काठमाडाैं। ‘नेपालकाे स्विजरल्याण्ड’ भनेर चिनिने दाेलखाकाे जिरीका सगरमाथा आराेही मानबहादुर तामाङ सम्मानित भएका छन्।
तामाङलाई पर्यटन प्रवर्द्धन मञ्च नेपालले सगरमाथा दिवसकाे अवसरमा साेमबार नयाँ बानेश्वरस्थित उमाेजा कफीमा एक कार्यक्रममार्फत सम्मान गरेकाे हाे। विश्वकाे सर्वाेच्च शिखर सगरमाथा आराेही गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएकाेमा सम्मानपत्रसहित उनलाई सम्मान गरिएकाे हाे।
उनी सन् २०१९काे मे २३मा पहिलाेपटक सगरमाथा आराेहण गरी जिरी क्षेत्रबाट सगरमाथा आराेहण गर्ने तामाङ समुदायकाे पहिलाे व्यक्ति बनेका थिए। तामाङले सन् २०२३मा दाेस्राेपटक सगरमाथा आराेहण गरेका थिए।
मानबहादुर तामाङ
यसपटक पनि सगरमाथा क्षेत्रमा पुगेर फर्किएका तामाङलाई पर्यटन क्षेत्रमा थप सफलताकाे शुभकामनासहित सम्मानपत्र प्रदान गरिएकाे पर्यटन प्रवर्द्धन मञ्च नेपालका अध्यक्ष लिलाराम खड्काले जानकारी दिए।
सम्मानपत्र ग्रहणपछि आराेही तामाङले खुसी व्यक्त गर्दै पर्यटन क्षेत्रमा काम गर्न थप हाैसला मिलेकाे बताए।
सन् २०१३देखि पर्यटनकर्ममा लागेका तामाङले सगरमाथासहित अन्य हिमाल पनि आराेहण गरेका छन्। जिरी नगरपालिका वडा नं. ०९मा जन्मे/हुर्केका तामाङ सामाजिक काममा पनि सक्रिय छन्। उनकाे सक्रियतामा गाउँमा केही विकासका कामसमेत भएका छन्।
जिरीका सगरमाथा आराेहीलाई सम्मान कार्यक्रम
पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेकाे पर्यटन प्रवर्द्धन मञ्च नेपालले २०८२काे सगरमाथा दिवसका अवसरमा ‘जिरीका सगरमाथा आराेहीलाई सम्मान अभियान’ सुरूवात गरेकाे छ।
बिहीबार जिरीका सगरमाथा आराेही लालबहादु जिरेल र सोनाम शेर्पालाई सम्मान गरेकाे मञ्चले साेमबार तामाङलाई सम्मान गरेकाे हाे। यस अभियानअन्तर्गत जिरीका अन्य सगरमाथा आराेहीहरूलाई पनि सम्मान गरिने अध्यक्ष खड्काले बताए।
सम्मान कार्यक्रममा उपस्थित अतिथि।