मुस्ताङ ।
राष्ट्रिय गान अर्थात् गौरव गाथा। हरेक नागरिक आफ्नो इतिहास, भूगोल, कला, संस्कृति, जीवनशैलीप्रति गर्व गर्छन्। नेपालमा वि.सं. २०६४ साउन १८ गतेदेखि ‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली’ बोलको जनगान लागु भएको हो। सङ्गीतज्ञ अम्बर गुरुङले सङ्गीतबद्ध गरेको गानका रचनाकार हुन्, ब्याकुल माइला।
मुक्तिनाथमा ब्याकुल माइला
हरेक विद्यालयमा प्रार्थना सभामा राष्ट्रिय गान गाइन्छ। साथै अन्य सार्बजनिक कार्यक्रमहरूमा पनि। देश र जनताका नाममा गाउँदा वा धुन बज्दा सम्मान भाव दर्शाइन्छ। संसारमा राष्ट्रिय गानका रचनाकारसँगै उभिएर गाउने अबसर बिरलै पाइन्छ। नेपालमा भने त्यो अबसर पाइन्छ किनभने हाम्रा सर्जक माइला सरल छन्। नागरिकसँग घुलमिल गर्न मन पराउँछन्।
एक बिहान यस्तै भयो, मुस्ताङ जिल्ला सदरमुकामको जनहित माध्यमिक विद्यालयमा पनि।
‘घरपझोङ काव्ययात्रा–२०८३’ को सिलसिलामा जोमसोम आइपुगेका स्रष्टा ब्याकुल माइलाले विद्यार्थी, शिक्षक, कर्मचारी, साहित्यकार र जनप्रतिनिधिसँग उभिएर राष्ट्रिय गान मात्र गाएनन्, विद्यार्थीलाई असल नागरिक बन्ने मन्त्र पनि बाँडे। साँच्चै प्रेरक मन्तव्य दिए।
उनलाई सुनिरहँदा सबैजना भावुक बने। त्यो दिन थियो, असार १५ गते। काव्ययात्राको तेस्रो दिन। प्रार्थना सभामा काव्ययात्री नोस्टाल्जिक बने। एकाएक उनीहरूका आँखा रसाए।
त्यसो त काव्ययात्राको दोस्रो दिन पनि मार्फाको गल्लीमा उभिएर काव्ययात्रीले उनीसँगै उभिएर राष्ट्रिय गान गाएका थिए। उनीहरूले गाइरहँदा विदेशबाट आएका वृत्तचित्र निर्देशकहरूले क्यामेरा सोझ्याइरहे।
यात्राको अन्तिम अर्थात् चौंथो दिन बिहान जोमसोमस्थित कालिगण्डकी किनारको नयाँ गुम्बाको आँगनमा पुग्नेबेला लामा शिक्षा पढिरहेका विद्यार्थीले राष्ट्रिय गान गाउन सुरु गरे। गुम्बाको दर्शन गर्न टुप्लुक्क आइपुगेका माइलालाई चिन्नेवित्तिकै त्यहाँका गुरुले फेरि एक पटक गाउन लगाए, सर्जक माइलासँगै।
जोमसोमको गुम्बामा
यसरी घरआँगनमै राष्ट्रिय गानका सर्जकलाई पाउँदा फोटो खिच्नेहरूको तँछाडमछाड भएको थियो। नागरिकको माया बोकेर हिमाली जिल्लाको सौन्दर्यमा डुबुल्की मार्न पाउँदा माइला पनि फुरुङ बनिरहे।
अर्को कुरा, कक्षा ९ को नेपाली पुस्तकमा कवि भूपिनको ‘आमाको तस्बिर’ शीर्षक कविता छ। त्यसैले काव्ययात्री बनेर त्यहाँ पुगेको भूपिनले जनहित माविका विद्यार्थीसँग अन्तरक्रिया गरे। विद्यार्थीलाई सिर्जनशील बन्न प्रेरित गरे।
घरपझोङ काव्ययात्रा–२०८३
पर्यटन साहित्य यात्रा मार्फत् मुस्ताङको रमणीय ‘घरपझोङ गाउँपालिका’का पर्यटकीय सम्भावना उजागर गरी प्रवद्र्धन गर्ने उद्देश्यले घरपझोङ गाउँपालिकाले १३ असारदेखि १६ गतेसम्म ‘घरपझोङ काव्ययात्रा’ आयोजना ग¥यो। यस कार्यक्रमको संयोजन भने काठमाडौंको कन्सेप्ट नेपालले गरेको थियो।
मार्फामा घरपझोङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका साथमा काव्ययात्री
काव्ययात्राले मुस्ताङमा प्रभावशाली लेखकहरूको जमघट गरायो। उनीहरू हुन्–राष्ट्रिय गानका लेखक ब्याकुल माइला, अभय श्रेष्ठ, भूपिन, शिव प्रकाश, सागर उदास, लक्ष्मण थापा, प्रगति राई, अनुपम रोशी, सुमन थापा ‘सङ्गम’, कल्पना ‘पलक’, दीपेन्द्रसिंह थापा, बाल्कुराम पुन, घनश्याम पौडेल, राजकुमार गजुरेल र अमृत भादगाउँले।
काठमाडौंबाट असार १३ गते मार्फा गाउँमा आइपुुगेका लेखकहरू असार १६ गते मङ्गलबार जोमसोमबाट फर्के। घरपझोङ प्रवेश गर्नुअघि उनीहरूलाई गलेश्वरधाम र रुप्से झरना दर्शन गराइएको थियो।
ठिनीमा याक नाच
उनीहरूले घरपझोङ गाउँपालिकाका सबै गाउँबस्ती र पर्यटकीय सम्पदा भ्रमण गरे। गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकाली थापामगर आफैंले उनीहरूलाई मार्फा, छैरो, चिमाङ, ढुम्बाताल, ठिनी, जोमसोम र स्याङ गाउँ घुमाए। घुमफिरमा जोमसोमका सक्रिय पत्रकार सुन्दर थकालीले पनि साथ दिएका थिए।
ढुम्बाताल
उनीहरूलाई हिन्दु र बौद्ध धर्मावलम्बीको आस्था केन्द्र मुक्तिनाथ र कागबेनी पनि भ्रमण गराइयो।
गाउँपालिकाको अनुरोधमा उनीहरूले मार्फामा हिमाली पहिरन लगाएर तस्बिर खिचे। टिकटक बनाए। र, त्यहाँका गल्लीहरू घुमे। पछिल्लो दशकमा मार्फा पुग्नेहरू यसैगरी रमाउँदै आएका छन्।
नीलगिरि हिमालको उज्यालोमा उनीहरू मुस्कुराए। थकाली सभ्यताको उद्गम थलोमा पुुगेर प्रकृति, संस्कृति र जीवनशैली अध्ययन गर्न पाउँदा लेखकहरू गद्गद भए।
‘मुुस्ताङको भूूगोल, यहाँको संस्कृति, जीवनशैली र गाउँलेहरूको आत्मीयताले भावुक बनायो’, राष्ट्रिय गानका सर्जक ब्याकुल माइला भन्छन्, ‘पर्यटन नै घरपझोङको आर्थिक मेरुदण्ड बन्न सक्ने देखियो। ज्यादै सुन्दर ठाउँ रहेछ। यहाँका मान्छे पनि उत्तिकै सुन्दर पाएँ।’
स्याङ
लेखकहरूले काव्ययात्राका अनुुभूतिहरू यात्रा संस्मरणका रुपमा विभिन्न मिडियामा प्रकाशन गर्नेछन्। पछि ती सबै लेखहरू सँगालेर पुस्तक प्रकाशन गरिने गाउँपालिकाका अध्यक्ष लालचनले बताए। सामाजिक सञ्जालमा उनीहरूले प्रकाशन गर्ने अनुभूति र तस्बिरहरूले पनि घरपझोङको प्रवद्र्धनमा टेवा पुग्ने छ।
‘यो यात्राको हामी डकुुमेन्ट्री पनि बनाउने छौं’, अध्यक्ष लालचनले भने, ‘सम्मानित लेखकहरूले सम्प्रेषण गर्ने विचार तथा लेखले समाजलाई प्रभाव पार्ने भएकाले हामीले यो कार्यक्रम आयोजना गरेका हौं।’
यसरी घरपझोङको प्रवद्र्धन गर्न काव्ययात्रा कोशेढुङ्गा बन्ने विश्वास गरिएको छ।
कालिगण्डकी तिरमा शालिग्राम शिला
भुइँमान्छेलाई सलाम !
घरपझोङ काव्ययात्रा–२०८३’ को अन्तिम दिन असार १६ गते मङ्गलबार तीन जना भुुइँमान्छेलाई सम्मान गरियो। जोमसोम बजारस्थित गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा आरनको माध्यमबाट फलाम र तामाका भाँडावर्तन एवम् औजार बनाउँदै आएका चिमाङ गाउँका ७५ वर्षे साइला बि.क., परम्परागत सिलाइकटाई गर्दै आएकी जोमसोमकी ६२ वर्षे कुमारी नेपाली र कलात्मक काष्ठकलामा समर्पित स्याङ गाउँका ७२ वर्षे मनप्रसाद बि.क.लाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको हो।
सिल्पीहरू साइला बि.क, कुमारी नेपाली र मनप्रसाद बि.क
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाले उनीहरूलाई सम्मानपत्र हस्तान्तरण गरे। त्यसैगरी गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले नगद दिए भने उपाध्यक्ष जमुना थकाली थापामगरले खादा लगाएर सम्मान गरेकी थिइन्।
विगत ६ दशकदेखि आरन व्यवसायलाई निरन्तरता दिँदै आएका साइला थकाली संस्कृति र जनजीवनका लागि आवश्यक भाँडावर्तन बनाउँछन्। त्यस्तै करिब ६ दशकदेखि काष्ठकला सम्वन्धी काम गर्दै आएका मनप्रसादको सिर्जनशीलता पनि प्रशंसनीय छ। अर्की सम्मानित भुुइँमान्छे कुमारीले पनि करिब ५ दशकदेखि सिलाइकटाईको काम गर्दै समाज सेवा गर्दै आएकी छिन्।
सम्मान पाएपछि उनीहरूको मुहार धपक्कै बलेको थियो। उनीहरूले मनमनै धन्यवाद भनिरहेको बुझिन्थ्यो।
‘पुख्र्यौली सिप संरक्षण गरेर गाउँघर सिँगार्दै आएका भुुइँमान्छेको अनुहारमा खुसी बढाउन हामीले सम्मान गरेका हौं’, काव्ययात्राका संयोजक अमृत भादगाउँले भन्छन्, ‘यसरी श्रमजीवीको सम्मान गर्न पाउँदा हामी गौरवान्वित भएका छौं।’
कार्यक्रमको सुरुमा घरपझोङको पर्यटकीय चिनारी दिने वृत्तचित्र पनि देखाइएको थियो।
स्याङमा ध्यान
जलवायु परिवर्तनको चिन्ता
मङ्गलबारको कार्यक्रममा जलवायु परिवर्तनले पारेको प्रभावको विषयमा पनि मन्थन गरियो। ‘जलवायु परिवर्तनले हिमाली जिल्ला मुस्ताङको कृषि, पर्यटन र जनजीवनमा पारेको प्रभाव’ बारे विमर्श चलाइएको थियो। घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थापामगरसँग सहजकर्ताको भूमिका निवार्ह गरेका थिए चर्चित कवि भूपिनले।
जलवायु परिवर्तनको प्रभावबारे विमर्शमा कवि भूपिन, घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थकाली थापामगर र अध्यक्ष मोहनसिंह लालचन
जलवायू परिवर्तनले धेरै कुरामा प्रभाव पारेको चर्चा गरियो। त्यसैले देशभरको प्रभावबारे मन्थन गरी यसको असर कम गर्ने विषयमा संसारकै ध्यानाकर्षण गराउने उद्देश्यले गाउँपालिकाले आगामी भदौमा जलवायु सम्मेलन गर्दैछ। त्यस कार्यक्रममा विज्ञहरूका साथै देशभरका पालिका प्रमुख र उपप्रमुखलाई निम्तो बाँडिएको उनीहरूले बताए।
गत वर्ष नै यस्तो सम्मेलन गर्ने घोषणा गरिएको थियो। तर, जेनजी आन्दोलनका कारण त्यो कार्यक्रम रोकिएको थियो।

कविता वाचन
काव्ययात्राको तेस्रो दिन साँझ पोखराका वरिष्ठ कवि लक्ष्मण थापाले काव्ययात्रीहरूा बिचमा कविता वाचनको संयोजन गरेका थिए। उक्त कार्यक्रममा कविता र गीत सुनाइयो।
मङ्गलबारको कार्यक्रममा भने नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको पनि उपश्थिति थियो । त्यहाँ पनि उनीहरूले प्रभावशाली कविता सुनाए। त्यति मात्र होइन, जोमसोमका पत्रकार भिमबहादुर रसाइली र जनहित माध्यमिक विद्यालयका सहायक प्रिन्सिपल कर्णबहादुर थकालीले पनि कविता सुनाए।

नागरिक अगुवा चन्द्रबहादुर थकालीले भने जोमसोमको इतिहासका बारेमा व्याख्या गरेका थिए।
कालिगण्डकीको तिरमा मार्फा गाउँ
अतुलनीय घरपझोङ गाउँपालिका
प्रकृति, संस्कृति र अध्यात्मको त्रिवेणीधाम अर्थात् मुस्ताङको घरपझोङ। थकाली सभ्यताको उद्गम थलोमा तीन दिन सजिलै बिताउन सकिन्छ।
.घरपझोङ आफैंमा भूस्वर्ग हो। प्रकृति, संस्कृति र अध्यात्मको त्रिवेणीधाम पनि।
नीलगिरि
पवित्र कालीगण्डकी नदीका दायाँबायाँ सुन्दर बस्ती छन्। यिनै बस्ती हुन् थकाली सभ्यताको उद्गम थलो।
मुस्ताङको घरपझोङ गाउँपालिकाको क्षेत्रफल ३ हजार १९ दशमलव ७७ वर्ग किलोमिटर छ। भौगोलिक उचाइ भने २ हजार मिटरदेखि ५ हजार मिटरसम्म छ। यहाँ ५ ओटा वडा छन्। समग्र गाउँपालिकाको जनसङ्ख्या करिब ४ हजार छ।
छैरो छहरा गुम्बामा पद्यसंभव
यहाँका गाउँबस्तीमा पुराना गुम्बा, माने र चैत्य छन्। हरेक गाउँमा पुरातात्विक महत्वका गुम्बा छन्। गाउँलेहरू गुम्बामा ध्यान तथा पूजापाठ गर्छन्। पर्यटकहरू पनि गुम्बामा पुगेर शान्तिको सास फेर्छन्।
गाउँपालिकाको सबैभन्दा पुरानो गुम्बा छैरो गाउँमा छ, १६ औं शताब्दिमा बनेको ‘छैरो छहरा गुम्बा’ ।
यस गाउँपालिकामा ७ ओटा गाउँहरू छन्, मार्फा, छैरो, चिमाङ, स्याङ, जोमसोम, सिम्ले र ठिनी। थकाली बाहुल्य गाउँपालिकामा दलित, गुरुङ, मगर, क्षेत्री, ब्राह्मण, नेवारलगायत जातजातिको बसोबास छ।
घरपझोङ गाउँपालिकाको मूलमन्त्र छ, ‘घरपझोङको समृद्धि : कृषि, पर्यटन र संस्कृति ।’
चिमाङको बगैंचा
पर्यटन र कृषि नै यहाँका बासिन्दाको आम्दानीका प्रमुख स्रोत हुन्। यहाँका बासिन्दा मिहिनेती छन्। उनीहरू आलु, उवा, फापर, जौ र विभिन्न किसिमका तरकारी उत्पादन गर्छन्। पशुपालन पनि गर्छन्।
स्याउखेती यहाँको विशेष उत्पादन हो, ३७ थरिका स्याउ पाइन्छ। यहाँ थरीथरीका जडीबुटी पनि पाइन्छ।
चिमाङ
घरपझोङ पर्यटकीय गाउँपालिका हो। यतैबाट तिब्बतसँग सीमा जोडिएको नेपाली बस्ती लोमन्थाङ, हिन्दु र बौद्धमार्गीको साझा तीर्थस्थल मुक्तिनाथ र थोराङ्ला हुँदै अन्नपूर्ण सर्किट पदयात्रा गर्न सकिन्छ।
घरपझोङका गाउँघरका होटल, लज तथा होमस्टे सुविधा छ।
जोमसोमको मूर्ति बगैंचा
घरपझोङ किल्ला
घरपझोङ गाउँपालिकामा एउटा पुरातात्वक महत्वको किल्ला छ, जसलाई ‘घरपझोङ’ भनिन्छ। इतिहासको कालखण्डमा घरपझोङ क्षेत्र स्वतन्त्र अधिराज्य थियो। त्यही ‘शेरिब’ नामक अधिराज्यको केन्द्रबिन्दु थियो। इतिहासको सम्मान गर्दै गाउँपालिकाको नाम ‘घरपझोङ’ राखिएको।
घरपझोङ किल्ला
ठिनी गाउँ मास्तिरको घरपझोङमा घरका भग्नावशेष छन्, जुन हिउँले खिइँदै गएका छन्। पहिला त्यहाँ बस्ती थियो। पछि डाँडाको बस्ती सररे थाक पाँचगाउँ (स्याङ्, ठिनी, मार्फा, छैरो र चिमाङ) बनेका।
इतिहास अनुसार मुस्ताङ भेगमा आठांैं शताब्दीको मध्यताका यालुङर्् सैन्यका साथमा बौद्ध परम्पराको प्रवेश हुँदा ‘शेरिब’ नामको स्थानीय राज्य अस्तित्वमा थियो। त्यसको केन्द्र घरपझोङ थियो।
घरपझोङ दरबारमा बसेर राजा ठोकरचेन शासन चलाउँथे। उनको निधारको तल्लो भाग (दुई आँखीभांैं बिचमा) कालो कोठी थियो। त्यही भएर उनलाई ‘तीन आँखे राजा’ भनिन्थ्यो। घरपझोङमा पानी अभाव भएपछि ठिनीमा बस्ती सरेको अनुमान छ। राजा ठिनी बसे, कतिपय गाउँले अन्यत्र सरे।
‘गरावजोङ’ शब्द अपभ्रंस भएर घरपझोङ भनिएको। डाँडामा भग्नावशेषसँगै एउटा नयाँ चैत्य पनि छ।
जोमसोम
स्रष्टाको सम्मान
मोहनसिंह लालचन
अध्यक्ष, घरपझोङ गाउँपालिका, मुस्ताङ
हामीले कृषि, पर्यटन र संस्कृतिलाई प्राथमिकता दिएर काम गरिरहेका छौं। हामी नयाँनयाँ सिर्जनात्मक काम गरिरहन्छौं। यसै सन्दर्भमा देशका प्रभावशाली लेखकहरूलाई हाम्रो गाउँपालिका घुमाउन पाउँदा हामी गौरवान्वित भएका छौं। अब उहाँहरूको लेखनीबाट घरपझोङ अझै चम्किनेछ। सबै काव्ययात्री मित्रहरूप्रति आभार प्रकट गर्दछु। आउनुहोस् हामी सबै मिलेर सकारात्मक सोचका साथ मुलुक बनाउने अभियानमा अग्रसर बनौं।
घरपझोङ कसरी पुग्ने ?
काठमाडौं –पोखरा २०० किलोमिटर, गाडीमा ६ घण्टा, हवाईयात्रा २५ मिनेट। पोखरा–बेनीबजार ८२ किलोमिटर, गाडीमा २.५ घण्टा। बेनी–मार्फा ६८ किलोमिटर, गाडीमा ३ घण्टा। अथवा पोखरा–जोमसोम हवाईयात्रा १६ मिनेट।