पर्सा। रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन्। साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको भर पर्नुपरेको हो।
किसानले खेतमा पानी लगाउन दमकलको चर्को मूल्य तिर्न बाध्य छन्।
रोपिएको धान पनि हुन्छ की हुँदैन भनेर किसान चिन्तित छन्। डिजलबाट चल्ने दमकलको भाडा प्रतिघण्टा रु चार सय तथा बिजुलीबाट चल्नेको मूल्य प्रति घण्टा रु तीन सय तिर्नु परिरहेको पोखरिया–४ का सन्तोषप्रसाद चौहानले जानकारी दिए।
गण्डक नहरमा पानी छैन। स्थानीय तहले कुलो सफा नगर्दा किसान मारमा छन्। उनीहरु दमकलको भरमा खेतमा पानी हाल्न बाध्य छन्। “आकासे पानी अभावमा रोपाइँ गर्न ढिला हुँदा यसवर्ष बाली उत्पादन घट्ने अवस्था छ”, पर्साको जगतपुरका सुरेशप्रसाद पटेलले भने। गत वर्ष पानीको सुविधा भएपनि मल उपलब्ध नगराउँदा समस्या भएको थियो। यसवर्ष सरकारले बेलैमा मल उपलब्ध गराए पनि वर्षा नहुँदा किसानलाई समस्या भएको छ।
पर्सामा साउनको दोस्रो साता वित्दा समेत ५० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए। ग्रामीण भेगमा आकासे पानी नपरेकाले रोपाइँ गर्न ढिला भएको र उत्पादनमा कमी आउने उनले बताएको खबर राससले प्रकाशित गरेको छ।