मनास्लु क्षेत्रमा एउटा नयाँ पदमार्ग ब्रान्डिङ गरिएको छ, ‘रुबीनाला पदमार्ग’। गोरखा जिल्लाका तीन गाउँपालिका धार्चे, बारपाक सुलिकोट र चुमनुब्री गाउँपालिकामा पर्ने पदमार्ग। काठमाडौंबाट निस्कने पदयात्रीले जम्माजम्मी ९ दिन छुट्याए पुग्छ।
पदमार्गको सुरु र अन्तिम बिन्दुमा दुई रात होटलमा बास बस्नु पर्दछ। बाँकी ७ रात क्याम्पिङको विकल्प छैन। जैविक विविधताले भरिपूर्ण पदमार्गको क्लाइमेक्स विन्दु ‘रुबीनाला भन्ज्याङ’ (४,७३० मिटर) हो। यहाँबाट रानी हिमाल, गोर्खा हिमाल, बुद्ध हिमाल, चराचुरुङ्गी हिमाल, स्याला पिक, हिमालचुली लगायत हिमशृङ्खलाको मिठो दृश्य देखिन्छ।

अर्को महत्त्वपूर्ण कुरा, रुबीनाला भन्ज्याङ पार गरेको भोलिपल्ट मेचेतबाट अघि बढ्दा १२ सय मिटर लामो हिमपहिरोमा टेकेर हिँड्नु पर्दछ। हिमपहिरो माथि ठुल्ठुला ढुङ्गा छन्। तिनै ढुङ्गामाथि गोब्रे सल्ला उम्रिएका छन्। यस्तो ठाउँबाट हिँड्नु पर्ने भएकाले अनुभवी पथप्रदर्शकको सहयोग अनिवार्य छ।

पदमार्गमा पर्ने जोङ्चेत माथि झेल्ट्राङ गुफा पनि छ। गुफा नजिकै १०८ ओटा प्राकृतिक धारा छन्। यहाँ वैशाखे चण्डी पूर्णिमामा मेला लाग्छ। त्यतिबेला विशेषतः लोअर र अपर मनास्लुका बौद्धमार्गी यहाँ आएर नुहाउने गर्छन्। यस क्षेत्रको विकासमा सव्रिmय पर्यटनकर्मी साने गुरुङ भन्छन्, ‘उनीहरू नुहाएर पूजापाठ गर्छन्। बौद्ध मन्त्र लेखिएका ध्वजापताका चढाउँछन्। अनि मनोकामना पूरा होओस् भनेर भाकल पनि गर्छन्।’
पदमार्गमा प्राकृतिक ढुङ्गाका दुइटा पुल पनि छन्। जडीबुटीका हिसाबले समेत रुबीनाला समृद्ध छ। हिमाली भेकमा प्राकृतिक उपचार गर्ने आम्चीहरूका अनुसार यहाँ किसिम किसिमका जडीबुटी पाइन्छन्। साथै कस्तुरी, मृग, भालु, हिउँचिुतुवा, घोरल, नावर, लङ्गुर, दुम्सी, डाँफे, मुनाल, कालिज लगायत जनावर र पन्छी पनि पाइन्छ।

प्रायः पदमार्ग राम्रो छ। तर, रुबीनाला भन्ज्याङबाट ठाडोफुक (ओढार) जाने पदमार्गमा भने कहिलेकाहीँ ढुङ्गा झर्छ। त्यसैले होसियारीपूर्वक हिँड्नु पर्दछ। अर्को रोमाञ्चक दृश्य बुद्ध हिमालमा देखिन्छ। यहाँ छिनछिनमा हिउँपहिरो झरिरहन्छ। तर, यसले पदमार्गलाई असर गर्दैन।
विशेषतः युवा पदयात्रीका लागि यो पदमार्ग उपयुक्त छ। रुबीनाला पदयात्रा गरेर जाँदा लार्केपास गर्न सजिलो हुन्छ। यसरी एक्लमटाइज भएर जाँदा राम्रो हुन्छ।

रुबीनालाको विकासका लागि केही काम गरिएको छ। पदमार्र्ग सुधार गर्नुका साथै ठाउँठाउँमा प्रतीक्षालय र धर्मशाला बनाइएका छन्। मम्चे भन्ज्याङ, लम्राखर्क, रुसीखर्क, मिर्चा खोला, रुबीनाला फेदी, मेचेत, जोङ्चेत, उतेखर्क, रुक्सुङ र सेराङ खर्कमा धर्मशाला बनाइएका छन्। रुबीनालाको हाइ क्याम्पमा हेलिप्याड समेत बनाइएको छ। स्थानीय गाउँपालिका र पर्यटन विभागको सहयोगमा यी काम गरिएका हुन्।
रुबीनाला पदयात्रा सकेर चुम भ्याली, अपर मनास्लु र गणेश हिमाल बेसक्याम्पसम्म पनि पदयात्रा गर्न सकिन्छ।
साहसिक, प्राकृतिक एवम् आध्यात्मिक भूमि भएकाले ‘रुबीनाला पदमार्ग’को भविष्य उज्यालो देखिन्छ्।
रुबीनालाका हिउँचितुवा

गोरखाको धार्चे गाउँपालिका वडा नं. ५, याम गाउँमा जन्मेहुर्केका साने गुरुङ अहिले ५८ वर्षका भए। उनी पर्यटनमा लागेको पनि २७ वर्ष पुग्यो। भरिया बनेर पदयात्रा सुरु गरेका गुरुङ अचेल पथप्रदर्शकको भूमिका निर्वाह गर्छन्। यति मात्र होइन, उनी गोरखाकै हिलस्टेसन धार्चे र रुबीनाला पदमार्गको ब्रान्डिङ, विकास र प्रचारप्रसारमा क्रियाशील छन्।
४१ वटा हिमाल देखिने धार्चे (३,२२० मिटर) घुम्नलायक छ। छोटोमिठो पदयात्रा रुचाउनेका लागि धार्चे प्रकृतिको सुन्दर उपहार हो। यसकै नामबाट उनले ‘धार्चे मनास्लु पर्यटन विकास समिति’ गठन गरेर काम गर्दै आएका छन्। उनी वि.सं. २०६५ देखि धार्चेको विकासमा लागेका हुन् भने वि.सं. २०६३ सालदेखि रुबीनालाको प्रवद्र्धनमा समर्पित छन्।
नजिकबाट चिन्नेहरू उनलाई ‘रुबीनालाको हिउँचितुवा’ सम्बोधन गर्छन्। उनी कहिले समूहमा त कहिले एक्लै पनि रुबीनाला पदमार्गमा डुलिरहन्छन्। तन, मन र समय दिएर रुबीनालामा सव्रिmय छन्।
‘रुबीनाला पदमार्गलाई मोटर बाटोले बिथोल्ने सम्भावना देखिँदैन’, पर्यटन अभियन्ता गुरुङ भन्छन्, ‘एक हप्ता घुम्न चाहने पर्यटकका लागि यो त अतुलनीय गन्तव्य हो।’
रुबीनालाको विकासमा खटिरहेका र बारम्बार त्यस भेगमा पुगिरहने हिउँचितुवा साने गुरुङलाई धेरैधेरै शुभकामना !
सम्पर्क: साने गुरुङ–९८४१९०२१८७
काठमाडौं–बारपाक (१,९३० मिटर) १८४ किलोमिटर गाडीमा
बारपाक–मम्चे–लाप्राक नयाँ बस्ती (२,६०० मिटर), ५ घण्टा पदयात्रा
लाप्राक नयाँ बस्ती–रुसी खर्क (३,२६० मिटर), ७ घण्टा पदयात्रा
रुसी खर्क–रुबीनाला फेदी(३, ८००), ७ घण्टा पदयात्रा
रुबीनाला फेदी–मेचेत (३,८५० मिटर), ८ घण्टा पदयात्रा
मेचेत–जोङ्चेत (३,२५० मिटर), ७ घण्टा पदयात्रा
जोङ्चेत–न्याक गाउँ (२,२०० मिटर), ८ घण्टा पदयात्रा
न्याकफेदी–जगत (१,४०० मिटर), ८ घण्टा पदयात्रा
जगत–काठमाडौं, ८ घण्टा गाडी यात्रा