगको डर, सुरक्षा उपकरणसँगको डर, शारीरिक अनुकुलतासँगको डर र पाइलापाइलामा लट्पटिरहने लासहरुसँगको डर। मानबहादुरले यी सबै डरहरुसँग साक्षत्कार गरेका छन्। पहिलोपटक सगरमाथा क्षेत्रमा जाँदा २२ जनाको ज्यान जानेगरी आधार शिविरमा भीषण पहिरो गयो। त्यसको अघिल्लो वर्ष खुम्बु आइसफलमा पहिरो खस्दा १६ जना नेपाली शेर्पाहरुको जान गएका थिए।
पहिलोपटक सगरमाथा आरोहण पुरा गर्दाको समय क्याम्प– ४मा पुग्दा पछाडि डाउन ज्याकेटमा पसिना भरिएर चिसो महसुस भएको थियो। त्यतिबेला उनलाई लागेको थियो, ‘भरे राति चिसोले मरिन्छ कि क्या हो।’
आरोहणका क्रममा पाइलापाइलामा मानव शव (लास)हरु भेटिन्छन्। कोही डोरीमा झुन्डिरहेका, कोही खाल्डोमा पुरिएर टाउँको, हात वा खुट्टमात्रै देखिइरहेका। यसबीचमा लासमाथि टेकेर लक्ष्यतिर लम्किन साहस जुटाउनुपर्छ।
सुरु सुरुमा त्यस्ता लास देख्दा मानबहादुर पनि डराउँथे। पछि त्यो सामान्य बन्यो।
‘पहिलोपटक देख्दा त डर लाग्यो। लास बोल्छ कि भनेर मनमा कस्तो कस्तो हुन्थ्यो। तर, अहिले त बानी भइसक्यो’, मानबहादुरले सुनाए, ‘अघिल्लो वर्ष लोत्से चढ्दा बाटैमा लास थियो, त्यसको जिउमा टेकेर हिँड्नुपर्ने जस्तो तर केही फिल भएन।’
उनले अगाडि थपे, ‘लास एउटा मुढा मात्रै हो, त्यो जाबो मुढाले के गर्छ र।’
२०२५ मा लोत्से आरोहणको समयमा पनि मानबहादुरलाई अर्काे डरले त्रसायो। उनी छुटेका अक्सिजन ल्याउन एक्लै माथितिर उक्लिँदै थिए। रुघाखोकीले क्रसित बनायो। छाती बेस्सरी पोल्यो। क्याम– ३ मा यसरी अप्ठ्यारोमा पर्दा साथीहरुको साथ पनि पएनन्। ‘त्यतिखेर अलिकति चित्त दुख्यो’, उनले सुनाए।
परिस्थिति अप्ठ्यारो बनिदिँदा उनलाई कहिलेकाहीँ लाग्छ, ‘यो कुन जुनीको पाप हो?’
तर, आरोहण पुरा गरेर आधार शिविरमा फर्किएपछि वर्णन गर्न नसकिने खुसी अगाडि आइदिन्छ। ‘हिमाल दुःख र रिक्स हो। यहाँबाट जानुअघि फाराम भरेर ल्याप्चे लगाएर गएका हुन्छौं। दुःख त अति नै हो माथि, तर आरोहण गरेपछि गर्व फिल हुन्छ, साहस बढ्छ’, मानबहादुरले एभरेस्ट पेडियासँग भने, ‘बेस क्याम्पमा फर्किएपछि यसपाली बाँचियो भन्ने हुन्छ, त्यो सबैभन्दा खुसीको क्षण हो।’

गाउँको दुःख देखाउने सपना
विकटताको कारण उत्पन्न आफ्नो गाउँका समस्या देखेका र भोगेका मानबहादुरको मनमा समाज सेवाको भाव जागृत छ। उनले सडकछेउमा रहेको आफ्नो राम्रो मूल्यको जग्गा डोजर चलाएर सम्मो बनाएका छन्। भिरालो गाउँमा बिहे/पूजाको लागि सहज होस् भनेर। जसमा चार–पाँच सय मानिस अट्छन्। जहाँ उनले आफ्नो पिताको नामको छेतेनसमेत निर्माण गरेका छन्। छेतेन बौद्ध स्तुपाजस्तै हो।
त्यही जग्गामा ट्रस राख्ने सपना छ। ‘त्यसमा सानो ट्रस हाल्ने विचार छ। त्यस्तै ८/१० लाख लाग्ला’, मानबहादुरले सुनाए, ‘अब पालिकाबाट केही सहयोग पायो भने आफूले पैसा थपेर काम गर्न मन छ।’
मानबहादुरकाे साेच छ, ल्होसारमा गाउँमा कलाकार ल्याएर कार्यक्रम गर्ने, कार्यक्रममा जनप्रतिनिधिहरुलाई निमन्त्रणा गर्ने र गाउँको दुःख देखाउने।