कविता:
न कोही अगाडि छन्
न त कोही छन् पछाडि नै
वैध/अवैध खै कस्तो हो बाटो
आखिर दिएनन् कसैले साथ पनि
न त भन्न नै बाँकी राखे
लाज/सङ्कोच नै छैन भनी।
मगजमा घुमिरहन्छ यौटै कुरा
जसरी भए पनि बढ्नु न हो अगाडि
र त बढिरहन्छन् पाइलाहरु
यही सिद्धान्त अपनाउदै
किन्दै जान्छन् समर्थन
सम्मान दिएर
हो, उनी एकल यात्री
जता मन लाग्छ
उतै पाइला चाल्छन्।
हिन्दाहिन्दै टक्क अडिएर
लगाइदिन सक्छन् पगरी
ओढाइदिन सक्छन्
खादा, दोसल्ला
विविध थरी मोलमोलाइ गरी
बोकाइदिन सक्छन् सम्मानको भारी।
देख्ने आँखाहरू भन्छन्
फगत एक आसनका लागि
कति बाँडिन्छन् यहाँ आश्वासनहरू!
पगरीको भोक मेटाउन
कछाड फुत्किने गरी तँछाडमछाड
किन दौडिन्छन् यहाँ अतृप्त आत्माहरू?
किन लत्रिन्छन् यहाँ शिरहरू?
किन पस्किन्छन् अनि थापिन्छन् यहाँ
थरीथरी विशेषणका व्यञ्जनहरू?
कसैले माने पनि नमाने पनि
आफूले आफैंलाई मान्न
कसले रोकेको छ र?
कसैले फरक मत जनाएर पनि
आँखिर के नै भो र?
धर्तीमा अरू पनि त छन्
आत्मश्लाघामा रमाउनेहरू
पंखहरू तौल्दैछन् कति
मपाइँत्वको उडान भर्नेहरू
समय घर्किएको ध्यान छैन
आज हो कि भोलि ठेगान छैन
विरासत ठानेर
गोमनसरी फणा फैलाई
कुण्डली मारेर बसेकै छन्
हेर्नेहरूले भन्छन् ठीक गरेका छन्
यस अन्कण्टार अरण्यभित्र
मानवविहीनताको लाभ उठाई
सकेको राइँदाइँ गरेकै छन्
महत्वाकांक्षाको वाणले
उठ्न खोज्ने शिरहरू छिन्दै जान्छन्
उनी एकल यात्री
आफ्नै धुनमा हिन्दै जान्छन्।
यहाँ बोल्न खोज्ने शब्दहरू छन्
तर ती मौन छन्
विद्रोहका स्वरहरू छन्
तिनलाई पनि पक्षघात भएको छ
त्रस्त छन् केही स्वर
मालिक रिसाउने डरले
बोल्ने चेष्टा गर्दा पनि
बुजो लागिदिन्छ घाँटीमा
आँखिर दास मन न हो
मालिकको हप्की देखी डराउँछ
मानौं सुनियोजित ढङ्गले
तैं चुप , मै चुप छन्
यही अवसरमा एकल यात्री
धावन मार्गमा कुदेकै छन्
शून्य प्रतिस्पर्धाको दौडमा
स्वयम्लाई उछिन्दै जान्छन्
जिम्मेवारीको पहाड बोकेर
निरुद्देश्य हिन्दै जान्छन्।
साधन छ, साधना छैन
गोरेटो छ दूरदर्शी योजना छैन
यात्रा छ तर गन्तव्य छैन
यसरी पनि उसरी पनि
जसरी पनि
उनी स्वच्छन्द छन्
अचेल सबैले प्रश्न गरिरहेकै हुन्छन्
ए, एकल यात्री
तिम्रो क्यालेण्डरमा भोलि हुन्छ कि हुँदैन?
यसरी साँध सीमाना मिचेर
कहिलेसम्मन् हिँडिरहन्छौ हँ!