काठमाडौं ।
मुस्ताङको मार्फामा जन्मेहुर्केका मोहनसिंह लालचनले जिन्दगीका २८ वर्ष जापानमा विताए। सङ्घर्षका उकाली चढ्दै जाँदा पछिल्लो समय उनले त्यहाँ रेस्टुराँ व्यवसाय चलाए। नाम र दाम दुवै कमाए।
यतिले उनलाई सन्तुष्टि दिलाएन, उनले जन्मथलो मार्फा सम्झिए। एकताका मार्फामा बास बस्ने पदयात्रीको घुइँचो लाग्थ्यो। मुक्तिनाथसम्म सडक सञ्जाल जोडिएसँगै उनको गाउँ सुनसान भइसकेको थियो। त्यसैले गाउँमा फर्केर पर्यटन पुर्नजागरण ल्याउने उनले अठोट गरे। अनि फर्केर होटल पनि खोले।
स्याङ गाउँमा गुरु पद्यसंभव
थकाली बस्ती मार्फामा पर्यटकको नाइट स्टे गराउने उपाय सोचे। ट्राभल र ट्रेकिङ कम्पनीहरूमा धाएर पर्यटकलाई मार्फामा बास बसाउन अनुरोध गरे। विभिन्न प्रचारात्मक कामहरू पनि गरे।
पछि नेपाली सिनेमाहरू कबड्डी कबड्डी, जेरीलगायत मार्फामा छायाङ्कन भए। यसले पनि मार्फामा आन्तरिक पर्यटकको आकर्षण बढायो। हेर्दाहेर्दै मार्फा टिकटक गन्तव्यमा रुपान्तरित भयो।
हेर्नुहोस् भिडियो:
तिनै पर्यटन अभियन्ता अघिल्लो स्थानीय चुनावदेखि राजनीतिमा होमिए। उनी घरपझोङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए। त्यसपछि सिङ्गो गाउँपालिकालाई पर्यटन हव बनाउने अभियान चलाइरहेका छन्।
नीलगिरि हिमाल
सिर्जनात्मक काममा उनको रुचि छ। घरपझोङलाई साइक्लिङ गन्तव्यका रुपमा विकास गर्न उनले पोहोर ‘साइकल तथा घोडा दौड’ आयोजना गरे। देशभरका करिब ५ सय साइकलेको जमघट गराए।
उनले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा जोमसोममा मूर्ति बगैंचा पनि बनाइसकेका छन्। यति मात्र होइन, कालीगण्डकी तिरमा विशाल शालिग्राम शिलालाई सिँगारेर पर्यटकीय केन्द्रका रुपमा विकास गरेका छन्। जोमसोम पुग्नेहरू शालिग्राम दर्शन नगरी फर्कंदैनन्।
जोमसोममा शालिग्राम
उनले प्रभावशाली लेखकहरूलाई ‘घरपझोङ काव्ययात्रा–२०८३’ मा आफ्नो गाउँपालिकामा घुमाइसके। यसमा राष्ट्रिय गानका लेखक व्याकुल माइलासहित १५ जना लेखक थिए।
अर्को महत्वपूर्ण कुरा, उनले देशभर जलवायु परिवर्तनले पारेको प्रभावबारे मन्थन गर्न वि.सं. २०८२ भदौमा ‘जलवायु सम्मेलन’को तयारी गरेका थिए। तर, जेनजी आन्दोलनका कारण त्यो कार्यक्रम रोकियो। यो वर्ष फेरि भदौमा सम्मेलन गर्दैछन्।

उनको नारा छ, ‘घरपझोङको समृद्धि : कृषि, पर्यटन र संस्कृति’ । पर्यटन प्रवर्धन, कृषि उत्पादन, र संस्कृति संरक्षणमा जोड दिइरहेका छन्।
उनको जन्मथलो मार्फाको चिनारी व्यापक छ। ‘मार्फा स्याउ’, ‘मार्फा रायो’, ‘मार्फा आलु’ ‘मार्फा ब्रान्डि’ आदि मुस्ताङ चिनाउने ब्रान्ड ।
गाउँमा परिवर्तन आएको छ। हिजो गाउँ छाडेर हिँडेकाहरू पनि फर्केर स्याउ खेती र पर्यटनमा लागेका छन्।
याक नाच, ठिनी
मुस्ताङको सिमा कोरला नाकालाई सहज बनाउन सके पर्यटन अझै फस्टाउने उनले देखेका छन्। कोरलाबाट करिब ६ घण्टा ड्राइभमा मानसरोवर पुगिन्छ। ‘त्यसैले यो मार्गबाट भारतीय र नेपाली तीर्थालुलाई मानसरोवर घुमाउने वातावरण बनाउन हामीले सरकारसँग माग गरेका छौं’, उनले भने।
ऐतिहासिक ‘घरपझोङ किल्ला’को स्मरण गर्दै उनको गाउँपालिकाको नामकरण गरिएको हो। यस किल्लामा पुराना दरबारका भग्नावशेष छन्। उनी डाँडाको थाप्लोमा रहेका संरचनालाई यथास्थितिमा राखेर तलदेखि माथिसम्मको भूगोललाई ‘पालिका पार्क’ बनाउने अभियानमा छन्।
घरपझोङ किल्ला
‘हामी त्यहाँ सस्यानो जमिन दिन्छौं। देशभरका ७५३ पालिकाहरूले त्यहाँ आफ्नो पहिचान झल्कने सामग्री राख्नेछन्’, उनी भन्छन्, ‘यति काम गर्न सक्यौं घरपझोङ किल्लामै सिङ्गो नेपाल झल्काउन सकिन्थ्यो।’
मुस्ताङमा दुई खण्ड छन्, लोअर र अपर। सरकारले अपर मुस्ताङलाई निषेधित क्षेत्रका रुपमा राखेको छ। आजका दिनमा माथिल्लो मुस्ताङ जान विदेशीले प्रति दिन ५० डलर प्रवेश शुल्क तिर्नु पर्दछ।
‘जोमसोमबाट ६–७ घण्टामै लोमन्थाङ पुुग्न सकिन्छ’, उनी भन्छन्, ‘एक दिन बसेर फर्कंदा सय डलर मात्र तिरे पुग्ने भयो। बरु सरकारले तीन दिनको ५० वा सय डलर प्रवेश शुल्क लिएमा पर्यटक उपल्लो मुस्ताङमा कम्तिमा दुई रात विताउने थिए। यसले स्थानीयलाई फाइदा पुग्ने थियो।’
ठिनी गाउँका बालिका ।
उनी ६५ वर्षका भए। सामाजिक काममा संतुष्ट छन्। भन्छन्, ‘पैसा कमाउन होइन, जन्मथलोको ऋण तिर्न गाउँ फर्केको हुँ। आफ्नै गाउँघरमा काम गर्न पाउँदा आनन्द मिलेको छ।’
पर्यटन अभियन्ता एवम् गाउँपालिकाका अध्यक्ष लालचनसँग पर्यटन पत्रकार अमृत भादगाउँलेले मुस्ताङको पर्यटनमा केन्द्रीत भएर कुराकानी गरेका छन् :
रिसुम गुम्बा, मार्फा