काठमाडौं
काठमाडौंको सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेजले हरेक महिना आफ्नो साधनाघर थिएटरमा आयोजना गर्दै आएको ‘ओपन माइक’ कार्यक्रमको नयाँ सृङ्खला मंगलबार पुरा भएको छ।
यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई आफ्ना प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नु हो।
कार्यक्रममा गीत गायन, कविता वाचन, स्ट्यान्डअप कमेडी, मोनोलग प्रस्तुति लगायत विविध सिर्जनात्मक प्रस्तुति समावेश गरिएको थियो। झलनाथ खत्री, आशिष घिमिरे, घनश्याम विश्वकर्मा, दिवसराज भट्टराई, सुदिप रसाइली, सौगात नेपाल र उमेश कुमार पौडेलले सुन्दर गीत प्रस्तुत गरेका थिए। मिराक लिम्बू र विकासले आफ्नै शब्द, संगीत र गायनले सबैको मन जितेका थिए।
ओस्कार इन्टरनेसनल कलेजले साधना थिएटरमा सञ्चालन गर्दै आएको ‘ओपन माइक’ कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न सहयोग गरिरहेको छ।
विद्यार्थीहरूले कला, क्षमता र आत्मविश्वास प्रस्तुत गर्दै दर्शकहरूबाट प्रशंसा बटुले। कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमता विकासमा सहयोग पुर्याएको छ।
कार्यक्रममा चर्चित स्रष्टाहरू रमी प्रिया, सञ्जय सुमन, प्रकृति कार्की र विश्व सिग्देलले पनि आआफ्ना सिर्जना पस्किएका थिए।
कवि सिग्देलले “चक्रपथ घुम्ती सेवा”, “उदेक”, “जोकर र देश” अनि “जंगल गइरहेको मान्छेलाई” शीर्षक कविता वाचन गरेका थिए।
त्यस्तै कवि सञ्जयले आफ्नै सङ्गीत र स्वर र कवि सग्देलको शब्दमा रहेको “साइकलैमा” बोलको गीत गाउनुका साथै र “स्वतन्त्रता” शीर्षक कविता वाचन गरेका थिए।
कवि प्रियाले “पिरलो”, “क्षमायाचना” र “ऐना समय” शीर्षकका समसामयिक तथा प्रेम कविता वाचन गरेकी थिइन्। अर्की कवि कार्कीले बाको विषयमा लेखिएको सुन्दर कविता पस्केकी थिइन्। त्यस्तै कौस्तुभ ओली र गणेशकुमार पौडेलले पनि आफ्ना सुन्दर कविता सुनाएका थिए ।
‘ओपन माइक कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ’, कलेजका प्राचार्य रामराजा दाहालले भने, ‘आगामी दिनमा पनि यसैगरी कार्यक्रम गर्नेछौं।’
कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरेर रमेश महतो र योगेश सिंहले स्याबासी पाएका थिए।