दाङ। फागुन १८ गतेदेखि दाङमा सुरु भएको ‘१२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८०’ सम्पन्न भएको छ।
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कतिको आधार’ भन्ने मूल नाराका साथ शुरु भएको अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव घोराहीको कृषि सामग्री केन्द्रको परिसरमा आयोजना गरिएको महोत्सव सोमबार समापन भएको हो।
स्थानीय झाँकीसहित १८ गते शुक्रबार लुम्बिनी प्रदेशका घरेलु तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले महोत्सव उद्घाटन गरेका थिए। फागुन १९ र २० गते नेपाली कलाकारहरुको प्रस्तुति रहेको थियो भने फागुन २१ गते नेपालसहित १३ देशका तीन सय बढी कलाकारहरुको प्रस्तुति रहेको थियो । नेपाल सहित अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, इस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, दक्षिण अफ्रिका,पेरु, पोल्याण्ड, दक्षिण कोरियालगायत विभिन्न देशका कलाकारहरुले प्रस्तुति पछि लोक सांस्कृतिक महोत्सबको समापन गरिएको थियो ।
नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक प्रर्यटन प्रवर्द्धन गर्नुका साथै नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु यस मेलाको प्रमुख उदेश्य रहेको आयोजकको भनाई रहेको छ ।
एभरेष्ट नेपालको आयोजना तथा दाङ जिल्ला उद्योग बाणिज्य संघको सहयाेगमा सुरु भएको लोक सांस्कृतिक महोत्सव फागुन १८ देखि २१ गतेसम्म सञ्चालन गरिएको हो। यसपछि महोत्सव पोखरा, काठमाडौं र ललितपुर जस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा हुनेछ ।