काठमाडाैँ । नेवारी कलासंस्कृतिको अनुपम भण्डार हो, भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका। यहाँ वर्षैभरि विभिन्न जात्रापर्व भइरहन्छ। नगरको बोडे भन्ने ठाउँमा वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ। मिडियामा यसको व्यापक चर्चा हुन्छ। तर, बोडे नजिकै दिगु टोलमा पनि इन्द्रजात्राको भोलिपल्ट येयाँ पून्हीका दिनमा जिब्रो छेड्ने जात्रा मनाइन्छ। यसमा मिडियाको नजर परेको देखिँदैन।
बोडेमा दिउँसो जिब्रो छेडिन्छ भने दिगु टोलमा राती। मध्यपुर थिमी नगरपालिका वडा नं. ५, दिगु टोलस्थित भैरव मन्दिर प्राङ्गणको डबलीमा स्थानीय बिरेन्द्रभक्त गजु श्रेष्ठले चार पटक जिब्रो छेडाइसकेका छन्।
-1758714881.jpeg)
उनले वि.सं. २०७४, २०७९, २०८१ र २०८२ मा जिब्रो छेडाएर परम्परा र संस्कृति संरक्षणमा अतुलनीय योगदान पुर्याए। १० इन्च लामो फलामको सुइरो जिब्रोमा छेडाएर घण्टौंसम्म धार्मिक पदयात्रा गरिन्छ।
वि.सं. २०८१ असोज २ गते राती ८ः१० बजे जिब्रो छेडाएपछि उनी आकाशदीप बोकेर नगरका विभिन्न ठाउँ परिक्रमा गर्दै पुरानो थिमी, सिनामङ्गल हुँदै पशुपतिनाथ मन्दिर पुगेका थिए। पशुपतिनाथमा तत्कालीन पर्यटन तथा संस्कृति मन्त्रीले जिब्रो छेडिएको ठाउँमा सुनको चम्चाले चाँदीको कचौरामा राखिएको तोरीको तेल राखेर उनको सम्मान गरेका थिए। त्यो चम्चा र कचौरा श्रेष्ठलाई उपहार दिइएको थियो।
पशुपतिनाथ परिक्रमा र दर्शनपछि उनीहरू गएकै बाटो फर्केका थिए। यसरी त्यो दिन साँढे ८ घण्टासम्म उनको जिब्रोमा सियो छेडिएको थियो। फर्केर बालकुमारी मन्दिरमा आएपछि मात्र सुइरो झिकियो। त्यसको लगत्तै उनी भोजमा सहभागी भएका थिए। यो वर्ष अर्थात् वि.सं. २०८२ भदौ २२ गते राती जिब्रो छेडाएपछि उनले आकाशदीप बोकेर नगर परिक्रमा गरे। अनि भक्तपुरको दत्तात्रय र नवदुर्गा मन्दिरसम्म धार्मिक पदयात्रा गरेर फर्के। त्यो दिन पनि ८ घण्टासम्म उनको जिब्रोमा सियो थियो।
जिब्रो छेडेपछि आकाशदीप बोकेर धार्मिक पदयात्रामा भक्तपुर दरबार क्षेत्रमा ।
‘संस्कृति जोगाउन र परम्परा धान्न जिब्रो छेडाएको हुँ’, ३८ वर्षे बिरेन्द्रभक्त भन्छन्, ‘जात्रामा सबैको सहयोग र हौसला पाइन्छ। त्यसैले त्यति ठुलो सुइरोले जिब्रो छेड्दा पनि दुखेको अनुभूति हुँदैन।’
दैवी तथा प्राकृतिक विपत्तिबाट समाजलाई बचाउने उद्देश्यले यसरी जिब्रो छेडाउने गरिन्छ। परापूर्वकालमा रोगब्याधी, डर र भयले त्रसित गाउँलेलाई शान्ति दिलाई सुखसँग बाँच्ने वातावरण बनाउन एक सहासी व्यक्तिको जिब्रो छेडेर नगर घुमाइयो। साथै बस्तीमा पिचास र भूतप्रेत नपसून भनेर तिनलाई भगाउन उनलाई चाँगुनारायण, गुहेश्वरी र पशुपितनाथसम्म परिक्रमा गराइएको थियो।
जिब्रो छेडिएकै अबस्थामा महादीप तथा आकाशदीप बोकेर सर्बसाधारणसहित नगर तथा वरपर परिक्रमा गर्ने चलन छ। यसबाट समाजमा शान्ति, सुरक्षाको वातावरण बन्नुका साथै सहकाल आउने जनविश्वास छ। त्यही परम्परालाई धान्न थिमीमा जिब्रो छेड्ने गरिन्छ। यसरी जिब्रो छेडेर परिक्रमा गर्नेलाई देवताको रुप मानिन्छ।
-1758714882.jpeg)
यो जात्रा वि.सं. २०२६ सालबाट लोप भएको थियो। वि.सं. २०५० सालमा संस्कृतिकर्मी श्रीकृष्ण नानी श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई पुर्नजीवन दिए। उनले तीन पटक वि.सं. २०५०, २०५७ र २०६३ सालमा जिब्रो छेडाए। बिचका केही वर्ष जात्रा लोप भयो। पछि बालकुमारीका बिरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाए। उनले चार पटक जिब्रो छेडाइसके।
‘अर्को वर्षका लागि नयाँ युवा तयार भइसकेका छन्’, विरेन्द्रभक्त भन्छन्, ‘यसरी धार्मिक काममा योगदान पुर्याउँदा मनमा शान्ति मिल्दो रहेछ ।’
भाद्र शुक्ल पूर्णिमाका दिन यो जात्रा मनाइन्छ। महिना दिन पहिलेदेखि जात्राको तयारी गरिन्छ। जिब्रो छेड्ने फलामे सुइरो स्थानीय नकर्मीले बनाउँछन्। सुइरो बनाउन अर्डर गर्न जाँदा पूजा सामान, तोरीको तेल, कपास, रातो भाले र समयबजी (खाजा)सहित नकर्मीको घरमा जाने परम्परा छ। नकर्मीले सुइरो बनाएपछि त्यसलाई तीन हप्तासम्म तोरीको तेलमा डुबाइन्छ। यसो गर्दा फलामे सुइरोमा खिया लाग्दैन।
जिब्रो छेड्नुभन्दा ८ दिन अगाडिदेखि अष्टमातृकाको पूजा गरिन्छ। जिब्रो छेड्ने अघिल्लो दिन इन्द्र जात्रा पर्दछ। इन्द्र जात्राको दिन बालकुमारी मन्दिरमा पूजा गरेर सामूहिक भोज खाने चलन छ। भोलिपल्ट येंयाँ पून्हीका दिनमा जिब्रो छेड्ने व्यक्ति मौन व्रत बसेर बालकुमारीमा पूजा गरिन्छ। बेलुकीपख हजारौंको उपश्थितिमा परम्परागत तरिकाले जिब्रो छेडिन्छ।
अब जिब्रो छेड्ने व्यक्तिको इच्छा अनुसारका विभिन्न ठाउँमा परिक्रमा गरिन्छ। त्यसपछि फर्केर बालकुमारीमा कमी नायोले जिब्रोबाट फलामे सुइरो झिक्छन्। यसरी झिकिएको सुइरो भोलिपल्ट बालकुमारी मन्दिरभित्र ठोकिन्छ।
-1758714878.jpeg)
जिब्रो छेडाउन इच्छाशक्ति, धैर्य र आँट चाहिन्छ। अघिल्लो दिन भोज खाएपछि जिब्रो छेडेर नगरपरिक्रमा गरेर बालकुमारी मन्दिर फर्केर फलामे सुइरो नझिकेसम्म पानी पनि खान मिल्दैन। गहिरो धार्मिक आस्था भएकाले मात्र यो काम गर्न सक्छन्।
बिरेन्द्रभक्तले पहिलो पटक ६ घण्टा, दोस्रो पटक ५.५ घण्टा र तेस्रो पटक ८.५ घण्टा र चौंथो पटक ८ घण्टासम्म जिब्रोमा सुइरो छेडाएका थिए। यसरी संस्कृति संरक्षणमा लागेका बिरेन्द्रभक्तसहित सम्पूर्ण संस्कृतिकर्मीलाई शुभकामना !
बिरेन्द्रभक्तको ६ जनाको परिवार छ। उनले भाइ राजेशसँग मिलेर थिमीको दुई पोखरीस्थित नवरत्न लाइफ स्कुल छेवैमा ‘तमीदेवा स्ट्रिट फुड‘ नामक खाजाघर सञ्चालन गर्दै आएका छन्। त्यहाँ पुगेर नेवारी परिकारको स्वादसँगै जिब्रो छेड्दाका अनुभूति सुन्न सकिन्छ। जात्रा खर्चिलो छ। खर्च धेरै लाग्ने र जिब्रो छेडाउने मान्छे नहुँदा बिचमा जात्रा मनाइएन।
बिरेन्द्रभक्त गजु श्रेष्ठ, संस्कृतिकर्मी
थिमीको जिब्रो छेड्ने जात्रा अनौठो सांस्कृतिक परम्परा हो। यसलाई पर्यटकीय प्रोडक्टका रुपमा विकास एवम् मार्केटिङ गर्न सकिन्छ। देश तथा विदेशका पर्यटक थिमिको मौलिक संस्कृतिमा चाखपूर्वक भाग लिन्छन्। दिनभर थिमीका सांस्कृतिक सम्पदा घुमाएर साँझ जात्रा देखाउन सके एक रात पर्यटकलाई थिमीमै राख्न सकिन्छ। त्यसैले यसमा स्थानीय सरकार, पर्यटनकर्मी र नगरबासीले हातेमालो गर्नुपर्ने देखिन्छ।