काठमाडौं ।
श्रमिकका सङ्घर्ष, पसिना र योगदानलाई शब्दमार्फत् सम्मान गर्दै कलङ्कीमा सिर्जना उत्सव मनाइएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जागरण एकेडेमीको सभाहलमा आयोजित ‘श्रम–श्रमिक विशेष कविता वाचन कार्यक्रम’ मा कविहरूले आफ्ना सिजर्नामार्फत् श्रमजीवीका पीडा र गौरवलाई सशक्त ढङ्गले मुखरित गरे।

वर्तमान कविता समूह र रातो घर फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा श्यामलले ‘फरक फरक लोकतन्त्र’ र ‘पित्तलको पिकदानी’ कविताबाट निर्वाचनमा श्रमिकको प्रयोग र श्रम शोषणको राजनीतिक पाटोलाई तिखो प्रहार गर्दै कविता वाचन शुभारम्भ गरेका थिए।
त्यस्तै अमर आकाशले ‘स्वाद’ मार्फत् घर फर्किने आमाको बाटो हेरिरहेका बालबालिकाको भोको मनोविज्ञान पस्किए भने अर्का कवि चाचुले ‘बुजुल्टिएको नाम्लो’ मार्फत् आर्थिक मन्दीले थिचिएका भरियाको व्यथा सुनाए।
यसैगरी, रामगोपाल आशुतोषले ‘भोकको रामायण’ मा अभावको विरासत बोकेका श्रमिकका रित्ता हातको कथा उनेका थिए।
कवि चाचु
पसिनाको महिमा गाउँदै कवि कञ्चन गजमेरले त्यसको वास्तविक मूल्य र मिथोचले ‘पसिनाको गीत’ मार्फत् संसारलाई हरियो बनाउने श्रमिकको भूमिकाको चर्चा गरिन्।
कवि कञ्चन गजमेर
किसन पौडेलले ‘घटेरो’ बाट गरिबीको चक्र र अभय श्रेष्ठले ‘श्रम’ शीर्षक कवितामा श्रमिकको उच्च स्वाभिमानलाई गीतिमय शैलीमा प्रस्तुत गरेका थिए।
साहित्यिक सन्दर्भलाई थप उचाइ दिँदै लुमन्ती चित्रकारले समृद्धिको आधारशिलाका रूपमा रहेका ‘नथाकेका हातहरू’ को महिमागान गरिन् भने प्रमोद स्नेहीले ‘श्रमिक, बुद्ध र सिटामोल’ कवितामा आधारभूत औषधि समेत नपाएर मृत्यु बाँचिरहेका मजदुरको कारुणिक चित्रण गरे।
जयन्ती स्पन्दनले श्रमिकलाई ‘मौन नायक’ का रूपमा उभ्याउँदा शेखरकुमार श्रेष्ठले ‘विगत बिर्सेपछि’ कवितामा शिल्पी समुदायको उपेक्षित पहिचानको मुद्दा उठाएका थिए।
बाबु त्रिपाठीले राज्यमा श्रमिकको स्वामित्वमाथि प्रश्न गर्दै ‘यो देश कसको हो?’ भनेर सोधे भने नमुना शर्माले श्रमिकको श्रमको गरिमालाई लयबद्ध गरिन्।

प्रेमिला राईले वैदेशिक रोजगारीका कारण टुटेका परिवार र ‘यान्छाप्पा’ को स्मृतिबाट वियोगको कथा सुनाउँदा प्रशान्त खरेलले ‘आलु माइला’ जस्ता गुमनाम पात्रहरूको खोजी गरे।
सोही अवसरमा सोमनाथ दाहालले ‘बत्ती’ कवितामा विभेद हटाउने चेतनाको कुरा गरे भने गोपालकुमार मैनालीले महल बनाउने तर आफैँ घरविहीन हुने मजदुरको विडम्बना सुनाए।
शकुन्तला जोशीले ‘भोकको जुलुस’ मार्फत् दमित आवाजहरूको विद्रोहको सङ्केत गरिन् भने अनिता लामाले श्रमिकको अनुपस्थितिमा सहरमा छाउने ‘मुर्दा सन्नाटा’ को चर्चा गरिन्।
कवि अनिता लामा
लक्ष्मी मालीले ‘हली र मैसाबको वार्ता’ कवितामा श्रमपछि पाइने वास्तविक मिठासको दर्शन पस्किँदा राजबाबु पहाडीले ‘बाल श्रमिक’ का लुटिएका सपनाको चर्चा गरे। राजाराम राउतले ‘मजदुर दिवस’ को विडम्बनामाथि व्यङ्ग्य गरे भने स्नेह सायमीले ‘सुचीकार’ मार्फत अरूको इज्जत सिउने तर आफ्नै सपना उध्रिएका पात्रको व्यथा सुनाए।
कवि स्नेह सायमी
धीरकुमार श्रेष्ठले ‘भरिया दाइ’ को स्मृति र रिता बलामीले आमाको अघोषित श्रमलाई कवितामा उतारेका थिए।
कार्यक्रमको उत्तराद्र्धमा वासुदेव अधिकारीले श्रमिक चेतना र चन्द्रबहादुर लामाले श्रमिकका दैनिक सङ्घर्षका आयामहरूलाई प्रस्तुत गरे।
कवि चन्द्रबहादुर लामा
सहजकर्ता एवं कवि रमी प्रियाले ‘मानिस र पर्खाल’ मार्फत मानिसले खडा गरेका विभेदकारी पर्खालहरूमाथि प्रश्न उठाइन्। समारोहको बिट मार्दै वर्तमान कविता समूहका सदस्य कवि विश्व सिग्देलले ‘जुस पसलमा’ कविताबाट मेसिनले उखु निचोरेझैँ व्यवस्थाले श्रमिकको जीवन निचोरेको मर्मस्पर्शी यथार्थ सुनाए।
सिग्देलले सो अवसरमा विगत दुई वर्षदेखि यस्ता कार्यक्रमहरू निरन्तर भइरहेको र आगामी दिनमा पनि यसलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।
समग्रमा यो कार्यक्रम श्रमको सम्मानमा एक अविस्मरणीय साहित्यिक ऐक्यबद्धताका रूपमा सम्पन्न भयो।