यहाँ जीवन घडीको सुइमा दौडिन्छ,
काम र समयबिच किचिएको अस्तित्व,
सामाजिक जीवन कहिल्यै भेटिँदैन,
साथीभाइहरु सम्झनामा मात्र बाँकी।
♦♦♦
खाना कहिले चिसो, निद्रा अधुरो,
चाडपर्वको गीत फोनको स्क्रिनमै सीमित।
जसरी बिहान आउँछ,
उस्तै गरी साँझ हराउँछ
दिन र रातको अर्थ हराइसक्यो।
♦♦♦
हामी यहाँ घण्टैघण्टा बेचिन्छौँ,
बधुवा मजदुरझैँ बाँच्न बाध्य,
काममा जोतिएका शरीर,
बन्द कोठामा थुनिएका भावना।
♦♦♦
सपनाहरू बिस्तारै टाढिँदै छन्,
वास्तविकता भारी हुँदैछ,
जीवन विशाल झिलमा तैरिएको पातझैँ
बिस्तारै, हराउँदै।
♦♦♦
दिन, हप्ता, महिना, वर्ष
सबै बित्छन्,
तर फर्किने चाहना अझै त्यहीँ अडिएको छ।
♦♦♦
परदेशको जिन्दगी
देख्नमा चम्किलो,
भित्रभित्रै टुटेको,
तर अझै बाँचिरहेको
एक मौन सङ्घर्षको कथा
यस्तै यस्तै छ परदेशी लाइफ ।