काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी प्रेरणादायी काम गरेका जिरी नगरपालिकाका दुई जना पर्वतारोही सोनाम शेर्पा र लालबहादुर जिरेल सम्मानित भएका छन्। सगरमाथा दिवसका अवसरमा बिहीबार उनीहरूलाई पर्यटन प्रवर्द्धन मञ्च नेपालले सम्मान गरेको हो।
शिक्षासेवी टेकबहादुर जिरेलको प्रमुख आतिथ्य एवम् विशिष्ट व्यक्तिहरूको सहभागितामा सम्मानपत्र प्रदान गरियो। कार्यक्रममा सहभागी सबैले खादा लगाएर उनीहरूको अभिनन्दन गरेका थिए।
‘समाजका लागि योगदान दिनेहरूको सम्मान गर्ने परम्परा बसाएर मञ्चले उदाहरणीय काम गरेको छ’, कार्यक्रममा शिक्षासेवी जिरेलले भने, ‘जिरी नगरपालिकाले पनि यसबाट सिक्नु पर्दछ।’
सम्मानले आफूमा ऊर्जा बढेको भन्दै दुवै पर्वतारोहीले कृतज्ञता व्यक्त गरेका थिए। ‘उहाँहरूको सत्कर्मले हामीलाई जीवनमा उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गरिरहने छ’, मञ्चका अध्यक्ष लिलाराम खड्काले भने, ‘पर्यटनसँग समाजसेवामा लाग्नु भएका आदरणीय व्यक्तित्वहरूको सम्मान गर्न पाउँदा हामी गौरवान्वित भएका छौं।’
मञ्चले उदाहरणीय पर्यटनकर्मी, समाजसेवी, संस्कृतिकर्मी आदिको सम्मान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
-1748621536.jpg)
लालबहादुर जिरेल
जिरी नगरपालिका वडा नं. ४ रातमाटेका लालबहादुर जिरेलले दुईपटक सगरमाथा आरोहण गरिसके। उनी जिरेल समुदायबाट सगरमाथा चढ्ने पहिलो पर्वतारोही हुन्। उनले सन् २०१० मे २३ मा उत्तरी मोहडाबाट र सन् २०१९ मे २३ मा दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गरेका हुन्।
पेसाले जिरेल माउन्टेन गाइड हुन्। काठमाडौंको ‘हिमालयन एक्सटासी ट्रेक्स एन्ड एक्सपिडिसन प्रा.लि.’ मार्फत् पर्वतारोहण र पदयात्रा गराउँछन्। विदेशमा पुगेर पनि पर्वतारोहणसम्बन्धी तालिम दिन्छन्।
उनी कक्षा ८ मा पढ्दैदेखि पर्यटनमा लागेका। त्यतिबेला स्कुलको फिस तिर्न र कापिकलम किन्न भनेर विदेशीका भारी बोकेर सगरमाथा आधारशिविर पुगेका थिए। पछि पथप्रदर्शकमा बढुवा भए। समयसँगै पर्वतारोहणमा लागे।
उनी साहसिक पर्वतारोही मात्र होइनन्, सामाजिक अभियन्ता पनि हुन्। जन्मथलोको विकासका लागि ‘जिरी इमरजेन्सी रिलिफ फन्ड’मार्फत् काम गर्दै आएका छन्। साथै जिरीको शिरमा अवस्थित हिलस्टेसन चेर्दुङको प्रवर्द्धनमा समेत सक्रिय छन्।
प्रेरणादायी पर्वतारोही जिरेल सिँगो जीवन पर्यटन र समाजसेवामा विताउन चाहन्छन्। उनलाई धेरै-धेरै शुभकामना !
-1748621533.jpg)
सोनाम शेर्पा
जिरी नगरपालिका वडा नं. ७ हिले गाउँ, दोलखाका सोनाम शेर्पा जेठ ९ गते बिहान ६ बजे सगरमाथाको शिखरमा पुगेका थिए।
‘जीवनमा एकपटक सगरमाथाको चुलीमा पुगौं भन्ने थियो’, उनले भने, ‘त्यहाँ पुगेर हेर्दा संसार अनौठो लाग्यो। खुसीले भावुक पनि बनें।’
त्यसो त उनी ट्रेकिङ र माउन्टेन गाइड हुन्। अराउन्ड दि हिमालयज् कम्पनी मार्फत् काम गर्दै आएका छन्। त्यसैले पर्यटकलाई हिमाल चढाउने र पदयात्रा गराउने काम गर्दछन्।
२३ वर्ष भयो उनी पर्यटनमा लागेको। सुरुका दिनमा भरियाका रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए। समयसँगै असिस्टेन्ट गाइड हुँदै अघि बढेका हुन्। अचेल उनी काठमाडौंको बौद्धमा बसेर काम गर्छन्।
सोनाम आरोही मात्र होइनन, सांस्कृतिक अभियन्ता समेत हुन्। उनी जन्मथलोमा शेर्पा भाषा तथा धर्मसंस्कृति संरक्षणमा क्रियाशील छन्। उनी ‘हिले निगाले कम्युनिटी लर्निङ सेन्टर’को अध्यक्ष समेत हुन्।
अबका योजना के-के छन् त?
‘बाँकी जीवन सामाजिक काम र पर्यटनमा विताउने छु’, ४३ बर्से शेर्पा भन्छन्, ‘सायद अब ८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्दिनँ होला।’
पर्वतारोही शेर्पालाई धेरै- धेरै शुभकामना!